अध्ययन नगरी धरानमा हवाई मैदान बनाउन सकिँदैन : मन्त्री किराती
धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढंगले अध्ययन नगरी धरानमा तत्काल हवाई मैदान बनाउन नसकिने बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाई मैदानको सम्भाव्यताका लागि मिहिन ढंगले अध्ययन भइरहेको बताए । प्राविधिकले धरानमा हवाईमैदानका लागि अध्ययन भइरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको उल्लेख गरे । मन्त्री किरातीले भने, ‘जहाज उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र हवाई मैदान बनाउनुपर्छ ।’ उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गरिएकाले सहभागी हुन सबैमा आग्रह गरे । विकासका लागि धरान एक्लै अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री किरातीले धरानले चतरा, बराहक्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायत ठाउँका धार्मिक तथा पर्यटकीयस्थललाई ध्यानमा राखेर सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्डीराज ढकालले पछिल्लो समय व्यापार व्यवसाय धरासायी बनेकाले नीजि क्षेत्रलाई उकास्न राज्यले सहयोग गर्नुपर्ने जोड दिए । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विजयकुमार राई र रमेश बस्नेत, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलगायतले शुभकामना व्यक्त गरेका थिए । एक्स्पोका आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार हस्तकला, स्थानीय साधनस्रोतबाट उत्पादित वस्तु निकासी र पैठारी गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । यही फागुन २३ गतेसम्म सञ्चालन हुने सो एक्स्पोमा एक सय ५० कक्ष राखिएका छन् ।
सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण
सल्लेरी । नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ फुङ्गी थेङ्गामा चारकोठाको दुईसिटे शौचालय निर्माण गरेको नेपाली सेना रणशुर गुल्म नाम्चेले जनाएको छ । जनहित कार्यका लागि विनियोजित १० लाख रूपैयाँ बजेटबाट करिब तीन महिनाको अथक प्रयासमा निर्माणसम्पन्न गरिएको दुर्गा बक्स गणका सेनानी नवराज बस्नेतले जानकारी दिए । उनले भने, ‘शौचालय गत मङ्सिर १७ गतेदेखि सुरु गरी माघ १८ गते निर्माणसम्पन्न गरेको हो, पूर्वी पृतनाका पृतनापति उपरथी आशबहादुर तामाङको सल्लाह, सुझावमा सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणशुर गुल्मका गुल्मपति सेनानी प्रचण्डविक्रम भारतीको पहलता तथा गुल्मका सकलदर्जाको करिब तीन महिनाको अथक प्रयासमा निर्माण भएको हो ।’ सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले नेपाली सेनाले निर्माण गरेको सार्वजनिक शौचालयले सगरमाथा राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने स्वदेशी विदेशी पर्यटकहरुलाई सुविधा पुग्ने विश्वास व्यक्त गरे । सगरमाथा राष्ट्रिय निकुञ्न विभिन्न देशका पर्यटकको एक प्रमुख गन्तव्य रहँदै आएको छ । बर्सेनि करिब ५० हजार स्वदेशी विदेशी पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका सगरमाथा, ल्होत्से, आमादब्लम हिमाल आरोहणका साथै सगरमाथा आधार शिविर, कालापत्थर, गोक्यो ताललगायत स्थानको भ्रमण गर्दै आएका छन् । रासस
भरतपुर भ्रमण वर्ष सफल बनाउन पर्यटन बोर्ड र भरतपुर महानगरबीच सम्झौता
चितवन । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिका सभाहलमा भरतपुर भ्रमण वर्ष २०२४ लाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले ७० लाख रुपैयाँ बेहोर्ने छ । पर्या पर्यटन तथा मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्याशाला, ब्रसोर, स्टीकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रर्वद्धन, विभिन्न सहरहरुमा प्रचारात्मक कार्यक्रम, नेचर गाईड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौता पत्रमा उल्लेख छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको उच्च प्रशंसा गरिन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमुना काम गर्न अनुरोध गर्दै उनले देशमा भईरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निरासालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको बताइन् । कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे। भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भएपनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवा सुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐर बताउँछन् । भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग समवन्य तथा सहकार्य गरी विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाउने कार्य तालिका रहेको छ । भरतपुर भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न विदेशी पत्रकारलाई नेपालमा ल्याउने कार्यक्रम तय भएको उनको भनाई छ ।