सवा २ अर्ब भुक्तानी गरेपछि वर्ल्डलिंकले पायो नयाँ लाइसेन्स
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्डलिंकलाई नयाँ इजाजतपत्र अनुमति (लाइसेन्स) प्रदान गरेको छ । वर्ल्डलिंकले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौताबापत रकम भुक्तानी गरेपछि नयाँ लाइसेन्स प्रदान गरेको हो । दूरसञ्चार प्राधिकरणको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वर्ल्डलिंकलाई २५ वर्षका लागि लाइसेन्स दिने निर्णय गरेको हो । २५ वर्ष पुरा गरेर पुनः नयाँ लाइसेन्स पाउने वर्ल्डलिंक पहिलो कम्पनी समेत बनेको छ । सर्वोच्च अदालतको फैसलापछि वर्ल्डलिंकले दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)वापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको थियो । वर्ल्डलिंकले शुक्रबार प्राधिकरणलाई बक्यौतावापत १ अर्ब ३८ करोड ९० लाख रुपैयाँ रोयल्टी र ७६ करोड २३ लाख ९५ हजार रुपैयाँ आरटीडीएफ वापतको पैसा बुझाएको थियो । उक्त रकम तिरेसँगै वर्ल्डलिंकले नयाँ इजाजतपत्र नवीकरणपाएको हो । पैसा नतिरेपछि गत वैशाखदेखि वर्ल्डलिंक लाइसेन्सविहीन भएको थियो । प्राधिकरणलाई बक्यौता तिर्न छाडेर वर्ल्डलिंक उल्टै अदालत पुगेको थियो । अदालतमा दायर भएको उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको संयुक्त इजलासले गत वैशाख ३० मा निवेदन खारेजीसहित फैसला गरेको थियो । सरकारले आयकर प्रायोजनका लागि गरेको व्यवस्थालाई वार्षिक शुल्कमा समेत लागू हुनपर्ने दाबी गर्दै वर्ल्डलिंक सहितका सेवाप्रदायकले अटेरी गर्दै आएका थिए । दूरसञ्चार प्राधिकरण तथा सञ्चार मन्त्रालयले निरन्तर ताकेता गर्दा पनि सेवा प्रदायकले कर तिर्न मानिरहेका थिएनन् । दूरसञ्चार ऐनले कुनै पनि सेवा प्रदायकको कुल आम्दानीको २ प्रतिशत ग्रामीण दूरसञ्चार कोष शुल्क र ४ प्रतिशत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको छ । महालेखा परीक्षकको कार्यालयदेखि लिएर अन्य निकायले पनि कर शुल्क तथा रोयल्टी उठाउनुपर्ने राय दिँदै आएका छन् । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले तिर्न बाँकी दायित्वबारे विस्तृत अध्ययन गर्न स्वतन्त्र परामर्शदाता नै नियुक्त गरेको थियो । स्वतन्त्र परामर्शदाताद्वारा पछिल्लो १० वर्षको अवधिमा नौ सेवा प्रदायकबाट तीन अर्ब हाराहारी कर छली भएको निष्कर्ष निस्किएको थियो ।
नेशनल साइबर ओलम्पियाडको चौथो संस्करण पुस १५ गतेदेखि सुरु
काठमाडौं । नेशनल साइबर ओलम्पियाड– २०८१ () को चौथो संस्करणको आयोजना हुने भएको छ । ओलम्पियाड आगामी पौष १५ गतेदेखि काठमाडौंमा हुन लागेको हो । यस कार्यक्रममा काठमाडौं उपत्यकाका ५० भन्दा बढी स्कूलका टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार कार्यक्रममा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता हुनेछ, जसमा सहभागी हुने स्कूलले पौषको ५ गते सम्म दर्ता गर्नुपर्ने छ । आयोजकले अनुसार यो प्रतियोगिताको चारवटा संस्करण यसअघि २०७१, २०७२, २०७३ र २०७९ मा सफल रूपमा आयोजना भइसकेको जनाएको छ । प्रतियोगितामा तीन चरणमा नकआउट पद्धतिबाट सञ्चालन हुने जनाइएकाे छ । यसपटकको नेशनल साइबर ओलम्पियाडमा विभिन्न सूचना प्रविधिसँग सम्बन्धित कार्यशालाहरू प्रत्येक हप्ता सञ्चालन हुनेछन् । उक्त कार्यशालामा सहभागी भई प्रविधि क्षेत्रको सीप सिक्न पाइने बताइएकाे छ । प्रतियोगितामा उत्कृट हुने टिमले नगद पुरस्कार, ट्रफी, मेडल तथा अन्य धेरै उपहारले सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता माघको ७ गते सम्पन्न हुनेछ । सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिने यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धामार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने यसका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताए ।
एनपीएल डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्युब च्यानलमा हेर्न सकिने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । डिजिटल माध्यमबाट खेलको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो । डिशहोमले एनपीएल २०२४ का सबै खेल प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक युट्युब च्यानलमा प्रशारण गर्नेछ । एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टिमहरूले राउन्ड–रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ। प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ ।