खापरमाडौँ (मोटाकाटियाँ)
मोटाकाटियाँ मन्दिरमा परापूर्वकालदेखि पूजाआजा हुँदै आएको छ । स्थानीय बासिन्दाले आफ्नो सम्पत्ति वृद्धि हुने तथा सोचेका सबै कुरा पूरा हुने धार्मिक विश्वासले यो मन्दिरमा पूजा गर्दै आएका छन् । पूजा नगरेको वर्ष बालीनाली पनि घट्ने गरेको स्थानीय बताउँछन् । जहाँ पूजा गर्दा खापर देउतालाई खुसी पार्न बाख्राका पाठापाठी बली चढाउने परम्परा छ ।
हरेक वर्ष भदौ–असोज र फागुन–चैतमा पुजिने खापरमाडौँमा पिठातोलावासीमात्र होइन, छिमेकी गाउँबाट पनि शनिबार र मङ्गलबारको साइत जुराएर पूजाआजा गर्ने गरेको स्थानीय नारायण जोशी बताउँछन् । उनी भन्छन्, ‘यो मन्दिरमा सामूहिक पूजा गरिन्छ । गाउँघरमा सबैले पूजा सामग्री जुटाएर खापरमाडौँ पुज्दै आएको किंम्वदन्ती पनि रही आएको छ ।’
खापरमाडौँमा आकासे पानीका लागि पनि जाग्राम बस्ने चलन छ । खडेरी परेका बेला ‘पानी परोस्’ भन्दै खापरमाडौँको आँगनमा स्थानीयबासी रातभर जाग्राम बस्छन् । चार‑पाँच दिन राति जाग्राम बसेपछि पानी पर्ने गरेको उनी बताउछन् । ‘खापरमाडौँमा गाईभैँसी तथा अन्य सम्पत्ति बढ्दै जाउन भन्नका लागि धवन ढोल्ने (गाई वा भैँसीको दूध खानुअगावै देउतालाई चढाउनु) गर्छन् । जसले गर्दा पशुलाई रोग लाग्दैन, बढ्दै जान्छ भन्ने जनविश्वास छ ।’ नारायणले भने ।
लाङ्गोमाडौँ (पिठातोली)
परापूर्वकालदेखि पुजिँदै आएको ‘लाङ्गो’ देउता चीन हुँदै भोट मानसरोवरबाट ल्याइएको हो । लाङ्गामाडौँ वर्षको दुई पटक भदौ र चैतको शुक्लपक्ष तिथिमा पुज्ने गरिन्छ । प्रायः मङ्गलबार र शनिबार पारेर पुजिने मन्दिर करिब तीन सय वर्षअघि भोटबाट ल्याइएको स्थानीयको बुझाइ छ ।
बाह्रौ शताब्दीतिर पिठातोलाका जोशीहरू बझाङकै भातेखोला हुँदै पिठातोलामा बसाइँ सरेर आएपछि त्यो ठाउँमा विभिन्न देउताको पूजाआजा गरिँदै आएको किंम्वदन्ती छ । करिब ‘तीन सय वर्ष’ पहिले ‘लाङ्गो’ देउता ‘खोलाबाडा’ टोलका जोशी परिवारकी हजुरआमा भोट भन्ने ठाउँबाट ‘गादो’ कपडामा बेरेर ल्याएको सिला (ढुङ्गा) पिठातोलामा देउता भन्दै पूजाआजा गरिँदै आएको पिठातोलाका लिलाराम जोशी बताउछन्।
‘त्यो देउता ल्याएपछि दोस्रो पटक भोट (तिब्बत नजिकैको ठाउँ) मा जाने बेला धामी, पुजारी तथा भरियाको टोलीसँग आधा बाटोमा पुगेपछि कुकुरको बच्चा देखा पर्छ र त्यसै टोलीसँग हिँड्न थाल्छ । त्यो कुकुरलाई आफूबाट छुटाउन भोट जाने टोलीले धेरै प्रयास गर्छ तर सक्दैन । अन्त्यमा, नौरा (बझाङ सदरमुकाम नजिकैको गाउँ) का स्थानीयलाई चार मोहोरमा बेच्छन् । त्यसपछि त्यो देउताले बेच्नेहरूलाई सराप दिएको हुँदा लाङ्गोलाई खुसी पार्न सधैँ पुजिँदै आएको हाे’, स्थानीय लिलारामले भने ।
दुदिरमाडौँ
