त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा फेरिएको चित्र
काठमाडौं । वर्षौं पुरानो भवन, साँघुरो ठाउँ । यात्रुहरूको भीडभाड थेगिनसक्नु । यात्रुहरू वायुसेवा कम्पनीका काउन्टरसम्म पुग्न उस्तै परे घण्टौं लाइनमा उभिनुपर्ने । यस्ता कुरामा यात्रुहरू आफ्ना गन्तव्य पुग्न जहाज चढ्नुअघि नै ‘माइण्ड प्रिपेयर’ गरेर आउँथे । सास्तीका कुरै नगरौं । अनि, गन्तव्य पुग्न हतारिएका यात्रु र उताबाट फर्केका यात्रुबीच एकै ठाउँ जम्काभेट हुन्थ्यो । त्यसपछि अर्को गन्जागोल भइहाल्थ्यो । समस्या, अर्को पनि थियो । फर्केर आउँदा आफ्ना लगेज, ब्यागेज वा अलि ठूला आकारका सामानका झोला वा सुटकेस लिन अर्को कैयौँ मिनेट कुर्नुपर्ने । कतिखेर आफ्नो सामान आइपुग्ला भनेर ‘ट्याग’ समातेर उभिनुको विकल्प पनि थिएन । यी त भए विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक हवाई टर्मिनलमा यात्रुले खपेका सास्तीका कुरा । र, अब यो इतिहास भइसकेको छ । साँच्चै, अहिले के भएको छ त ? समस्या ज्युँका त्युँ छ ? तपाईंलाई लाग्न सक्छ, हो त्रिभुवन विमानस्थल न पर्यो, यति समस्या पनि सामना नगरे त्रिभुवन विमानस्थलको विशेषता नै के रह्यो र ! तर होइन, तपाईं गलत हुनुहुन्छ । विगतमा यात्रुहरूले झेलेका, भोगेका र सामना गरेका समस्या जादुको छडी झैं ‘छु मन्तर’ भएको छ । कसरी ? त्रिभुवन विमानस्थल व्यवस्थापनले आन्तरिक उडान गर्ने यात्रुका लागि भिन्नै ‘अराइभल’ टर्मिनल भवन बनाएर सञ्चालनमा ल्याएको छ । अब विगतमा भोगको सारा समस्या हटेर जाने निश्चित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) मा आन्तरिक उडान गर्ने यात्रुहरूको प्रस्थान र आगमनका लागि छुट्टाछुट्टै टर्मिनल भवन तयार भएर सञ्चालनमा आएका छन् । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले माघ १० मा भवन उट्घाटन गरे । योसँगै आन्तरिकतर्फका यात्रुका लागि प्रस्थान भवन र आगमन छुट्टै भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अराइभल टर्मिनलको क्षमता प्रतिघन्टा ४ सय यात्रु ‘ह्यान्डल’ गर्न सक्नेछ । माघ अघिसम्म त्रिभुवन विमानस्थलको आन्तरिक सेवातर्फ ‘डिपार्चर’ (आगमन) टर्मिनलमात्र थियो । त्यसैले अराइभल र डिपार्चरका यात्रु व्यवस्थापन गर्दै आएको थियो । तर, अहिले छुट्टै अराइभल टर्मिनल भवन बनेपछि यात्रु सेवा सहज भएको विमानस्थलले जनाएको छ । अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्ट (यात्रुका लगेज, ब्यागेज) मात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो । विगतमा डिपार्चर टर्मिनलको यात्रु क्षमता एक पटकमा ५ सय जनाबराबर थियो । अराइभल कक्षमा रहेको कन्भेयर बेल्टमार्फत एकपटकमा सय बढी यात्रुलाई सेवा दिन मुस्किल थियो । विमानस्थल सञ्चालन तथा व्यवस्थापन गर्ने प्रमुख निकाय तथा मुलुकको उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल अब डिपार्चर र अराइभल दुवै सेवाका लागि छुट्टछुट्टै भवन सञ्चालनमा आएपछि यात्रुले सहजै सुविधा पाउन थालेको बताउँछन् । ‘पुरानो डिपार्चर टर्मिनलको प्रतिघण्टा ५ सय जनाको क्षमता थियो । तीन वर्षअघि हामीले डिपार्चरमा सानो एउटा पार्ट जोड्यौं, त्यो अहिले बुद्ध एयरलाई प्रयोग गर्न टर्मिनल दिएका छौं,’ उनले भने, ‘त्यसको २ सय यात्रु क्षमता हो । अहिले प्रतिघण्टा जम्मा यात्रु क्षमता ७ सय छ ।’ उनका अनुसार अराइभलको छेउमा भने छुट्टै टर्मिनल थिएन । ६ वर्षअघि डिपार्चरको राइटपट्टि कन्भेयर बेल्ट राखिएको थियो । अराइभल भनेर छुट्टै बस्न ठाउँ थिएन । ‘अहिले प्रायः हाम्रो पुरानो डोमेस्टिक एयरपोर्टहरूमा डिर्पाचर गर्दा एयरलाइन्सको चेक इन एरिया, पर्खने ठाउँ, रेस्टरुम (शौचालय) सबै छ,’ सूचना अधिकारी भूलले भने, ‘किनभने मान्छे वेट नगर्ने, सिधै गइहाल्ने भएकाले अराइभल टर्मिनल थिएन ।’ काठमाडौंमा पहिलोपटक डोमेस्टिक टर्मिनलभित्र डिपार्चर टर्मिनलको छुट्टै व्यवस्था गरिएको उनले बताए । जसले प्रतिघण्टा ७ सय यात्रु ह्यान्डल गर्न सक्छ । दक्षिण भागमा अराइभल टर्मिनल नयाँ बनाइएको हो । ‘नयाँमा दुइटा कन्भेयर बेल्ट छ,’ उनले भने, ‘ती दुइटा कन्भेयर बेल्टमा ब्यागेजहरू आउँछ, कहिलेकाहीँ ब्यागेज आउन ढिलो भयो र कसैको टेकओभर गर्ने व्यक्ति ढिलो भयो भने त्यहाँ वेट गर्न मिल्यो । र, त्यसले प्रतिघन्टा ४ सय यात्रु ह्यान्डल गर्न सक्छ ।’ पहिला दुई/तीन उडान सँगैसँगै आउँदा ब्यागेजका लागि पर्खिनुपर्थ्यो, कन्भेयर बेल्टमा भीडभाड हुन्थ्यो । नयाँ टर्मिनल भवन बनेसँगै त्यो समस्या समाधान भएको सूचना अधिकारी भूल बताउँछन् । उनका अनुसार कुनै कारण यात्रु बाहिर आउन सकेनन् भने त्यहाँ पर्खिने व्यवस्था छ । निःशुल्क वाइफाई, पिउने पानी र शौचालयको पनि उपयुक्त सुविधा छ । त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फ पनि नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुहरू निकै खुसी भएको सूचना अधिकारी भूलले बताए । ‘पहिला जहाजबाट ल्यान्ड गरेपछि बसमा चढेर सिधै सडकमा आउनुपर्थ्यो,’ उनले भने, ‘अब केही समय वेट गर्ने, बस्ने, चिया, कफी खाने सम्पूर्ण व्यवस्था हुने भएकाले आन्तरिक हवाई यात्रा गर्ने यात्रुको प्रतिक्रिया राम्रो छ ।’ विमानस्थलको अहिलेको प्रमुख लक्ष्य यात्रुलाई राम्रो सेवा सुविधा दिने र बिस्तारै प्रतिक्रिया लिएर अन्य सुविधा पनि थप्ने प्रक्रियामा रहेको उनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा आन्तरिकतर्फ छुट्टै अराइभल टर्मिनल भवन बनेपछि यात्रुहरूलाई धेरै नै सहज भएको र सबैतिरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताउँछन् । उनका अनुसार २०७९ जेठमा अराइभल टर्मिनल भवन निर्माण सुरु गरिएको थियो । ६ करोड रुपैयाँ लागतमा नयाँ टर्मिनल भवन निर्माण भएको हो । नयाँ अराइभल कक्षमा दुइटा कन्भेयर बेल्ट छन् । ‘अब अराइभल र डिपार्चरका छुट्टाछुट्टै भवन भएका छन्,’ प्रवक्ता झाले भने, ‘अराइभल टर्मिनलमा एउटा कन्भेयर बेल्ट राखिसकिएको छ । अहिले भइरहेको अराइभल बेल्टलाई पनि नयाँ टर्मिनलमा सार्नुपर्छ । दुइटा कन्भेयर बेल्ट भएपछि यात्रुलाई सहज तरिकाले सेवा प्रदान गर्न सकिने छ ।’ पहिला एउटामात्र कन्भेयर बेल्ट थियो । एकैपटक तीन/चारवटा जहाज आउँदा सबै यात्रुको भीडभाड हुन्थ्यो र ठाउँ पनि साँघुरो थियो । अहिले एक घण्टामा ४ सय यात्रुले ओहोरदोहोर गर्न सक्छन् । पहिला अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्टमात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो । दुइटा कन्भेयर बेल्ट भएपछि प्रतिघण्टा ४ सय यात्रु प्रोसेस हुँदा पनि एकैपटक पाँच जहाज आए भने पनि ती जहाजलाई म्यानेज गर्न सकिने अवस्था बनेको प्रवक्ता झाले बताए । ‘यो भनेको पहिलाको भन्दा दोब्बर क्षमता हो,’ उनले विकासन्युजसँग भने, ‘ब्यागेज बेल्ट पहिला एउटा मात्रै थियो, अहिले दुईवटा भए । यसले यात्रुलाई पनि ब्यागेजका लागि धेरै बेर कुर्नु नपर्ने र सहज भएको छ ।’ एउटा बेल्टमात्रै हुँदा एउटा जहाजका यात्रुको सामान राखेपछि त्यो नसकिँदासम्म अर्को जहाजको राख्न नमिल्ने हुँदा यात्रुलाई पनि पर्खिराख्नुपर्ने झन्झट थियो । अहिले भने एउटै कम्पनीको जहाज छ भने पनि एउटैमा राख्न सजिलो हुने र एकैपट चार/पाँच जहाजको राख्न मिल्ने उनको भनाइ छ । ‘पहिला ठाउँ साँघुरो हुन्थ्यो, एकपटकमा दुईवटा पनि राख्न नमिल्ने,’ उनले भने, ‘त्यसभित्र त्योभन्दा बढी कुरेर बस्न ठाउँ पनि हुँदैनथ्यो । अहिले त्यो समस्या क्लियर भएको छ ।’ विमानस्थलको सेवा पहिलाभन्दा अहिले राम्रो र सहज भएपछि यात्रुहरू पनि खुसी भएको झाले बताए । ‘यात्रुहरू पनि खुसी हुनुहुन्छ,’ उनी भन्छन्, ‘अझै केही दिन चलेपछि अरू धेरै फिडब्याक आउलान् । सुरुको दिनमा राम्रै मान्नुभएको छ ।’ प्रवक्ता झाका अनुसार टिआइएले वार्षिक ८० देखि ८५ लाखहाराहारीमा यात्रु ह्यान्डल गर्छ । अहिले विमानस्थलमा वृद्ध यात्रुका लागि पहिलाभन्दा धेरै कुर्सी थपिएको झा बताउँछन् । नयाँ टर्मिनलमा दुईवटा शौचालय र फ्लाइट डिस्प्ले राखिएको छ । एउटा रेस्टुरेन्ट राख्ने योजना पनि रहेको झाले बताए । आवश्यकताअनुसार अरू सुविधा थप्दै जाने उनको भनाइ छ । पार्किङ क्षेत्रवरिपरि एक्सेस रोड पनि बनाइएको छ । आन्तरिक विमानस्थलमा फेरिएको अर्को महत्वपूर्ण कार्य हो इन्ट्री र एक्जिट गेट । पहिले आगमन र बहिर्गमन गेट एउटै थियो । सवारी साधनको भीड बाक्लो हुन्थ्यो । तर, अहिले सवारी आवागन गर्ने बाटो फेरिएको छ । जसले यात्रुलाई धेरै सहज भएको छ । तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले सुरु गरेको निःशुल्क माइक्रोबस सेवा सञ्चालन गरेपछि यात्रुलाई धेरै सहज भएको छ । विगतमा महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यताको अहिले अन्त्य भएको छ । झाका अनुसार अहिले सञ्चालनमा रहेको अराइभल कक्षलाई नवीकरण गरेर भिआइपी कक्ष बनाउने योजना छ । ट्विनअटर विमान उडान हुने देशका अरू विमानस्थलमा पनि टर्मिनल भवन विस्तार गरिने सूचना अधिकारी भूलले बताए । उनका अनुसार अहिले नेपालगन्ज, विराटनगर र भरतपुरमा काम सुरु भइसकेको छ भने अन्यमा बिस्तारै सुरु गरिने छ । ‘ती विमानस्थलमा नयाँ संरचना बनाउँदा अराइभल र डिपार्चरको क्षमता डिक्लेयर गरेर अलग-अलग पार्टबाट बनाउँछौं, त्यसमा कन्भेयर बेल्ट, चेकिङ मेसिन राख्ने व्यवस्था गर्छौं,’ उनले भने । पर्यटन व्यवसायी के भन्छन् ? पर्यटन व्यवसायी विजय अमात्य त्रिभुवन विमानस्थलमा यात्रुहरूको आगमन र प्रस्थानका लागि छुट्टाछुट्टै टर्मिनल भवन सञ्चालनमा आउनु यात्रुका लागि सहजता र खुसीको कुरा भएको बताउँछन् । ‘अन्तराष्ट्रियतर्फ अहिले धेरै सुधार भएको छ,’ उनी भन्छन्, ‘अब त्यहाँ इमिग्रेसनमा जति काउन्टर छन्, त्यसमा २४ घन्टाका लागि जनशक्ति परिचालन गर्नुपर्छ । उता आन्तरिकमा पनि सुधार हुनु पर्यटकका लागि पनि सुखद खबर हो ।’ उनका अनुसार लगेज र स्क्रिनिङमा समस्या छैन । डोमेस्टिकतिर पनि बन्दा शतप्रतिशत नै नभए पनि ६० देखि ७० प्रतिशत सहज हुने देखिन्छ । ‘विमानस्थल व्यवस्थापनले ढिलै भए पनि आन्तरिकतर्फ छुट्टै अराइभल टर्मिनल भवन सञ्चालनमा ल्याउनु नेपाल घुम्न आउने पर्यटकका लागि पनि सहज हवाई सेवा पुग्नु हो,’ अमात्यले भने, ‘आन्तरिकतर्फ अब भीडभाड कम हुने देखिन्छ । यसले पर्यटकमाझ हाम्रो विमानस्थलको छवि थप सकारात्मक हुने निश्चित छ ।’
१२ महिना हिउँले ढाकिने गरेको धौलागिरिको धवल रुप धमिलिँदै
गलेश्वर । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो । धौलागिरि हिमालमा पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय हिउँ पर्ने समय (हिउँद) मा पनि हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको धवलागिरि गाउँपालिका–४ का वडासदस्यसमेत रहेका पर्यटन व्यवसायी हरि तिलिजाले जानकारी दिए । ‘धौलागिरि हिमालको स्वरुपमा परिवर्तन देखिन थालेको करिब सात वर्षजति भयो । त्यसभन्दा पहिले हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो’, उनले भने, ‘पछिल्ला केही वर्षयता हिमालको तल्लो भाग कालो पहाडजस्तो देखिन थालेको छ । हिउँदमासमेत हिमालको तल्लो भाग धमिलो र कालो देखिन थालेको छ ।’ एक दशक अघिसम्म धौलागिरि हिमाल र पश्चिमका उच्च लेकाली क्षेत्रमा पुस लाग्ने वित्तिकै हिउँपरेको देखिनेमा विगत केही वर्षयता हिमालमा हिउँ परेको हेर्न फागुन कुर्नुपर्ने अवस्था आएको स्थानीय टेकप्रसाद पुनले बताए । ‘पहिले पुस महिनामा भारी हिमपात हुने भए पनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । यसवर्ष मध्य माघसम्म पनि राम्रोसँग हिउँ परेको छैन । समयमा हिउँ पर्याप्त नपर्ने, हिमालमा भएको हिउँ पग्लिएर जाँदा हिउँले ढाकिएका भू-भाग काला पहाडमा परिणत हुँदै जान थालेका छन्’, उनले भने । धौलागिरि हिमालको आधारशिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि सुरु हुने हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतह घट्दै गएको पाइएको धवलागिरि गाउँपालिका–४ मुदीका वडाअध्यक्ष यामबहादुर घर्तीले बताए । ‘म जान्ने हुँदादेखि धौलागिरि वरपरका सबै डाँडाकाँडा मङ्सिरदेखि नै हिउँ परेर सेताम्यै हुन्थे’, उनले भने, ‘खर्क र खोल्सामा चिस्यान हुन्थ्यो । अहिले हिमालको तल्लो भाग र वरपरिका डाँडा सबै काला भएका देखिन्छन् ।’ समयमा हिउँ नपर्दा हिमाल मात्र काला देखिएका होइनन् तल्लो क्षेत्रमा पाइने पशुपक्षी र जङ्गली जनावर पनि बसाइँ सर्न थालेका स्थानीयवासीले बताएका छन् । ‘धौलागिरि वरपरका उच्च लेकाली जङ्गलमा मात्र पाइने रेडपाण्डा अहिले बस्ती छेउमा देखिन थालेका छन् । कालीज, तित्रा पनि गाउँमै भेटिन थालेका छन्’ स्थानीय पृथबहादुर विकले भने । धौलागिरि मात्रै नभइ जिल्लाको गुर्जामा रहेका गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् । याममा पनि कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिँदै बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेका उनको भनाइ थियो । हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको विकले बताए । ‘पछिल्ला केही वर्षयता हिउँ पर्ने क्रम घट्दै गएको छ । दश वर्षजति भयो हिमाल र वरपरका क्षेत्रमा हिउँ कम पर्न थालेको’, उनले भने, ‘पहिले पाँच छ फिटसम्म हिउँ पर्दथ्यो । हिउँ पग्लिन हप्तौँ लाग्थ्यो । अहिले मुस्किलले दुई/तीन फिटसम्म पर्छ । त्यो पनि एकै दिनमा पग्लिएर बग्छ ।’ हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको वडाअध्यक्ष घर्तीले जानकारी दिए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको उनको भनाइ थियो । पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको किसानको भनाइ छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् । यस्तो छ धौलागिरि हिमालको इतिहास धौलागिरि हिमालको इतिहास भारत स्वतन्त्र हुनुभन्दा पहिला सन् १९४७ अघि भारतमा शासन गरेका अङ्ग्रेजहरुसँग जोडिएको इतिहासकारको भनाइ छ । ‘सन् १९४७ पूर्व भारतमा अङ्ग्रेजहरुले शासन गर्दा भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुरबाट उत्तरतर्फ हेर्दा अङ्ग्रेजले सेतो पहाड देखे । सेता पहाड देख्दा उनीहरु लोभिएपछि खोजी गर्दै जाँदा धौलागिरि हिमाल पत्ता लगाएका हुन्’, म्याग्दीका इतिहासकार कर्णबहादुर बानियाँले भने । उनका अनुसार अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मेमा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम शृङ्खलाको बारेमा केही कुरा सार्वजनिक गरेको थियो । म्याग्दी जिल्लाको उत्तरी भू–भागमा धवलागिरि हिम शृङ्खला रहेको छ । यो हिम शङ्खला सेतो भएकाले यसलाई धवलागिरि भनिएको हो भन्ने बानियाँको भनाइ छ । ‘धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम शृङ्खला बिहानीको झुल्के घाममा चाँदी झैँ टल्कने भएकोले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरि’ भनिएको हो’, इतिहासविद् बानियाँले भने, ‘म्याग्दी हिमाल, ताल, छहरा र पहराले सजिएको छ । यिनै सौन्दर्यलेयुक्त भएकाले यहाँको संस्कृति पनि शृङ्गारिक र मौलिक छ ।’ बानियाँका अनुसार प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई मोहनी लगाउने प्रशस्त सम्पदा हुँदाहुँदै पनि समुचित प्रयोग, प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदा अझै पनि ओझेलमा परेका छन् । त्यसका साथै यहाँ दर्जनौँ हिमशृङ्खला, छहरा, ताल, गल्छी, झरना रहेका छन् । पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्य म्याग्दीमा विद्यमान छन् । जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ, जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँको पुछारमा काली गण्डकीले बनाएको विश्वकै सबैभन्दा गहिरो गल्छी हो । गल्छीको उत्तर–पश्चिममा धवलागिरि हिमाल (८,१६७ मी) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी) छन् । यी दुई हिमशङ्खला बीचको दूरी करिब ३५ मिटर मात्र छ । दाना करिब १,२०० मिटरको उचाइमा अवस्थित छ । रासस
