क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएका हुन् । योसँगै क्यान महासंघले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । पाण्डेले यसअघि क्यान महासंघमा लामो समय विभिन्न भूमिकामा रहेर कार्यसम्पादन गरिसकेका छन् । उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक समेत हुन् । महासंघको १५औँ कार्यसमितिको उपाध्यक्षमा, हर्क बहादुर सेटी, चिरञ्जीवी अधिकारी, नविन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा चन्द्र विलास भुर्तेल र कोषाध्यक्षमा विक्रम सिंह निर्वाचित भएका छन् । सचिवहरूमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, राम किशोर रावल र कर्णराज पनेरु चयन भएका छन् । त्यस्तै कार्यकारिणी सदस्यहरूमा उमेश रघुबंशी, ध्रुवराज शर्मा, केशव प्रसाद भट्टराई, नारायण प्रसाद श्रेष्ठ, ठाकुर कुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दिपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोला, ओमकार बस्नेत, दिनेशराज कार्की, बन्दना शर्मा ज्ञवाली, देवेश प्रसाद लोहनी, सन्तोष कुमार श्रेष्ठ, राजु बानियाँ, मोना न्याछ्यो श्रेष्ठ, राजेश दुगड, गंगा भण्डारी, विकास गुरुङ, विमला राई, धनञ्जय महतो र खड्क बहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै लेखासमितिको संयोजकमा भानुभक्त शर्मा र सदस्यहरूमा सन्तोष ढुंगाना र पूजा अग्रवाल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई सर्वसम्मत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयत्न गरिने बताए । उनले नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन नीतिगत सुधारको खाँचो रहेको र यसका लागि आफूले विशेष पहल गर्ने बताए । उनले भने, ‘नेपालबाट विदेशमा आईटी कम्पनी विस्तार गर्नेदेखि विदेशबाट नेपालमा गुणस्तरीय आईटी परि‍योजना ल्याउन कठिनाइ भइरहेको छ । यहाँका श्रमशक्तिलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्छ । सरकार र सूचना प्रविधिमा संलग्न संघसंस्थासँग समन्वय गरेर मात्रै आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ ।’ त्यस्तै नवनिर्वाचित महासचिव भूर्तेलले क्यान महासंघको कार्यक्षेत्र विस्तार गर्न विशेष ध्यान दिने र संस्थागत सुधारका लागि ठोस रणनीति अपनाएर लक्ष्यहरू हासिल गर्ने प्रतिबद्धता जनाएका छन् । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको छ । सन् २०१५ मा महासंघमा रूपान्तरण भपछि यस संगठनले सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ । त्यस्तै असोसियो, विट्सा जस्ता अन्तर्राष्ट्रिय आईसीटी संस्थामा समेत क्यान आवद्ध छ । क्यानले हरेक वर्ष आयोजना गर्ने ‘क्यान इन्फोटेक’ नेपालकै ठूलो प्रविधि प्रदर्शनी हो ।

माइक्रोसफ्ट, अमेजन, गुगल र मेटाजस्ता ठूला प्राविधिक कम्पनीको आणविक ऊर्जामा ठूलो लगानी किन ?

