स्मार्टफोन बजारमा सामसुङको छलाङ, तेस्रो स्थानबाट सिधै पहिलो

काठमाडौं । दक्षिण कोरियाली सामसुङले भारतीय स्मार्टफोन बजारमा ठूलो फड्को मारेको छ । यो वर्षको दोस्रो त्रैमासमा बजार हिस्साको हिसाबले तेस्रो स्थानमा थियो । तेस्रो त्रैमासमा यो सिधै पहिलो स्थानमा उक्लिएको छ । दाेस्रो स्थानमा भने एप्पल छ । भारतीय स्मार्टफोन बजारमा भीभो तेस्रो नम्बरमा छ । जहाँ पहिलो स्थानमा रहेको शाओमी यसपटक पाँचौं स्थानमा पुगेकाे छ । स्मार्टफोन बजारमा रेकर्ड वृद्धि भारतमा यस वर्षको तेस्रो त्रैमासिक अर्थात जुलाईदेखि सेप्टेम्बर २०२४ सम्मको स्मार्टफोन बिक्रीको तथ्याङ्क काउन्टरपोइन्ट रिसर्चले बुधबार सार्वजनिक गरेको थियो । यस प्रतिवेदनअनुसार यो वर्षको तेस्रो त्रैमासिककाे आधारमा हेर्दा स्मार्टफोनको बजार रेकर्ड १२ प्रतिशतले बढेको छ । यो कुनै एक त्रैमासिकमा भएको उच्च वृद्धि हो । यति मात्र होइन, यो अवधिमा स्मार्टफोनको सिपमेन्ट ३ प्रतिशतले बढेको छ । पहिलो स्थानमा सामसुङ यस प्रतिवेदनका अनुसार तेस्रो त्रैमासिकका दाैरान मूल्यकाे आधारमा बजारमा सामसुङकाे हिस्सा २२.८ प्रतिशत रहेको छ । योसँगै यो बजारको शीर्ष स्थानमा पुगेको हाे । यसभन्दा एक त्रैमासअघि कम्पनी १८ दशमलव १ प्रतिशतको बजार हिस्साका साथ तेस्रो स्थानमा थियो । तेस्रो त्रैमासिकमा एप्पल २१.६ प्रतिशतकाे साथ दोस्रो स्थानमा छ । सोही वर्षको दोस्रो त्रैमासमा एप्पल पाँचौं स्थानमा पनि थिएन । भीभो १५.५ प्रतिशतको बजार हिस्साका साथ तेस्रो र ओप्पो १०.८ प्रतिशतको बजार हिस्साका साथ चौथो स्थानमा रहेको छ । साओमीलाई ठूलो झट्का भारतीय स्मार्टफोन बजारमा साओमीको दबदबा समाप्त हुँदै गएको देखिन्छ । यस वर्षको दोस्रो त्रैमासमा साओमी एक नम्बरमा थियो । त्यतिबेला यसको बजार हिस्सा १८.९ प्रतिशतमात्रै थियो । तेस्रो त्रैमासिकमा साओमीको बजार हिस्सा ८.७ प्रतिशत मात्रै रहेको छ । योसँगै कम्पनी पाँचौं स्थानमा झरेको छ । यो त्रैमासमा अन्य स्मार्टफोन कम्पनीको बजार हिस्सा २०.५ प्रतिशत रहेको छ । स्मार्टफोनमा फाइभ-जीको गरिमा तेस्रो त्रैमासमा फाइभ-जी स्मार्टफोनले सबैलाई पराजित गरेको छ । यसले कुल ढुवानीमा ८१ प्रतिशतको अहिलेसम्मकै उच्च अंश हासिल गरेको छ । बजारलाई आकर्षक ईएमआई अफर र ट्रेड-इनले समर्थन गरिरहेको विश्लेषकहरू बताउँछन् । (एजेन्सीहरूकाे सहयाेगमा)

क्यान महासंघका महासचिव अधिकारी नास्टको आईसीटी उपसमिति सदस्यमा मनोनित

काठमाडौं । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सञ्चार तथा सूचना प्रविधि (आईसीटी) उपसमितिमा सदस्यको रूपमा मनोनित भएका छन् । नास्टको व्यवस्थापन परिषद्को ३०७औं बैठकले गरेको निर्णयअनुसार विभिन्न उपसमितिहरूको पुनर्गठन गर्दै आईसीटी समितिमा अधिकारीलाई मनोनयन गरिएको हो उपसमितिको संयोजकको रूपमा प्राडा. सुवर्ण शाक्य रहेका छन् । सदस्यहरूमा चिरञ्जीवी अधिकारीसहित प्राडा. मनिष पोखरेल, डा. बाबुराम दवाडी, डा. भोजराज घिमिरे र गुणकेशरी प्रधान रहेका छन् । यसैगरी प्रदीप ढोडारी सदस्य सचिवको भूमिकामा रहेका छन् । नास्टले विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरू गठन गर्दै आएको छ । आईसीटी उपसमिति प्रविधि क्षेत्रमा महत्त्वपूर्ण निर्णय र सुधारका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा रहने बताइएको छ । समितिमा मनोनित भएसँगै अधिकारीले आफ्नो विज्ञता अनुसार प्रविधि क्षेत्रको उत्थानमा कार्य गर्ने प्रतिबद्धता जनाए । चिरञ्जीवी अधिकारी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् । विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापनसमेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै इन्फर्मेसन सेक्युरिटी, आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधिसम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड २ लाख ७० हजार सहयोग

काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ रकम जम्मा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन् । अविरल वर्षाका कारणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको बाढी-पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरूलाई राहतस्वरूप टेलिकमले कोषमा रकम जम्मा गरेको हाे । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशनसमेत दिएक थिए ।