गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल, आरएनपी-एआर प्रणालीको कार्यान्वयन

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । ‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार पारेर प्राधिकरण र सम्बद्ध सबै निकायमार्फत फहल गरिरहेका छौँ,’ उनले भने, ‘विमानस्थल सञ्चालनको सुरुवाती चरणमा एयरलाइन्सलाई आकर्षित गर्न विभिन्न प्रोत्साहन कार्यक्रम लागु गरिएका थिए ।’ महाप्रबन्धक तिवारीका अनुसार यात्रु भाडादर प्रतिस्पर्धी बनाउँदै विमानस्थलको बजार प्रवर्द्धन र गन्तव्य प्रवर्द्धनमा जोड दिइएको छ । साथै, यात्रु सुविधाका लागि श्रम, मेडिकल, तथा भिसा प्रक्रिया सहज बनाउने पहल भइरहेको छ । उनले सबै पक्षबीच बलियो सहकार्य गरी ‘समर सेड्युल’लाई निरन्तरता दिने र विमानस्थललाई विश्वसनीय बनाउने दिशामा पहल गर्नुपर्ने आवश्यकता औँल्याए । सरकारले विमानस्थलको दिगो सञ्चालन सुनिश्चितताका लागि विभिन्न पहलकदमी लिएको छ । श्रम स्वीकृति तथा मेडिकल परीक्षण भैरहवाबाटै गरिने, भिसा सेन्टरको व्यवस्था गरिने, नेपाल नागरिक उड्डयन प्राधिकरणले उपयुक्त व्यापार रणनीति लागू गर्नेलगायत मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । यसैबीच गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन सुनिश्चित गर्न यही चैत्र ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरोकारवालासँग छलफल गरेका छन् । आरएनपी-एआर प्रणालीको कार्यान्वयन विगतमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) को अभावमा खराब मौसमका कारण केही उडान स्थगित गर्नुपरेको थियो । उक्त समस्याको समाधानस्वरूप भू-उपग्रहमा आधारित ‘रिक्वार्ड नभिगेशन परफर्मेन्स-अथोराइजेशन रिक्वार्ड’ (आरएनपी-एआर) अवतरण प्रणालीको प्रस्ताव गरिएको र हाल उक्त प्रणाली कार्यान्वयनमा आइसकेको विमानस्थलले जनाएको छ । अब यस प्रणालीलाई प्रयोग गर्न सक्ने जहाज तथा प्रशिक्षित चालक दल भएको एयरलाइन्सले अवतरण गर्न सहज हुने अपेक्षा गरिएको छ । विमानस्थलको तथ्याङ्कअनुसारअनुसार विसं २०८१ कात्तिकदेखि नियमित उडान पुनःसञ्चालनमा आएपछि यात्रु सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२४ मा कुल आठ हजार १५७ यात्रु, भने सन् २०२५ को मार्च २० सम्म मात्र १३ हजार १८१ यात्रुले यो विमानस्थल प्रयोग गरिसकेका छन् । यो सङ्ख्याले उडान सुधारको संकेत देखिएको विमानस्थलको विश्वास छ ।

नेपाल पर्यटन बोर्डद्वारा म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको यांगुनमा सम्पन्न ‘नेपाल-म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रबर्द्धनमा जोड दिएको छ । नेपाल र म्यानमारबीचको ६५औं कूटनीतिक सम्बन्धको अवसरमा नेपाल पर्यटन बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा मार्च २१ र २२ मा मा सम्पन्‍न ‘नेपाल-म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रवर्द्धनका साथै नेपाली पर्यटन उत्पादन, सूचना प्रविधि समाधान तथा अन्य वस्तुहरू प्रदर्शन गरेको हो । एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० वटा पर्यटन कम्पनीहरूको सहभागिता रहेको थियो । नेपालको तर्फबाट बौद्ध पर्यटन प्रवर्द्धनमा विशेष जोड दिँदै म्यानमारका पर्यटकलाई नेपालमा रहेको नयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा हुने उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको हो । यसका साथै, म्यानमारलाई बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रको विकासका लागि सहयोगी बनाउन नेपाली सूचना प्रविधि क्षेत्रलाई प्रस्तुत गरिएको थियो। कार्यक्रमको संयुक्त रूपमा म्यानमारका संघीय मन्त्री यू टुन ओन, म्यानमारका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शिव अग्रवाल, र म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष यू ए विनले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा यांगुन क्षेत्रका मुख्यमन्त्री यू सो थिन, सरकारी अधिकारीहरू, दुवै देशका व्यवसायिक प्रतिनिधिहरू, म्यानमारस्थित नेपाली समुदाय तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । संघीय मन्त्री यू टुन ओनले आफ्नो सम्बोधनमा नेपाल र म्यानमारबीचको व्यापारिक सम्बन्धलाई मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले दुवै देशका सरकार र निजी क्षेत्रबीच सहकार्य गर्दै पर्यटन विकास, आपसी व्यापार मेला आयोजना, र मानव संसाधन विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमकै बीच नेपाल पर्यटन बोर्ड र म्यानमार टुरिज्म फेडरेशनले आयोजना गरको संयुक्त बैठकमा नेपाल र म्यानमारका पर्यटन प्रतिनिधिहरूबीच सहकार्यलाई बलियो बनाउने विषयमा छलफल भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल दूतावासले कार्यक्रमको दोस्रो दिन नेपाली परिकारहरू जस्तै मोमो, सेलरोटी, आलुको अचार र नेपाली चिया समावेश गरिएको ‘लाइभ फुड स्टेशन’ को आयोजना गरेको हो । म्यानमारमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखहरूले समेत नेपाली खानाको स्वाद लिएका छन् । त्यसैगरी नेपाल पर्यटन बोर्डले म्यानमारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै बौद्ध पर्यटनलाई प्रोत्साहन गर्न र सूचना प्रविधि क्षेत्रमा सम्भाव्यता खोजी गर्न संयुक्त पहल गरिने प्रतिबद्धता जनाएको छ ।

प्रयोगमा आउन नसकेपछि तारागाउँ रिजेन्सी होटल्सको क्यासिनो बिक्रीमा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स (होटल हायात रिजेन्सी)ले क्यासिनोका सामान बिक्रीमा राखेको छ । तारागाउँ रिजेन्सी होटल्समा रहेको क्यासिनो स्लट मेसिन प्रयोगमा आउन नसकेकाले बिक्रीमा राखेको जनाएको छ । कम्पनीका अनुसार उक्त क्यासिनोको स्टल मेसिन स्क्र्यापको रुपमा विक्रीमा राखिएको हो । स्क्र्याप सामानहरुको खरिद गर्न इच्छुक खरिदकर्ताहरुले १५ दिनभित्र खरिद प्रस्ताव पेस गर्न आग्रह गरेको छ । आवेदन दिनका लागि तारागाउँ रिजेन्सी होटल्सको बौद्द, स्थित रजिष्ट्रड कार्यालमा सम्पर्क गर्नुपर्नेछ । साथै खरिद प्रस्ताव उपर अन्तिम निर्णय गर्ने अधिकार कम्पनीको रहने कम्पनीले जनाएको छ ।