नागरिक उड्डयन प्राधिकरणले माग्यो ११६ जना कर्मचारी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ११६ जना कर्मचारी मागेको छ । प्राधिकरणलले सहायकदेखि प्रबन्धकसम्मका पदका लागि कर्मचारीहरू मागेको हो । प्राधिकरणले प्रबन्धक पदमा १ जना, उपप्रबन्धक पदमा ४ जना, वरिष्ठ अधिकृत पदमा ५६ जना, अधिकृत पदमा ५ जना, वरिष्ठ सहायक पदमा १८ जना, सहायक पदमा ३२ जना कर्मचारी मागेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २०८२ बैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर बैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।
होटल व्यवसायी महासंघको वार्षिक साधारणसभा चैत्र १६ गते, करिब ३ सय प्रतिनिधिको सहभागी रहने
काठमाडौं । होटल व्यवसायी महासंघको १२औं वार्षिक साधारण सभा यही चैत्र १६ गते शनिबार काठमाडौंमा हुने भएको छ । बिहीबार महासंघले पत्रकार सम्मेलनको आयोजना गरी वार्षिक साधरणसभा हुनेबारे जानकारी गराएको हो । महासंघका अनुसार साधारणसभा होटल क्रिष्टल पशुपति, गौशला (पिंगलास्थान) मा हुने भएको छ । साधारणसभामा प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थिति रहने महासंघले जनाएको छ। त्यस्तै, बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, पर्यटन सचिव विनाेदप्रकाश सिंह, काठमाडौं महानगरपालीकाका उप-मेयर सुनिता डँगाेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठलगायत उपस्थिति रहने छ । साथै साधारण सभामा देशैभरिका आवद्ध प्रदेश संघहरू, ५७ जिल्लाका ९७ संघहरूबाट करिब ३ सय प्रतिनिधिको सहभागी रहने छ । साधारणसभा अघि अर्थात चैत्र १५ गते महासंघको सचिवालय र केन्द्रीय कार्यसमिति बैठक आयोजना हुने महासंघका अध्यक्ष दिनेशकुमार चुकेले बताए । पर्यटनसँग सम्बन्धित मागहरू सम्बोधन नभइरहेको अवस्थामा ती माग साधारणसभामा उठाउने कार्यक्रम रहेको अध्यक्ष चुकेले जानकारी दिए । यसैगरी, पर्यटन ऐन, २०३५ लाई परिमार्जन गर्नेसम्बन्धमा पर्यटन मन्त्री, सचिव र सराकारवालसँग छलफल गर्ने कार्यक्रम छ । साधारणसभाले देशैभरका आवद्ध विभिन्न पदाधिकारी उपस्थित हुने भएकाले आन्तारिक पर्यटन प्रवर्द्धनको लागि के कस्ता कार्यक्रम लिएर अगाडि बढाउने, कर्मचारी र व्यवसायीबीच नै तालिमलाई प्रभावकारी बनाउने र होटल व्यवसायले स्थानीय उत्पादनलाई कसरी प्रवद्र्ध बढाउने विषयमा साधारणसभा केन्द्रीत हुने अध्यक्ष चुकले जानकारी दिए । ५ खर्बभन्दा बढीको लगानी, ६ खर्बको कारोबार महासंघका अनुसार होटल व्यवसायीहरूले यो क्षेत्रमा करिब ५ खर्ब लगानी गरेका छन् भने बैंक तथा सहकारीहरूबाट २ खर्ब रुपैयाँ कर्जा कारोबार गरेका छन् । होटल व्यवसायीहरू पारिवारिक रूपमा आफै होटलमा संलग्न छन् भने १३ लाख ५० हजारले रोजगारी पाएको महासंघले जनाएको छ । त्यसैगरी, तलब तथा सुविधामा २० अर्व रुपैयाँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा पाइरहेका छन् । होटल क्षेत्रले वार्षिक ६ खर्ब ६० करोड कारोबार गर्दै आएकोमा नेपाल सरकारलाई प्रत्यक्ष अप्रत्यक्ष कर वापत ६० अर्ब बुभाउँदै आएको महासंघले जनाएको छ । नेपालको अर्थतनत्रमा होटल क्षेत्रले महत्वपूर्ण योगदान पुर्याइरहेको आइरहेको भएपनि यस क्षेत्रले राखेका मागहरूको भने सरकारले वेवास्ता गर्दै आइरहेको संघका अध्यक्ष चुकेले बताए । उनले भने, ‘हामीले पटक पटक सरकारसँग आवश्यक सल्लाहसहित हाम्रा मागहरू राख्दै आएका छौं । आवश्यक सहकार्य तथा प्रस्तुत गरिएको सुझाव, सल्लाहहरूलाई कार्यान्वयन पक्षमा सरकारले वेवस्ता गर्दै आएको छ । हामीले साधारणसभामा यो क्षेत्रसँग सम्बन्धित मागहरू उठाएर सरकारलाई घच्घच्याउने प्रयास गर्दैछौं ।’ महासंघका अनुसार पर्यटन ऐन, पर्यटन नीति व्यवसायीमूखी नभएको, वार्षिक वजेटहरु पर्यटन विकास विनियोजित रूपमा रहेता पनि महासंघको धारणाअनुरूप पर्यटन प्रवद्र्धनमा सही बजेट नभएको हुँदा बजेट व्यवस्थापन र तालिमहरुको व्यवस्था गर्न माग गरेको छ। होटल महासंघबारे होटल व्यवसायी महासंघ देशैभरि छरिएर रहेका साना, मझौला र ठुला होटल, रेष्टुरेण्ट, व्याड्केट, रिसोर्ट, लाउन्ज एवम् क्याफेलगायत फुड एण्ड अकोमोडेसन सेवाको क्षेत्रमा व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुको छाता संस्था हो । यो गैरनाफामूलक राष्ट्रिय स्तरको सामाजिक संस्था पनि हो । विंस २०६८ सालमा स्थापना भएको यस संस्थाले वैधानिकताको साथ आफ्नो विधानले निर्दिष्ठ गरेको नेपालको पर्यटन क्षेत्र, त्यसमा पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीको हकहित संरक्षणका लागि विभिन्न निकायहरूसँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको संघले जनाएको छ । देशैभरका ७७ वटै जिल्लामा रहेका करिब २ लाख भन्दा धेरै होटल तथा रेष्टुरेन्ट व्यवसारीहरूको छाता संस्थाले संघीय सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न मन्त्रालयहरू, प्रदेश सरकार एवम् पर्यटन मन्त्रालय, स्थानीय सरकार, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, आन्तरिक तथा बाह्य पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै आइरहेको छ। साथै संघले व्यवसायीको हकहित संरक्षण, रोजगारी सिर्जना, गरिबी निवारण तथा वैदेशिक मुद्रा आर्जनको प्रमुख क्षेत्रको रुपमासम्बद्ध निकायहरूसँगको साथ, सहयोग, समर्थन र सहजीकरण गर्दै आइरहेको अध्यक्ष चुकले बताए । देशैभर एक स्थानबाट अर्को स्थानमा हवाईस्थल मार्गबाट दैनिक ४/५ लाख यात्रुहरू आउने जाने गरेको अवस्थामा महासंघसँग आवद्ध हरेक स्तरको होटलहरूले पर्यटकलाई सेवा दिइरहेको छ । व्यावसायीक तथा पर्यटन प्रवर्द्धनको हिसावले महासंघको होटल, रेष्टुरेण्टहरूले तराई, पहाड, हिमाली क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेको धारणा राखेको छ ।
