एनपीएल उत्सव : एनसेलले चौकावापत १ हजार ५०० शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं । एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा हानिएका कुल ३७५ चौकावापत १ हजार ५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ । यी सामग्रीहरू दुर्गम र ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने छ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौकावापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो । बुधबारसम्म खेलिएका १९ वटा खेलमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन् । लुम्बिनी लायन्सका क्याप्टेन रोहितकुमार पौडेलले सबैभन्दा बढी २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् । जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन् । यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखिएको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीजस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन् । यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने विश्वास लिइएको छ । एनसेल फाउन्डेसनले एनपीएलका खेलहरू सकिएपछि क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा शैक्षिक सामग्रीहरूको वितरण गर्नेछ ।
आईसीटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य
काठमाडौं । आईसीटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य भएको छ । नवौं संस्करणको आईसीटी अवार्डका लागि दुई संस्थाबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सहकार्यसँगै ‘आईसीटी अवार्ड २०२४’ मा फोर्टिनेट सेक्युरिटी पार्टनरका रूपमा रहने छ । नेपालको प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम आईसीटी अवार्डसँग सहकार्य गर्न उत्साहित भएको र यसले आईसीटी इकोसिस्टमलाई अझै बलियो बनाउन सहयोग गर्ने फोर्टिनेट नेपाल प्रमुख सविन उपाध्यायले बताए । २० वर्ष अगाडि स्थापना भएको फोर्टिनेट ग्लोबल साइबर सेक्युरिटी कम्पनी हो, जसले नेपालमा समेत सेवा प्रदान गरिरहेको छ । ८ लाख बढी ग्राहकलाई सेवा दिइरहेको कम्पनीसँग १ हजार ३७१ ग्लोबल प्याटेन्ट रहेका छन् ।
एनभीडीयाको सेयर घट्यो, चीनद्वारा एकाधिकारविरोधी कानुन उल्लङ्घनको अनुसन्धान सुरु
काठमाडौं । अमेरिकी मल्टीनेसलन टेक कम्पनी एनभीडीयाको सेयर घटेको छ । एनभीडीयाविरुद्ध एकाधिकारविरोधी कानुन उल्लङ्घनको आरोपमा चीनले अनुसन्धान सुरु गरेसँगै एनभिडियाको सेयरमा दबाब परेको हो । सेयर लगभग २.५५ प्रतिशत ले घटेको हो । राज्य बजार नियमन प्रशासन (एसएएमआर) ले एनभीडीयाको इजरायली प्राविधिक कम्पनी मेलानोक्सको अधिग्रहण र यसका सम्बन्धित सम्झौताहरूमा सम्भावित उल्लङ्घनको विषयमा अनुसन्धान थालेको हो । एनभीडीयाले सन् २०२० मा मेलानोक्सलाई अधिग्रहण गरेको थियो, जसले डाटा सेन्टर र सर्भरहरूको लागि नेटवर्क समाधान प्रदान गर्दछ। एसएएमआरले भनेको छ, ‘हालैका दिनहरूमा एनभीडीयाले चीनको एकाधिकारविरोधी कानुन उल्लङ्घन भएको आशंकामा र मेलानोक्स सेयर अधिग्रहणसँग सम्बन्धित सर्तहरूलाई लिएर अनुसन्धान सुरु गरिएको हो ।’ यस समाचारले अमेरिका र चीनबीचको चिप निर्माणको प्रतिस्पर्धालाई थप तताएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले चिप बिक्रीमा कडा प्रतिबन्ध लगाउने प्रयास गरेको छ, जसले चीनको सैन्य क्षमतामा सुधार रोक्ने उद्देश्य राख्छ । एनभीडीयाले भनेको छ, ‘हामी नियामक निकायहरूबाट आएका सबै प्रश्नहरूको जवाफ दिन तयार छौं ।’ यो वर्ष कृत्रिम बाैद्धिकता (एआई) चिप्समा उच्च मागका कारण एनभीडीयाको सेयर १८० प्रतिशतले वृद्धि भएको थियो ।च्याटजीपीटीको लोकप्रियता र व्यापक प्रविधि क्षेत्रमा लगानीकर्ताहरूको रुचिले सेयर बजारमा सुधार ल्याएको छ ।