मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो, बन्दीपुर आउने पर्यटकलाई ग्रेटवालको झल्को
काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका-२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यस पदमार्गलाई ‘मिनी ग्रेटवाल’का रूपमा समेत प्रचारप्रसार गरिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकस्थल हो । यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ गन्तव्यस्थल बनाउन खोजेका हौँ,’ उनले भने । थापाका अनुसार अहिले दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने, पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्नेलगायत काम भइरहेको छ । उनले भने, ‘केही समय यसको काममा ढिलाइ भएको थियो, गाउँपालिकाले ताकेता गरेसँगै अहिले कामको गति बढेको छ ।’ पदमार्गको दूरी दुई किलोमिटर रहेको र ८० प्रतिशत काम सकिएको थापाले जानकारी दिए। यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ लागत परिमाण गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना रहेको अध्यक्ष थापाले उल्लेख गरे । विश्वको प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने थापाले विश्वास व्यक्त गरे । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन सकिए पर्यटन व्यवसाय फस्टाउनुका साथै स्थानीयको आयस्तर वृद्धि हुँदै जाने बताए । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्याङ्क रहेको प्रधानले जानकारी दिए । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । सदरमुकाम दमौलीबाट १८ किमी डुम्रे हुँदै ८ किमी उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने हरेकको मन लोभिने गर्दछ ।
कतार एयरवेजले भोलिदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्ने, भाडा नियन्त्रण गर्न मद्दत पुग्ने
काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मंगलबार (भोलि) देखि भैरहवामा दैनिक उडान भर्न लागेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान भर्न लागेको जानकारी दिए । कतार एयरवेजको भैरहवा उडान साङ्केतिक रूपमा ठूलो उपलब्धि भएको उनले उल्लेख गरे । ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको आफैमा नेपालको इन्टरनेशनल एयरपोर्टलाई अन्तर्राष्ट्रिय एरोनोटिकल समुदाय ‘इन्टरनेशनल एरोनोटिक कम्युनिटी’ले चिन्नु हो,’ सूचना अधिकारी भूलले भने, ‘विश्वका ठूला एयरलाइन्स कतार, फ्लाई दुबई, थाई एयर एसिया, जजीरालगायत अन्तर्राष्ट्रिय एयरलाइन्सको भैरहबाट उडान हुनु रणनीतिक हिसाबले निकै महत्त्व हुन्छ । हामी (नेपालले) बनाएको अन्तर्राष्ट्रिय एयरपोर्ट ‘गेट वे’ को रूपमा विश्व प्रसिद्ध एयरलाइन्सले सेडुअल उडानको रूपमा प्रयोग गर्नु भनेको आर्थिक हिसाबले गौतमबुद्ध विमानस्थल र आसपासको क्षेत्र पनि आर्थिक सम्भावनायुक्त हुने हुनाले यसको विशेष महत्त्व छ ।’ सूचना अधिकारी भूलका अनुसार गौतमबुद्ध विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय उडानले हवाई भाडा नियन्त्रण गर्न मद्दत पुग्छ । नेपालले अधिकांश देशसँग गरेको हवाई सेवा सम्झौतामा इन्धनको मूल्य र प्रतिस्पर्धाको आधारमा हवाई भाडा निर्धारण गरिएको हुन्छ । स्वदेशी र विदेशी वायुसेवा कम्पनीको समन्वयमा प्रतिस्पर्धी उत्कृष्ट ‘एयरफेयर सिस्टम’ भएपछि स्वदेशी वायुसेवा कमजोर हुँदाखेरि विदेशी वायुसेवाको क्षमतामा निर्भर हुनुपर्दा विदेशी कम्पनीले हवाई भाडा बढाउँदा बजार उनीहरूको पहुँचमा जान्छ । ‘सरकारले विमानस्थल सहुलियतको प्याकेज घोषणा गरेको छ । यसबाट एयरलाइन्सले पनि नयाँ विमानस्थलबाट व्यावसायिक उडान भरेर श्रेय लिने सम्भावनाको प्रतिस्पर्धा हुने तथा यसले अन्तर्राष्ट्रिय महत्त्व राख्ने प्राधिकरणका विश्वका ठूला एयरलाइन्स विश्वको नम्बर एक एयरलाइन्स कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘रिकनाइज’ गर्नु नै आफैमा रणनीतिक रूपमा ठूलो महत्त्व रहन्छ,’ सूचना अधिकारी भूलले भने, ‘यसले भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने वातावरण सिर्जना हुन्छ ।’ कतारले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्नेछ । ३० नोभेम्बरसम्म भैरहवाका लागि कतार एयरवेजको दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ । विमानस्थल मर्मत सुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक चार उडान भर्दै आएको थियो । योसहित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या पाँच पुगेको छ । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान भइरहेको छ । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजीरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् । गौतमबुद्ध विमानस्थलबाट पहिलो पटक यही कात्तिक १४ गते एकै दिन तीनवटा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको थियो । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । यस्तै, फलाई दुबईले कात्तिक २४ गतेदेखि भैरहवा विमानस्थलमा उडान सुरु गरेको थियो । हप्ताको सातै दिन फलाई दुबईले दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान सञ्चालन गरिरहेको छ । विसं २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरूप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको विमानस्थलले जनाएको छ । टीआइएको ‘ट्याक्सी वे’ निर्माण धमाधम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को स्तरोन्नतिको क्रममा धावनमार्गसँगै समानान्तर हुनेगरी ट्याक्सी वे निर्माणको काम धमाधम भइरहेको विमानस्थलले जनाएको छ । राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल विस्तारको काम भइरहेको छ । प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काठमाडौं विमानस्थलको मर्मत र विस्तारको काम सुरु गरेको थियो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिन माग
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरूले प्रतिक्रिया दिएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान सुरु गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरूपमा सञ्चालन हुन सकेको थिएन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रूपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै उद्योगी व्यवसायीहरू उत्साहित छन् । विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आउन नसक्दा अर्बौंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरूलाई थोरै भएपनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरूले राज्यले नीतिगत रूपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरूको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ । उनीहरूले बहाना गर्ने नभइ अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । जजिरा, थाई र एयर एशियाले विमानस्थलबाट उडान नै सुरु गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको बताए । उनले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको बताउँदै काठमाडौंमाको विमानस्थल विस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको उल्लेख गरे । यस्तै, उनले पर्यटक आगमनको सिजनको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौं आउने पर्यटकमा कमी देखिएको बताए । पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल विस्तार गर्न व्यवसायीहरुले माग गरेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्दा नयाँ अवसरहरू सिर्जना हुने उनकाे भनाइ छ । उनले भैरहवा, बुटवल क्षेत्रका होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएपनि विमानस्थल सञ्चालनमा आउन नसक्दा अर्बाैंको लगानी डुब्ने अवस्थामा रहेको बताए । भैरहवाबाट दीर्घकालीन अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक रहेको बताए । भैरहवा अन्तर्राष्ट्रिय उडानले पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सदुपयोग हुने जानकारी दिए । यस्तै, उनले बुटवल र पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा रहेको बताए । कृषि उत्पादन बिक्री लगायत धेरै क्षेत्रमा राम्रो हुने भन्दै निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको बताए । सरकारले सहुलियत, सुविधा र पूर्वाधारहरु तयार बनाउन सके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटन प्रवर्द्दनमा ठूलो योगदान गर्ने उनले उल्लेख गरे । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने माग उनले राखे । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीको लागि १० घण्टा बन्दा गर्दा अन्तर्राष्ट्रिय उडानहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न थाई, एयर एशिया र जजिरा तीन वायुसेवा कम्पनीहरु उडान सुरु गरेका छन् । उद्योगी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने काम भएको उल्लेख गरे । थाई एयर एशियाले उडान सुरु गरेको भन्दै गौतमबुद्धको जन्मभूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा राखे । यस्तै, उनले थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट सुरु गर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय सबै उडान काठमाडौंबाट हुँदा ठूलो चाप परिरहेको भन्दै केही उडान पोखरा र भैरहवाबाट गर्नुपर्नेमा जोड दिए । बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बिनी पर्यटकको हब बन्नसक्ने बताए ।