न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरराष्ट्रिय उडानतर्फका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएका छन् । बाक्लो तुँवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एयरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । जजिरा एयर, एयर इन्डिया र फ्लाइ दुवईका विमान डाइभर्ट भएको उनले बताए । जजिरा एयरवेज र एयर इन्डियाका दुई विमान भारतको बनारस डाइभर्ट भए भने फ्लाइ दुवईको विमान भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा डाइभर्ट भएर अवतरण भएको प्रवक्ता शेर्पाले बताए । अन्य उडान भने केहीबेरको होल्डपछि अवतरण भएको जनाइएको छ । ‘आज बिहान एक हजार ६०० मिटर भिजिबिलिटी थियो, एयरलाइन्सको आवश्यक मापदण्ड अनुरुप अवतरणका लागि भिजिबिलिटी नपुगेकाले विमान डाइभर्ट भएका थिए’, ‘अहिले भिजिबिलिटी बढेर तीन हजार मिटर पुगेको छ, धुलो र तुँवालोका कारण विमान अवतरणमा समस्या भएको हो ।’ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र सो मौसमी प्रणालीको प्रभावले  कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रेसुङ्गा विमानस्थलबाट ३ महिनापछि पुनः उडान सुरु, हप्तामा दुई पटक उडान गर्ने

काठमाडौं । तीन महिनाको अवरोधपछि रेसुङ्गा विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन भएको छ। नेपाल एयरलाइन्सको नियमित उडान अवरुद्ध भएपछि गत पुस ४ गतेदेखि विमानस्थल प्रयोगविहीन बनेको थियो । सोमबारदेखि पुनः उडान सुरु भएको स्टेशन प्रमुख सुमन थापाले जानकारी दिएका छन् । सोमबार काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना यात्रु तथा रेसुङ्गाबाट काठमाडौं जाने ४ जना यात्रुले सेवा लिएका थिए । नेपाल एयरलाइन्सको विमान मर्मतका कारण नियमित उडान रोकिएको थियो । यसअघि साताको एक दिन (शुक्रबार) मात्रै उडान हुँदै आएकोमा यात्रुहरूको चाप बढेसँगै साप्ताहिक तीन दिन उडानको अनुमति प्राप्त भएको थियो । वर्षायामका कारण पछिल्लो समय पुनः साप्ताहिक एक दिन मात्र उडान भैरहेको थियो । हाल पुनः यात्रुहरूको चापलाई ध्यानमा राख्दै हप्ताको दुई दिन सोमबार र बुधबार उडान गर्ने कार्यतालिका निर्धारण गरिएको छ। गुल्मीबाट काठमाडौं जाने यात्रुहरूले ७ हजार ३०० रुपैयाँ भाडा तिर्नुपर्नेछ भने काठमाडौंबाट गुल्मी आउने यात्रुहरूले ७ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । काठमाडौंबाट रेसुङ्गाका लागि बिहान ६:३० बजे उडान हुनेछ भने रेसुङ्गाबाट काठमाडौंका लागि बिहान ७:४५ बजे उडान हुनेछ । रेसुङ्गा विमानस्थल पुनः सञ्चालनमा आएसँगै जिल्लाको पर्यटन क्षेत्रले नयाँ गति लिने अपेक्षा गरिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटकहरू गुल्मीका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरू रेसुङ्गा, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल, र रुरुक्षेत्र घुम्न आउन थालेका छन् । यस सेवाले विशेष गरी वृद्ध, बिरामी, सुत्केरी तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज हवाई यात्रा उपलब्ध गराउने विश्वास गरिएको छ।

कञ्चनजङ्घा आरोहणको ७० वर्ष पूरा, शेर्पा गाईड, अनुसन्धनकर्ता र पर्वतीय अभियान्तालाई सम्मान गरिने

काठमाडौं । कञ्चनजङ्घा हिमाल हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले तीन दिने विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले उक्त कार्यक्रमको नाम ७०औँ वार्षिक उत्सव (के७०) दिएको छ । आयोजकका अनुसार उक्त कार्यक्रम आगामी वैशाख २०८२ साल वैशाख ५ देखि ७ गते (अप्रिल १८ देखि २०) ताप्लेजुङ्गको फक्ताङ्लुङ गाउँपालिका–५, लेलेपमा हुनेछ । कार्यक्रममा समृद्ध पहाड र नेपाल पर्वतारोहण संघलले समेत सहकार्य गर्नेछन् । आरोहणको ७० वर्ष पूरा भएको अवसरमा इतिहासमा विशेष योगदान पुर्‍याएका पर्वतारोहीहरू, शेर्पा गाईड, अनुसन्धनकर्ता र पर्वतीय अभियान्ताहरुलाई सम्मान गरिनेछ । यस कार्यक्रमले स्थानीय समुदाय, विभिन्न संघसंस्था र विभिन्न सरोकारवाला निकायलाई एकसाथ जोडिन मद्दत पुग्ने आयोजकले जनाएको छ । पर्वतीय पर्यटनको प्रवद्र्धन, हिमालको संरक्षण, ऐतिहासिक उपलब्धिको कदर, स्थानीय समुदायको समृद्धि, र दिगो पर्वतारोहण प्रचार–प्रसार एवं रणनीतिक विकास जस्ता उद्देश्य यो कार्यक्रमको रहेको समृद्ध पहाडका प्रमुख कार्यकारी अधिकृत सञ्जिव न्यौपानेले बताए । उनका अनुसार यस उत्सवले कञ्चनजङ्घा क्षेत्रको अलौकिक सुन्दरता, जैविक विविधता एवं पर्वतीय पर्यटनको सम्भावनालाई विश्व समुदाय समक्ष पुर्‍याउन मद्दत पुग्नेछ । हिमाली परिस्थिति प्रणालीको संरक्षण, जलवायु परिवर्तनले कञ्चनजङ्घा हिमाल र आसपासका क्षेत्रहरूमा पारेका असरबारे सचेतना जगाउने, शेर्पा, लिम्बू, राई लगायतका स्थानीय समुदायको पर्वतीय पर्यटनमा योगदानलाई सम्मान गरी स्थानीय परम्परा एवं साँस्कृतिक महत्वलाई प्रचार–प्रसार गरिने उनले बताए । कञ्चनजङ्घा आरोहणका विविध आयामहरुको नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी अन्तर्राष्ट्रिय पर्वतारोहीहरुका लागि सुरक्षित, दिगो, उत्तरदायी र आकर्षक बनाउने रहेको आयोजकको दाबी छ । न्यौपानेका अनुसार अप्रिल २४ मा काठमाडौंमा विशेष कार्यक्रम पनि आयोजना गरिनेछ । उक्त कार्यक्रममा प्रथम नेपाली पुरुष आरोही आङ फुर्बा शेर्पा, प्रथम नेपाली महिला आरोही निमा जाङमु शेर्पा, मिङ्मा डेभिड शेर्पा, अभिनेत्री तथा समाजसेवी मनिषा कोइरालगायतको उपस्थिति रहनेछ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल सरकारका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, पर्वतारोहीहरू, सञ्चारमाध्यमहरू, तथा निजी क्षेत्रका साझेदारहरूको सहभागिता रहनेछ । त्यसैगरी कार्यक्रममा ऐतिहासिक आरोहण तथा संरक्षण प्रयासहरूको दुर्लभ तस्बिरहरू प्रदर्शन गरिने कार्यक्रम रहेको छ । सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ । जुन विश्वकै तेस्रो अग्लो हिमाल हो ।