काठमाडौं । क्लाउड कम्प्युटिङ र कृत्रिम बाैद्धिकता (एआई) लाई ऊर्जा प्रदान गर्ने डाटा सेन्टरहरूले ऊर्जा माग र उत्पादनलाई नयाँ सीमामा पुर्‍याइरहेका छन् । अमेरिकाको ऊर्जा विभागका अनुसार सन् २०५० सम्ममा विश्वव्यापी विद्युत् प्रयोग ७५ प्रतिशतले बढ्न सक्छ, जसमा प्रविधि उद्योगको एआई महत्त्वाकांक्षाहरूले ठूलो भूमिका खेल्नेछन् । एआई र क्लाउड कम्प्युटिङलाई पावर गर्ने डाटा सेन्टरहरू चाँडै नै यति ठूला हुन सक्छन् कि उनीहरूले सम्पूर्ण सहरहरू भन्दा बढी बिजुली प्रयोग गर्न सक्छन् । एआईमा अगाडि बढ्न चाहने कम्पनीहरूले आफ्नो प्रविधि विकास र विस्तार गर्दा उनीहरूको ऊर्जा आवश्यकता र दिगोपन लक्ष्य बीचको असमानता देख्न थालेका छन् । रेडियन्ट एनर्जी ग्रुपका प्रबन्ध निर्देशक मार्क नेल्सनले, ‘एउटा नयाँ डाटा सेन्टरले सिकागोलाई चाहिने जति विद्युत् आवश्यक पर्छ । उनीहरूले आफ्ना ऊर्जा आवश्यकताहरू नबुझी त्यस समस्या समाधान गर्न सक्दैनन् ।’ ‘उनीहरूलाई बिजुली चाहिन्छ नै, २४ घन्टा, ३६५ दिन,’ उनले थपे । नवीकरणीय ऊर्जामा केन्द्रित वर्षौंपछि ठूला प्रविधि कम्पनीहरू अब आणविक ऊर्जामा आकर्षित भएका छन्, जसले धेरै ठूलो ऊर्जा प्रदान गर्न दक्ष र दिगो समाधान प्रदान गर्छ । गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाजस्ता ठूला कम्पनीहरू आणविक ऊर्जा परियोजनाहरू अन्वेषण गर्न वा लगानी गर्न अगाडि आएका छन् । यी डाटा सेन्टर र एआई मोडलहरूको ऊर्जा मागले यी प्रविधि कम्पनीहरूलाई आणविक ऊर्जामा लगानी गर्न प्रेरित गरेको हो । गुगलका ऊर्जा तथा वातावरण निर्देशक माइकल टेरेल भन्छन्, ‘आणविक ऊर्जासँग धेरै फाइदाहरू छन् । यो कार्बन-रहित ऊर्जा स्रोत हो । यो सधैं चलिरहनसक्ने भरपर्दो ऊर्जा हो । र यसले ठूलो आर्थिक प्रभाव पनि पार्छ ।’ पहिले आणविक ऊर्जा प्रतिको डर र त्रुटिपूर्ण सूचनाले यसलाई उपेक्षा गरिएको भए पनि अहिले प्राविधिक क्षेत्रमा लगानीलाई ‘आणविक पुनरुत्थान’ को सुरुवातको रूपमा हेरिएको छ । यो परिवर्तनले अमेरिकामा र विश्वव्यापी रूपमा ऊर्जा रूपान्तरणलाई तीव्र बनाउने सम्भावना छ । पछिल्लो १० वर्षमा डेटा सेन्टरहरूको विद्युत खपत द्रुत रूपमा बढेको छ । विकासकर्ताहरू एआईको आगमनसँगै डेटा सेन्टरहरूको साइज पनि ठूलो हुँदै गएकाले तिनीहरूलाई चलाउन आवश्यक पर्ने ऊर्जा पाउन र तिनीहरूलाई राख्न उपयुक्त जग्गा खोज्न कठिन हुँदै जाने बताउँछन् । डेटा सेन्टरले एक गिगावाट वा सोभन्दा बढी विद्युत माग गर्न सक्ने पनि उनीहरू बताउँछन् । डेटा सेन्टरहरू जसले लाखौं घरपरिवार बराबरको ऊर्जा खपत गर्छन्, भविष्यमा अझ ठूलो भूमिकामा आउनसक्ने प्रक्ष्येपण छ । यो पनि पढौं :  एआई सञ्चालन गर्ने डेटा सेन्टरहरूले सिंगो सहरभन्दा बढी विद्युत् प्रयोग गर्नसक्ने, यस्तो छ योजना

सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममा निरन्तर टेलिकम

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । व्यावसायिक क्रियाकलापहरू सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरू समेत गर्दै आएको छ । हाल कम्पनीले गरेको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका मुख्य कार्यहरू निम्न छन् । हरियाली संरक्षण तथा वृक्षरोपण नेपाल टेलिकमले काठमाडौंको माइतीघरदेखि तीनकुनेसम्मको सडकखण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको थियो । यसअन्तर्गत मौसमी फूलका बिरुवा रोप्ने, रुख तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरू सञ्चालन गरिएका थिए । विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण नेपाल टेलिकमले निरन्तर रूपमा नेपालभरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा फर्निचर, कम्प्युटर, झोला, ट्र्याकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ । साथै देशभरका २० जिल्लाका १/१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री (स्यानिटरी प्याड भेन्डिङ मेसिन) उपलब्ध गराइएको छ । वातावरण सरसफाइ धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचालगायतका महत्त्वपूर्ण सार्वजनिक स्थलमा आवश्यकताबमोजिम डस्टविन वितरण गरिएको छ । वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोग सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरूलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरूमा भोजन एवम न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ । अस्पतालमा बेड कम चेयर वितरण नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरूले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ । विद्यालयमा इन्टरनेट सेवा नेपाल टेलिकमले विद्यालयहरूमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटीटीएच सेवा पुगेका देशभरका विभिन्न सयवटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराएको छ । त्यसैगरी एफटीटीएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयमा १ वर्ष सम्मका लागि नमस्ते वाईफाई राउटरसहितको फोरजी इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको छ । एसईई तयारी गरिरहेका विद्यार्थीलाई सहयोग: नेपाल टेलिकमले आउँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट नि:शुल्क रूपमा पढ्न पाउने व्यवस्था मिलाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गतका अन्य कार्यक्रमहरू फरक क्षमता भएका व्यक्तिहरूलाई छुट्टै प्याकेजसहितको नि:शुल्क प्रिपेड सिमकार्ड वितरण नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरुको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा नि:शुल्क कलर रिङ्गटोनको प्रसारण गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारीमूलक सन्देशहरू नि:शुल्क गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गत असोजको पहिरो तथा डुबान पीडितहरूलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग