दुई दशक बढी ठमेलको पर्यटनमा सेवा गरेका पुन्यरामको महासचिवमा उम्मेदवारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को महासचिवमा पून्यराम लगेजुले उम्मेदवारी दिएका छन् । असार अन्तिम साता हुने परिषद्को साधारणसभा एवं अधिवेशनका लागि वर्तमान सचिव लगेजुले महासचिव पदमा उम्मेदवारी दिएका हुन् । 

परिषदमा एक कार्यकाल सचिव र दुई कार्यकाल कोषाध्यक्षका रूपमा काम गरिसकेका पून्यरामले आफ्नो महासचिव पदको उम्मेदवारी घोषणा गरेका हुन् । 

करिब २४ वर्षदेखि ठमेलको पर्यटन व्यवसायमा सक्रिय लगेजु परिषद्को नेतृत्वमा रहेर काम गरिसकेका छन् । उनले दुई कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल सचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

यहीँ अनुभव, व्यवसायीबीचको निरन्तर उपस्थिति र नीतिगत पैरवीको पृष्ठभूमिलाई आधार बनाएर उनले महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

ठमेलले पूर्वाधार, सडक व्यवस्थापन, पैदलमैत्री क्षेत्र, सरसफाइ, सुरक्षा र अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । 

रात्रिकालीन अर्थतन्त्रलाई व्यवस्थित बनाउने, पर्यटकमैत्री सेवा विस्तार गर्ने डिजिटल प्रवर्द्धन गर्ने लगेजुले बताए ।

साना तथा मझौला व्यवसायीको संरक्षण, पार्किङ, ट्राफिक व्यवस्थापन, फुटपाथ अतिक्रमण, सडक कलाकार तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन, फोहोर व्यवस्थापन र विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा ठमेललाई थप स्थापित गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

परिषद् केवल औपचारिक संस्था होइन, नीति निर्माणमा प्रभाव पार्ने, सरकारसँग समन्वय गर्ने र व्यवसायीका साझा मुद्दामा परिणाममुखी रूपमा काम गर्ने संस्थाका रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनको बुझाइ छ ।

‘परिषद्को भूमिका छलफल गर्ने मञ्चमा मात्र सीमित हुनु हुँदैन, बरु सरकार, स्थानीय तह, सुरक्षा निकाय र निजी क्षेत्रबीच प्रभावकारी पुलको भूमिका निर्वाह गर्दै ठोस परिणाम निकाल्ने संस्थाका रूपमा स्थापित हुनुपर्छ,’ उनले भने ।

वर्षौंदेखि ठमेलका व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने काममा सक्रिय रहेको लगेजुको भनाइ छ ।

'यहाँको दुःख सुखमा हरपल खडा भएको छु । ठमेलका व्यवसायीका समस्या वर्षौंदेखि बुझ्दै आएको छु । ती समस्या सम्बन्धित निकाय र केन्द्रसम्म पुर्याउने काम निरन्तर गरेको छु । मेरो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षाका लागि होइन, ठमेललाई अझ व्यवस्थित, सुरक्षित, सुन्दर र प्रतिस्पर्धी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका लागि हो,' उनले अगाडि थपे । 

परिषद्ले अब व्यवसायीको अधिकार संरक्षणसँगै नीति निर्माण, पर्यटन प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र अन्तर्राष्ट्रिय बजारमा ठमेलको ब्रान्डलाई थप मजबुत बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने समय आएको उनको भनाइ छ । 

Share News