राइनासकोटको पर्यटन : इतिहास, संस्कृति र प्रकृतिको समिश्रण
गण्डकी । नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै यहाँबाट देखिने १८ वटा जिल्लाको दृश्यले जो कोहीको मन लोभ्याउने गर्दछ । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे-चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, त्यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवम् सांस्कृतिक महत्वका स्थलले यहाँको गरिमा र महत्व चुलिएको छ । समुुद्री सतहबाट एक हजार ७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्वपूर्ण ऐतिहासिक स्थल पनि हो । यहाँबाट देखिने एक सय ८० डिग्रीको बिन्दुमा एकैसाथ नाङ्गो आँखाले धवलागिरिदेखि गणेश हिमालसम्मका १८ वटा हिमशृङ्खलाले यहाँको महत्वलाई अझै उँचो बनाएका छन् । गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । लमजुङको राइनास नगरपालिकामा पर्ने यो स्थललाई नेपालको एकीकरणमा गौरवशाली भूमिका र पहिचान स्थापित गरेको महत्वपूर्ण किल्लाका रुपमा लिने गरिन्छ । रागीनासको नामले परिचित यो ठाउँ पछि अपभ्रंश हुँदै राइनास बन्न गएको बताइन्छ । इतिहासअनुसार शाह वंशीय पहिलो राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ-राइनासकोट राज्यको पछि उनका छोराहरू नरहरि शाहले थप सुदृढ़ीकरण गरे भने द्रव्य शाहले चेपेघाट–लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए । दाजु नरहरि शाहले पश्चिम लमजुङको राजकाज पाएपछि द्रव्य शाह (विसं १६१६-१६२७) पूर्वी किल्लाको राजा बनेका थिए । राइनास कोटमा बस्ने द्रव्य शाहले लिगलिगकोट दौडमा विजय हासिल गरेपछि लिगलिग कोटको राजा भएपछि नेपालको एकीकरणको सुरुआत भएको हो । लिगलिगको दौडमा विजयी हुने रणनीति द्रव्य शाहले राइनासकोटमा नै बसेर गरेका कारण पनि यसलाई रणनीतिक कोटका रुपमा समेत लिने गरिन्छ । त्यही रणनीतिअनुसार राइनासकोटबाट द्रव्य शाह दलबलसहित लिगलिगको दौडमा सहभागी हुन पुगेका थिए । मगरहरूसँग दौडेका द्रव्य शाहले रणनीतिक रुपमा दौड जितेर लिगलिगकोटको राजा भए र त्यसपछि दौडेर राजा हुने परम्पराको नै अन्त्य गरे । गोरख ग्रन्थमा उल्लेख भएबमोजिम गुरु गोरखनाथ पहिलोपटक तत्कालीन राजकुमार द्रब्य शाहको राइनासकोटको गाईगोठमा गएर आर्शिवाद दिएका थिए । आशिर्वादसँगै उनको राज्य बिस्तारको अभियान सफल हुँदै गएको मानिन्छ । पृथ्वीनारायण शाहले आफ्नो नेपाल एकीकरणको अभियानलाई सफल पार्नका लागि राइनासकोटमा नै बसेर योजना बनाएको पनि इतिहासमा उल्लेख छ । गुरु गोरखनाथको निर्देशनअनुसार पृथ्वीनारायण शाह बेलाबेलामा राइनासकोट पुगी विभिन्न रणनीति तय गर्ने गरेको बताइन्छ । उनले समयसमयमा राइनासकोट पुुगी पूजाआजा गर्ने गरेको सिद्धबाबाको मन्दिर आदिले यहाँको ऐतिहासिक महत्वलाई उजागर गरेका छन् । ढुङ्गाको