यो मन्दिरलाई ‘न्यायको मन्दिर’ को उपमा दिने गरिन्छ । दोषीलाई सजाय र निर्दोषलाई न्याय दिने मन्दिरको रुपमा दुदिरमाडौँलाई पुजिँदै आएको हो । परापूर्वकालमा अन्यायमा परेका न्यायका लागि अदालती प्रक्रियाजस्तै त्यो मन्दिरमा न्याय खोज्न जाने गर्थे । न्यायको पक्षमा ‘दुदिर’ ले फैसला गर्ने गरेको स्थानीय बताउछन् । उनीहरूका अनुसार दोषीले रातिको समयमा पुज्ने र निर्दोषले दिउँसो नै पुज्ने गर्छन् । यो मन्दिरमा पूजाआजा गर्न कुनै खास महिना–बार कुर्नु पर्दैन ।
दुदिर साविकको पाटादेवल गाविस–४ पुजारी गाउँ नजिकैको सिँडिगाडको दुदिरमाडौँबाट ल्याइएको हो । पिठातोलाका पुर्खाले त्यो ठाउँबाट आउँदा पाल्तो (पानी पर्दा पानी छेक्ने छाताजस्तै रुखको बोक्रा र निगालोबाट बनाइएको वस्तु) मा जुका आएको भन्दै त्यसलाई खोलामा फालेको र जुकोले दुदिरको रुपधारण गरी पिठातोला पुगेको स्व। लक्ष्मीकान्त जोशीले एउटा भिडियो वार्तामा भनेका थिए। उनीसँगको भिडियो वार्तामा भनिएको, ‘जुकोले तैँले मप्रति कुव्यवहार देखाइस्, तेरै छिमेकी भएर बस्छु, भनेर देवता आएको हो ।’
लाटामाडौँ
लाटामाडौँ मन्दिर खास गरी विवाह गरेर गएकी चेलीहरू पुग्ने गर्छन् । ‘यहाँ लाटो देउताबाट छोरीहरू टाढा हुँदा रिसाउने गर्छन् । त्यसलाई खुसी पार्नका लागि ठूलो खसीको बली चढाउनुपर्छ । त्यसपछि मात्र लाटो देउता खुसी हुन्छन्’, स्थानीय सत्यराज जोशी भन्छन्, ‘जबसम्म छोरी बहिनीहरूले लाटो देउतालाई खुसी पार्नुहुन्न, तबसम्म उहाँहरूको उन्नति हुँदैन भन्ने विश्वासका साथ पूजा आराधना गरिँदै आएको छ ।’
जानकारका अनुसार पिठातोलाबाट एक जना बिहे गरेर गएकी चेलीको घरमा जति लगानी गरे पनि बिग्रने, राम्रो गर्दा पनि नराम्रो हुने, रोगले ग्रसित भइरहने हुँदा आफ्नो नजिकको देउतालाई सोधेपछि लाटो देउता नपुजेको कारण देखाएको हुँदा त्यो समयदेखि नै लाटा मन्दिरको पूजा हुँदै आएको हो । त्यसपछिका चेलीलाई पनि सोही समस्या दोहोरिन थालेपछि लाटो देउताको पूजाआजाले निरन्तरता पाएको सत्यराज बताउछन् ।
लाटामाडौँ मन्दिरमा रातिको समयमा मात्र पुज्ने गरिन्छ । पूजाआजा गर्ने बेलाका सामग्री पनि घरमा फिर्ता ल्याउन नपाइने र पूजामा पकाइएका परिकार र मासु पनि उतै खाइसक्नुपर्ने विश्वास सही आएको छ । खान नसकेर घर ल्याएमा देउता रिसाउने हुँदा उतै सक्नुपर्ने उनले बताए ।
पिठातोलामा माथि उल्लेख गरिएका मन्दिर मात्रै छैनन् । साना‑ठूला गरी अरू दर्जनौँ मन्दिर छन् । धार्मिक संस्कारअनुसार आस्थाका केन्द्र साना–ठूला मठमन्दिर टोलैपिच्छे भेटिन्छन् । धार्मिक गाउँको रुपमा चित्रण गरिएको पिठातोलामा बिहानको समयमा भजनकीर्तनले पुरै गाउँ गुञ्जायमान हुन्छ । बिहान ४ देखि ६ बजेसम्म आरती, शङ्खधुनलगायत पूजाआज प्रत्येक घरमा हुने गर्छ । धार्मिक संस्कारले बाँधिएको पिठातोला पुग्ने जो कोहीले पनि अनौठो महसुस गर्छन् ।
मन्दिरको नाममा लगानी गरेर आकर्षक बनाइएका मन्दिर भने छैनन् । स–साना मन्दिरमा त फूलपातीले सजाइएका छन् भने अलि ठूला मन्दिरमा जस्ता पाताले छाएको चन्द्रप्रकाश जोशीले बताए। “मठमन्दिर र पाटीपौवाले पिठातोलालाई शोभायमान बनाएको छ” उनले भने । रासस