मनलाग्दी पार्किङ शुल्क असुल्दै क्यान, एक सवारी पार्किङ गर्न साढे तीन लाख तिर्नुपर्ने बाध्यता
काठमाडौं । हवाइजहाज (प्लेन) पक्कै पनि चढ्नु भएको होला । जहाज चढ्नुअघि यात्रुकक्षबाट निस्किँदा जहाजसम्म पुर्याउन बसहरू पार्किङ्गमा स्ट्याण्ड गरिएका हुन्छन् । करिब एक किलोमिटरको बसको यात्रापछि प्लेन भएको ठाउँसम्म पुगिन्छ । साथै प्लेनबाट ओर्लिएपछि बसको यात्रा गरेर अराइभल (बोर्डिङ्ग पास) हुँदै विमानस्थलबाट बाहिरिनुपर्ने हुन्छ । तपाईंलाई थाहा छ ? जहाज चढेर हवाइ यात्रा गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)ले यात्रु सेवा शुल्कबापत प्रतियात्रु ५ सय रुपैयाँ लिने गरेको छ । यात्रुहरूलाई विमानस्थलले सेवा शुल्कबापत रकम असुल गर्छ भन्ने विषय जानकारी नहुन सक्छ । किनभने विमानस्थल कार्यालयले त्यो रकम यात्रुबाट प्रत्यक्ष नभई एयरलाइन्स कम्पनीबाट लिने गर्छ । तर, यात्रुहरूलाई विमानस्थल कार्यालयले दिनुपर्ने सेवा एयरलाइन्स कम्पनी आफैले दिनुपरेको दाबी गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुहरूलाई जहाजसम्म पुर्याउन र जहाजबाट ओर्लिएपछि बाहिर ल्याउन सम्बन्धित एयरलाइन्स कम्पनीहरूले बसहरू सञ्चालन गरेका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार बुद्ध एयरलाइन्ससँग विमानस्थलभित्र यात्रु ओहोरदोहोरका लागि बस, मिनी बस, यात्रुहरूको सामान बोक्ने भ्यान, ट्याक्टर गरी ३५ वटा सवारीसाधन सञ्चालनमा छन् । यस्तै, यति एयरलाइन्ससँग १४ वटा, तारा एयरसँग ४ वटा र श्री एयरसँग १५ वटा सवारीसाधन छन् । विमानस्थलभित्र यी सवारीसाधनहरू पार्किङ्ग गरेबापत एयरलाइन्स कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरलाई दैनिक पार्किङ्ग शुल्क तिर्नुपर्ने हुन्छ । एकातिर यात्रु सेवा शुल्कबापत विमानस्थल कार्यालयले एयरलाइन्सबाट प्रतियात्रु ५ सय रुपैयाँ उठाउँछ भने अर्काेतर्फ यात्रुलाई सेवा दिइरहेका ती सवारीसाधन पार्किङ्ग गरेबापत छुट्टै शुल्क लिइरहेको छ । विमानस्थलभित्र सञ्चालन हुने सवारीसाधन पार्किङ्ग गरेबापत विमानस्थल कार्यालयले प्रतिबस ३ लाख ५० हजार रुपैयाँ वार्षिक शुल्क उठाउँदै आएको एक एयरलाइन्स कम्पनीका उच्च अधिकारीले बताए । सो मूल्यका आधारमा विमानस्थलभित्र सवारी पार्किङ्ग गरेबापत दैनिक ९६० रुपैयाँभन्दा बढी तिर्नुपरेको उनको भनाइ छ । विगतमा वार्षिक प्रतिसवारी पार्किङ्ग शुल्क ४४ हजार रुपैयाँ मात्रै थियो । तर, विमानस्थल सेवा दस्तुर नियमावली संशोधन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफूखुसी पार्किङ्ग शुल्क निर्धारण गर्दै आएको ती अधिकारीकाे गुनासाे छ । ‘विगतमा विमानस्थल सेवा दस्तुर नियमावलीको अनुसूचीमा राखेर शुल्क निर्धारण हुन्थ्यो । तर, अहिले अनुसूचीबाट हटाएर पार्किङ शुल्क क्यानले निर्धारण गर्दै आएको छ । शुल्क निर्धारणको अधिकार क्यानले पाएपछि आफूखुसी पार्किङ्ग शुल्क निर्धारण गर्दैछ,’ उनले भने, ‘नियमावलीमै तोकेको भए निश्चित दर हुन्थ्यो । तर, क्यानले आफूखुसी निर्धारण गर्दा महँगो पर्न गएको छ ।’ त्रिभुवन विमानस्थलको बाह्य क्षेत्रको पार्किङ्ग शुल्क उठाउन निजी कम्पनीलाई ठेक्का लगाएर भाडामा दिने गरिएको छ भने आन्तरिक पार्किङ्ग शुल्क भने विमानस्थल कार्यालय आफैले उठाउँछ । एयरलाइन्स कम्पनीहरूले पार्किङ्ग शुल्क बापतको रकम टीआइएको बैंक खातामा पठाउने गरेका छन् । त्यो शुल्क तिरेपछि मात्रै गाडी पार्किङ राख्न स्टिकर दिने गरेको उनले जानकारी दिए । ‘गाडी नभएर काम छैन । किनभने यात्रुकक्षबाट जहाजसम्म र जहाजबाट यात्रु ओर्लिएदेखि बोर्डिङ्ग पाससम्मको दूरी झण्डै १ किलोमिटर छ । यति धेरै टाढा लगेर यात्रुहरूलाई छोड्नुपर्ने हुन्छ । विमानस्थलले दिनुपर्ने सेवा एयरलाइन्स कम्पनीहरूले दिइरहेका छन् । यसमा पनि धेरै शुल्क लगाएको छ,’ उनले भने, ‘विमानस्थलले यात्रु सेवा शुल्क बापत प्रतियात्रु ५ सय रुपैयाँ लिन्छ । जुन विगतको तुलनामा ८ सय गुणा बढी हो ।’ यस्तो छ पार्किङ्ग शुल्क विगतमा विमानस्थलको पार्किङ्गमा मोटरसाइकल, स्कुटर, रिक्सा पार्किङ्ग गर्दा प्रतिघण्टा ५ रुपैयाँ र प्रतिदिन ३० रुपैयाँ तोकेको थियो । कार, जीप, टेम्पोको प्रतिघण्टा २० रुपैयाँ, प्रतिदिन १२० रुपैयाँ र प्रतिमहिना ३ हजार रुपैयाँ पार्किङ्ग शुल्क निर्धारण गरेको थियो । लिमोजिनको प्रतिघण्टा २० रुपैयाँ, प्रतिदिन १२० रुपैयाँ र प्रतिमहिना ३ हजार रुपैयाँ, बस, ट्रक (गह्रौं सवारीसाधन)को प्रतिघण्टा ५० रुपैयाँ पार्किङ्ग शुल्क निर्धारण गरेको थियो । हल्का सवारीसाधन (मिनीबस, माइक्रो बस)को प्रतिघण्टा ३० रुपैयाँ, प्रतिदिन १५० रुपैयाँ, प्रतिमहिना १ हजार ५ सय रुपैयाँ र प्रतितीन महिना ४ हजार पार्किङ्ग शुल्क निर्धारण गरेको थियो । तर, विमानस्थलले उक्त पार्किङ्ग शुल्क बढाएर हाल मोटरसाइकल, स्कुटर, रिक्साको प्रतिघण्टा ४० रुपैयाँ र प्रतिदिन २४० रुपैयाँ, कार, जीप, लिमोजिन, टेम्पोको प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ शुल्क तोकेको छ । यस्तै, हल्का सवारीसाधन मिनिबस, माइक्रोबसको प्रतिघण्टा १ सय रुपैयाँ र प्रतिदिन ६ सय रुपैयाँ, बस ट्रक (गह्रौं सवारी साधन)को प्रतिघण्टा १५० रुपैयाँ र प्रतिदिन ९ सय रुपैयाँ पार्किङ्ग शुल्क निर्धारण गरेको छ । ‘बाहिरी पार्किङ्ग गरेपछि एयरलाइन्स कम्पनीहरूले भाडा तिर्नै पर्छ । तर, भित्र पनि तिर्नुपर्ने भयो । विगतको तुलनामा धेरै महँगो बनाइएको छ । साथै भित्र चल्ने गाडीहरूको हकमा पनि यही पार्किङ्ग शुल्कदर तोकिएको छ । भित्र चल्ने सवारीहरूका लागि छुट्टै निर्णय गर्नुपर्नेमा बाहिरको पार्किङ्गको लागि गरिएको निर्णय नै भित्र पनि लागू गरिएको छ,’ उनले भने । उनका अनुसार विमानस्थलभित्र काम गर्न आउने एयरलाइन्सका कर्मचारीहरू समेत चर्काे पार्किङ्ग शुल्कमा पर्ने गरेका छन् । सवारीसाधन पार्किङ्ग गर्ने कर्मचारीहरूले पार्किङ्गमा ठूलो रकम खर्च गर्नु परेको उनको भनाइ छ । ‘एयरलाइन्स कम्पनीले सवारीको प्रवेशबापत छुट्टै शुल्क उठाउने गरेको छ । यो लुट नै हो । यात्रु सेवा शुल्क विमानस्थलले लिन्छ । यात्रुलाई सेवा भने एयरलाइन्स कम्पनीले दिन्छ । यो शुल्क बढी भएका कारण हवाई टिकटको भाडा पनि महँगो भएको छ । विमानस्थलले जति शुल्क बढाउँछ त्यति नै हवाई टिकट महँगो हुँदै जान्छ,’ उनले भने, ‘विमानस्थलले लिएको सेवा शुल्क टिकटमा जोडिन्छ । विमानस्थल सेवा शुल्क प्रतियात्रु ५ सय रुपैयाँ, पार्किङ्ग शुल्कसहित सबै सेवा शुल्क जोडेर टिकटको मूल्य निर्धारण गर्छाैं । महिना बित्नेबित्तिकै हामीले विमानस्थललाई त्यो रकम बुझाउँछाैं ।’ विमानस्थल कार्यालयका सूचना अधिकारी तेजबहादुर पाैड्यालले नियमावलीमा भएको व्यवस्था बमोजिम नै पार्किङ्ग शुल्क र यात्रु सेवा शुल्क लिने काम भइरहेकाे बताए । उनका अनुसार एयरलाइन्स कम्पनी र बाह्य लागि छुट्टाछुट्टै पार्किङ्ग शुल्क नतोकी एउटै निर्धारण गरिएको छ । यदि एयरलाइन्स कम्पनीका कर्मचारीहरूलाई पार्किङ्ग शुल्क महँगो लागेमा कम्पनीले बेहोर्नुपर्ने उनको तर्क छ । ‘यात्रु सेवा शुल्क नै क्यानको मुख्य आम्दानी हो । यात्रु विमानस्थलभित्र प्रवेश गरेपछि विभिन्न सेवा सुविधा प्रयोग गर्नुहुन्छ । गेटबाट छिर्नेबित्तिकै जेजति संरचना वा सेवा सुविधा छन् यात्रुहरूले उपभोग गर्नुहुन्छ । जस्तो ट्रली, भित्र बस्ने कुर्सी, एसी, पानी, वाइफाइ, लगायतको सुविधा क्यानले दिने हो,’ उनले भने, ‘एयरलाइन्स कम्पनीले जहाज उडाएर यात्रु बोक्ने मात्रै हो । विमानस्थलको सबै व्यवस्थापन क्यानले गर्छ । अन्तर्राष्ट्रिय यात्रुको सेवा शुल्क ३ हजार रुपैयाँ र आन्तरिक यात्रुको हकमा ५ सय रुपैयाँ हो । काठमाडौं बाहेकका एयरपोर्टमा यात्रु सेवा शुल्क अझै कम हुन सक्छ ।’ यात्रु सेवा शुल्क ५० रुपैयाँबाट सुरु भएर ५ सय रुपैयाँ पुगेको हो । तर, विगत ३/४ वर्षदेखि भने उक्त सेवा शुल्क नबढेको उनले बताए । अब क्यानले यात्रु सेवा शुल्क बढाउन सक्ने सम्भावना रहेकाे उनकाे भनाइ छ । ‘यात्रुको सुविधाका एयरलाइन्स कम्पनीले केही गर्दैनन् । एयरलाइन्स कम्पनीले टिकट चेक गरेर उडाउने मात्रै हो । बाँकी रहेको काम क्यानले गर्छ । यदि दोहोरो मारमा परेको भए क्यानमा गुनासो गर्न सक्नुहुन्छ,’ उनले भने, ‘विमानस्थलभित्र सवारी साधन सञ्चालन गरेपछि पार्किङ्गको शुल्क तिर्नुपर्छ । तर, सेवा शुल्कका कारण हवाई टिकट महँगो भयो भन्नु कुतर्क हो । जस्तो काठमाडौंबाट विराटनगरसम्मको हवाइ टिकटको भाडा ५ हजारदेखि साढे ९ हजार रुपैयाँसम्म छ । यात्रु प्याक भएको बेला ९ हजार भन्दा बढी लिने, अनि यात्रु नपाउँदा ५ हजार रुपैयाँ छ । यसमा सेवा शुल्कका असर त कहीँ देखिँदैन ।’ यदि सेवा शुल्कका कारण हवाइ टिकट महँगो भएको हो भने भैरहवा विमानस्थलमा छुट दिँदा किन यात्रु जानु भएन ? भन्ने उनले प्रतिपश्न गरे ।