पर्खालले वरिपरि घेरिएको गोलाकार किल्लाभित्र रहेको सिद्धबाबाको मन्दिरका साथै कोटेश्वर महादेव, कालिका मन्दिरमा यहाँका स्थानीयले परापूर्व कालदेखि श्रद्धाभक्तिका साथ पूजाआजा गर्दै आएका छन् । मनले चिताएको जनविश्वासका कारण आसपासका सर्वसाधारण यी धार्मिक स्थलमा पुुग्ने गरेका छन् । शाहवंशीय राजाको उद्गमस्थलका रुपमा यो स्थलमा रहेका ऐतिहासिक एवम् धार्मिक महत्वका थानी माई, शिव मन्दिर, कालिका मन्दिर महत्वपूर्ण धार्मिक पर्यटकीय आकर्षण हुुन् । परम्परागत मौलिकतामा आधारित घाटु, चुड्का जस्ता संस्कृतिलाई बचाइएका कारण यो स्थलको सांस्कृतिक रुपमा पनि उत्तिकै महत्वपूर्ण रहेको स्थानीयवासी एवम् राइनासकोट सामुदायिक होमस्टेका सदस्य तुलसीमाया गुरुङले बताइन् । राइनासकोटमा घरवासको विकास भने २०७२ सालको भूकम्प पछि गरिएको बताउँदै उनले हाल यहाँका २० घरमा घरवास सञ्चालन गरिएको बताइन् । भूकम्पले भत्किएका घरसँगै यहाँको धार्मिक सम्पदाहरू पुनर्निर्माण गरिएको उनले बताइन् । ‘होमस्टे सञ्चालनले हामीलाई दैनिकी सञ्चालनमा सहयोग पुुगेको छ’, उनले भनिन्, ‘यहाँका प्रत्येक घरमा १० जनासम्म बस्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।’ आफूहरूले २०७४ सालदेखि घरवास सञ्चालन गर्दै आएको बताउँदै गुरुङले पर्यटकको बढ्दो आकर्षणले आँफूहरूलाई उत्साहित बनाएको बताइन् । राइनासकोटको पर्यटकीय आकर्षण बढेसँगै विगतमा गाउँ छोडेर गएका स्थानीयवासी पनि फर्किएर घरवास सञ्चालन गर्न थालेका छन् । करिब २० वर्षअघि गाउँ छोडेर गएका स्थानीय तीर्थकुमारी गुरुङको परिवार भूकम्पपछि गाउँ फर्किएर घरवास सञ्चालन गरिरहेको छ । त्यस्तै यहाँका अन्य स्थानीयवासी पनि घरवास सञ्चालन गरिरहेका छन् । पछिल्ला वर्षमा राइनासकोटमा घरवासमा बस्नका लागि टाढाटाढाबाट मानिसहरू आउने गरेको बताउँदै उनले पुस महिनामा धेरै समूहहरू आएको जानकारी दिइन् । घरबासमा आउने पर्यटकका लागि एक हजार १५० रुपैयाँको प्याकेज राखिएको छ । उक्त प्याकेजअनुसार घरवासमा आएका पर्यटकले पुुग्नासाथ खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान नास्ता खान पाउँछन् । पर्यटकको आवश्यकताअनुसार उनीहरूका लागि सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको उनले बताइन् । प्योकजअन्तर्गतको ५० रुपैयाँ होमस्टे सञ्चालक समितिको कोषमा राख्ने गरिएको उनले बताइन् । राइनासकोट वीर भक्ति थापासँग जोडिएको गाउँ समेत भएकाले गाउँको माथि भक्ति थापाको शालिक समेत स्थापना गरिएको र उक्त स्थललाई भक्ति थापा पार्कका रुपमा विकास गर्न लागिएको राइनासकोट नगरपालिकाका प्रमुख खड्गबहादुर गुुरुङले बताए । आसपासका पर्यटकीय सम्भावनायुक्त स्थलहरूको विकास गर्दै पर्यटकीय रुपमा देश तथा विदेशमा यसको प्रवद्र्धन गरिने उनको भनाइ छ । ऐतिहासिक दरबारका भग्नावशेषसँगै पुरातात्विक महत्वका गढीका कारण राइनासकोटको महत्व चुलिएको स्थानीयवासी एवम् पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु बताउँछन् । २०७२ को भूकम्पपछि यहाँको पर्यटन प्रवद्र्धनलाई विशेषरुपमा जोड दिइएको उल्लेख गर्दै उनले