प्रेम दिवसमा पनि सौराहामा बढेन रौनकता, सफल भएन मेला महोत्सव
चितवन । बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भएका छन् । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने छैन । विगतका वर्षमा जस्तो प्रणय दिवस मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक अहिले छैनन् । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरेले भने- ‘प्रणय दिवसमा पनि आशालाग्दो अवस्था देखिएन । यहाँ जारी खाना महोत्सबमा दिउँसो चहलपहल भए पनि बासबस्ने पर्यटक कम छन् ।’ नारायणगढ-मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भइ काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौंसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ । त्यस्तै मुग्लिन पोखरा र नारायणगढ-बुटवल सडकको अवस्था पनि उस्तै छ । सडकको अवस्था र आर्थिक मन्दिका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ । घिमिरेले आज बिहान मात्र करिब १० वटा होटलमा बुझ्दा अवस्था राम्रो नपाएको बताए । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सबको प्रभाव होटलहरुमा पर्न नसकेको बताउँछन् । प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उनको भनाइ छ । आज मध्यान्हसम्म ३० प्रतिशत हाराहारी मात्र होटलमा पर्यटक आएको भन्दै उनले दश प्रतिशत थप हुने अपेक्षा गरिएको बताए । उनले भने ‘गत वर्षमा प्रणय दिवसमा लगभग होटल भरिन्थे । यो वर्ष रौनक नै छैन ।’ सौराहामा अहिले भइरहेको खाना महोत्सव, केही दिन अघि सकिएको फिल्म महोत्सव र हात्ती महोत्सवको प्रभाव होटलको मा नपरेको उनी बताउँछन् । उनले थपे- ‘मेला महोत्सब खासै सफल हुन सकेनन् ।’ मेला महोत्सबको आवश्यक मात्रामा प्रचारप्रसार हुन नसक्दा सोचे जस्तो उपयोगी नभएको उनको ठम्याइ छ । क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया मध्यान्हसम्म खासै पर्यटक आइनसकेको बताउँदै साँझसम्ममा आउने अपेक्षा गर्नुहुन्छ । उनले भने- ‘गत वर्षमा यतिबेलासम्म कोठा सकेर अरु होटलमा खोज्न थाल्थे । अहिले त्यस्तो अवस्था छैन ।’ यद्यपि आफूहरु आशावादी रहेको उनले बताए । सडकको अवस्था राम्रो नभएको र आर्थिक मन्दिनै पर्यटक नआउनुको कारण भएको उनले बताए । सौराहामा पाँच हजार पाँच सयजना पर्यटकलाई एकै पटक राख्न सक्ने क्षमता छ । यहाँ एक सय २० वटा होटल र करिब एक सय वटा रेष्टुराँ सञ्चालनमा छन् ।
द्वारीकाज, बसेरा र ले हिमालयनले बेच्छन् म्याद गुज्रेका खानेकुरा, विभागले तिरायो जरिवाना
काठमाडौं । काठमाडौंका प्रतिष्ठित होटेलहरु होटेल द्वारीकाज, होटेल बसेरा र ले हिमालयनले ग्राहकहरुलाई म्याद गुज्रेका खानेकुरा बेच्ने गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार, मंगलबार र बुधबार गरेको अनुगमनको क्रममा ती होटेलले म्याद गुज्रेका खानेकुराहरु किचन र स्टोरमा राखेर ग्राहकलाई बेच्ने गरेको पाइएको हो । होटेल बसेराको केशरमहलमा रहेको रेष्टुरेन्टले ग्राहकलाई गुणस्तरहीन खानेकुरा भान्छामा भण्डारण गरेर ग्राहकलाई बेच्ने गरेको पाइएको विभागले जनाएको छ । त्यस्तै, होटेल द्वारीकाज र ले हिमालयन होटेलले पनि म्याद गुज्रेका खानेकुरा किचन र स्टोरमा राखेर बेच्ने गरेको पाइएपछि ती तीनै होटेलहरुलाई कारबाही गरिएको जनाएको छ । विभागले तिनै होटेलहरुलाई जनही ३ लाखको दरले जरिवाना गरेर म्याद गुज्रेका खानेकुरा जफत गरेको छ ।
तीन अर्बको लागतमा पाथीभरामा केबलकार निर्माण थालिने
फुङ्लिङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको सङ्घर्ष समितिसँग वार्ता गर्ने कामलाई निरन्तरता दिँदै निर्माणकार्यलाई पनि अघि बढाउने निर्णय भएको हो । समितिले उनीहरूलाई पनि वार्ताका लागि बोलाएको र सहभागी सदस्यहरूले सकेसम्म सबै पक्षको सर्वसम्मतिबाट निर्माणको काम थाल्ने विषयमा छलफल गरेका थिए । केबलकार निर्माण गर्न नहुने भन्दै गठन भएको सङ्घर्ष समितिले भने आफ्नो अडान कायमै राखेको छ । यसअघि पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन सबै पक्षसँग वार्ता र आवश्यक सहजीकरण गर्ने उद्देश्यले ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गत महिना उक्त समिति गठन गरिएको थियो । सो समितिका सदस्यमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्षद्वय लालकृष्ण चौहान र राजन लिम्बू (मुक्ति), प्रमुख जिल्ला अधिकारी, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रहेका छन् । पाथीभरा क्षेत्र विकास समितिको पहलमा गठित सो नौ सदस्यीय समितिले असहमत पक्षसँग वार्तासमेत गर्दै आएको छ । सोमबारको बैठकमा समितिका सबै पक्षले निर्माणको काम थाल्ने र असहमत पक्षसँग आगामी दिनमा वार्तालाई निरन्तरता दिने निष्कर्ष निकालेको थियो । सोही सहमतिअनुसार निर्माणको काम सुरु गरिने पाथीभरा (मुकुमुलुङ) केबलकार दर्शन प्रालिका प्रतिनिधि रुद्र पौडेलले जानकारी दिए । उनले आवश्यक कानुनीलगायतका सबै प्रक्रिया पूरा भएको र अब एक–दुई दिनमा नै निर्माणको काम थाल्ने जानकरी दिए । पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाउँदै आएका छन् । अर्कातर्फ यहाँका अधिकांश स्थानीय, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिले भने ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्तिपीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने बताएका छन् । केबलकार निर्माण पक्षले भने सबै प्रक्रिया पूरा गरी निर्माण थाल्न लागेको र यहाँका कुनै पनि मौलिकता एवं धार्मिक, सांस्कृतिक पक्षमा कुनै असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ । प्रसिद्ध धार्मिकस्थल पाथीभरालाई लिम्बू समुयदायले मुकुमुलुङ भन्ने गर्दछन् । पाथीभरा क्षेत्र चार स्थानीय तह फक्ताङ्लुङ गाउँपालिका, फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा पर्दछ । प्रसिद्ध पाथीभरा देवीको दर्शन गर्न यहाँ ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि पुससम्म यहाँ ९२ हजारभन्दा बढी भक्तजन आएका छन् । यहाँ हाल वर्षमा करिब चार लाख धार्मिक पर्यटक एवं भक्तजन आउने गरेका छन् । यदि केबलकार तथा आवश्यक अन्य पर्यटकीय पूर्वाधार निर्माण हुनसकेमा वर्षमा कम्तीमा पनि १५ लाख भक्तजन यहाँ आउने अनुमान गरिएको छ । त्यसैले यहाँका नागरिक जतिसक्दो चाँडै केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा छन् । अहिले पाथीभरा मन्दिरसम्म पुग्नका लागि काफ्लेपाटीसम्म सडक पुगेको छ । सुकेटारसम्म कालोपत्र गरेको सडकको पहुँच पुगेको छ भने सुेकेटारबाट काफ्लेपाटीसम्म ११ कोलोमिटर कच्ची सडक हुँदै पुग्न सकिन्छ । काफ्लेपाटीबाट पदमार्ग हुँदै पाँच किलोमिटर उकालो चढेपछि तीन हजार सात सय ९५ मिटरमा अवस्थित पाथीभराको मन्दिरमा पुग्न सकिन्छ । उचाइमा अवस्थित यस मन्दिरमा पुग्न उकालो बाटो भएकाले ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी तथा शारीरिक असक्त एवं फरक क्षमता भएकाहरूका लागि निकै कठिन हुने गरेको छ । त्यसैले स्थानीयजस्तै यहाँ आउने दर्शनार्थीले पनि केबलकार निर्माणको माग गर्ने गरेका छन् । निर्माण कम्पनीले मन्दिर आसपास कुनै संरचनामा फेरबदल नहुने र केबलकारको स्टेशन मन्दिरबाट करिब एक किलोमिटर तल रहने भएकाले अहिलेकै पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै दर्शनार्थी जान सकिने गरी केबलकार निर्माण हुने स्पष्ट गरेको छ । रु तीन अर्बभन्दा बढीको लागतमा यहाँ केबलकार निर्माण हुन लागेको र यसपछि यहाँ आउने ठूलो सङ्ख्याका पर्यटकलाई लक्ष्य गरी पर्यटकीय पूर्वाधारसमेत बन्ने भएकाले स्थानीयले प्रत्यक्ष लाभ लिनसक्ने गरी उनीहरूको सहमति र सहयकार्यमा नै यो बृहत् आयोजनालाई अघि बढाउनुपर्ने पक्षमा यहाँका स्थानीय तहका जनप्रतिनिधि रहेका छन् । रासस