त्यसयता सङ्घ, प्रदेश हुँदै स्थानीय तहले यहाँको प्रवद्र्धन र विकासमा विशेष जोड दिएको बताए । विभिन्न सञ्चारमाध्यमबाट समयसमयमा हुने गरेको राइनासकोटको प्रचारप्रसारले पछिल्ला समयमा पर्यटकको आकर्षण समेत बढीरहेको उनले बताए । ‘सरकारी प्रयाससँगै यहाँका स्थानीयवासी पनि यस क्षेत्रको पर्यटकीय विकासमा चासो देखाएका छन्’, उनले भने, ‘यहाँको इतिहास । संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोड्दै समृद्धि र विकासको अभियान थालिएको छ ।’ रमणीय उच्च भागमा अवस्थित राइनासकोटबाट धवलागिरीदेखि गणेश हिमालसम्मका दृश्यलाई एक साथ नियाल्न सकिनुु र रमणीय परिवेश यहाँको विशिष्टता भएको नगरपालिका प्रमुख गुुरुङ बताउँछन् । पहिला ५८ घर रहेको यस स्थानमा पछिल्लो समयमा वसाइसराइको बढ्दो क्रमले घरहरूको सङ्ख्या घटिरहेको उनले बताए । पछिल्लो समयमा स्थानीयवासीहरू शहरमुखी बन्ने प्रवृत्तिले गाउँमा जनशक्ति घट्दै गएको उनको भनाइ छ । पर्यटनसँगै स्थानीयवासीलाई उत्पादनमा जोड दिइएको उनले जानकारी दिए । स्थानीय कोदो, गुन्द्रुक आदिको उत्पादनसँगै दूध उत्पादन, दुनाटपरीको उत्पादन तथा प्रयोग आदिमा गाउँपालिकाले जोड दिएको उनले बताए । ‘हामी कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउन चाहन्छौं’, उनले भने, ‘कृषि र पर्यटनका माध्यमबाट स्वरोजगार सिर्जना गर्दै शहरमुखी बनेका स्थानीयलाई पुनः गाउँमा नै फर्काउने हाम्रो दीर्घकालीन सोच छ ।’ समग्र राइनासकोट नगरपालिकाको जनसंख्या १८ हजार रहेको उनले जानकारी दिए । ऐतिहासिक मठमन्दिर, कोट आदिको संरक्षण गर्दै पर्यटकीय रुपमा उपयोग गर्ने नगरपालिकाको सोच रहेको नगरपालिका प्रमुख गुरुङ बताउँछन् । भग्नावशेषका रुपमा रहेको द्रव्य शाहको दरबारको पुनर्निर्माणको लागि योजना अघि सारिएको बताउँदै उनले यो सँगै यहाँका गढी र किल्लालाई संरक्षण गरी पर्यटकीय रुपमा उपयोग गरिने बताए । राइनासकोटको पर्यटकीय प्रवद्र्धनमा पछिल्लो समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गरेका छन् । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले हालै राइनासकोटमा पुुगी घरवास तथा व्यावसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने एगा पोखराको वार्षिक कार्यक्रम अनुसार यस पटक राइनासकोटको प्रवद्र्धन गरिएको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले बताए । प्रवद्र्धनात्मक भ्रमणका क्रममा राइनासकोटसँग पर्यटकीय साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरिएको एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले बताए । ‘गाउँमा उत्पादन गर्न सकेमा हामीले अल्लो, गाँजाको लोक्ता ९हेम० खरिद गर्न सक्ने विषयमा त्यहाँ जानकारी गराएका छौं’, उनले भने, ‘पर्यटनसँगै त्यहाँ उत्पादित कच्चा पदार्थ खपत गर्न सकिने विषयमा महत्वपूर्ण छलफल भएको छ ।’ यस्ता कच्चा पदार्थको उत्पादनसँगै स्थानीय श्रमिकहरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै उनले पर्यटनलाई उत्पादनसँग जोड्न सकेमा त्यसले दिगो पर्यटनको विकासमा योगदान पुर्याउने बताए । रासस