ललितपुर महानगरद्वारा उत्कृष्ट करदाताका रूपमा एनसेल सम्मानित

काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ । गत आर्थिक वर्ष संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा एनसेल सम्मानित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित एक विषेश कार्यक्रममाझ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मानपत्र प्रदान गरेका थिए । सबैभन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्‍याएकोले उच्च कदर गर्दै एनसेललाई यो सम्मानपत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रूपमा स्थापित रहँदै आएको छ । यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको विभिन्न सम्मान पाइसकेको छ । एनसेलले स्थापनाकालदेखि गत आव २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरूमा ३०० अर्ब रुपैयाँभन्दा बढी तिरिरहेको छ । गत आवमा मात्रै कम्पनीले २०.३० अर्ब रुपैयाँ कर तथा शुल्कहरू सरकारलाई दाखिला गरेको छ । यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत २ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तरसम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा लाभ प्रदान गरेको छ ।

नेपालीले बनाएको प्रोमा डट एआई औपचारिक रूपमा सार्वजनिक, आगामी असार १७ सम्म नि:शुल्क

काठमाडौं । नवीनतम प्रविधि प्रोमा.एआई नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त प्रविधि औपचारिक रूपमा सुरुवात भएको हो । यस नयाँ प्रविधिको सुरुवातसँगै विभिन्न संघसंस्थाहरूले आफ्नो डाटा तथा जनशक्ति व्यवस्थापन गर्न सहज हुने कम्पनीले जनाएको छ । यो प्रविधि परम्परागत उपरकणहरूभन्दा बिलकुलै नयाँ भएकाले यसले नवीनतम युगको सुरुवात गरेको कम्पनीको दाबी छ । प्रोमाले एआईमार्फत सक्षम तरिकाले कार्यप्रवाह, स्मार्ट डाटा व्यवस्थापन र स्वचालित प्रक्रियाहरू प्रदान गर्न मद्दत गर्दछ । यो एआई अमेरिकन टेक कम्पनी ग्रोथजिला इंकले नेपालमै नेपाली टेक टीमबाट बनाएको हो । यसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिशिर बस्यालले यो अरू बिजनेस टुल्सजस्तो नभई यसले आजको एआईको युगमा कसरी कुन तरिकाले काम गर्ने भनेर स्मरण गराउने बताए । ग्रोथजिला इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिशिर बस्याल । उनले सबै खालका संस्थाहरूमा डिजिटल रूपान्तरण पहुँचयोग्य बनाउनका लागि स्वचालित तरिकाले काम गर्न सक्ने प्रविधिको सुरुवात गरेको जानकारी दिए । कम्पनीका अनुसार हालको लागि यो प्रविधि बेटा भर्जनमा मात्र उपलब्ध हुनेछ । यसका साथै नेपाली प्रयोगकर्ताले सन् २०२५ को जुलाई १ (आगामी असार १७) सम्म नि:शुल्क रूपमा प्रयोग गर्न पाउनेछन् । त्यसपछि भने नेपाली प्रयोगकर्ताको लागि ६० प्रतिशत छुटको व्यवस्था गर्ने सीईओ बस्यालले जानकारी दिए । यस्ता छन् प्रोमाका मुख्य विशेषताहरू : १. एआई क्षमतायुक्त इमेज जेनरेसन २.रियल टाइम सहकार्य उपकरण ३. डेटा भण्डारणलाई सहज बनाउन एआईयुक्त प्रविधि ४. अनुक्रम र इन-प्लेस स्वचालित प्रक्रियायुक्त प्रणाली ५.उन्नत अभियान व्यवस्थापन र सञ्चार उपकरण ६.खाली ठाउँ र बोर्डको साथ लचिलो संगठन संरचना

कुन देशमा मोबाइल इन्टरनेट स्पीड धेरै ? फिक्स्ड ब्रोडब्यान्ड स्पीडमा भारतभन्दा नेपाल अगाडि

काठमाडौं । के तपाईंलाई थाहा छ, संसारमा सबैभन्दा धेरै मोबाइल इन्टरनेट स्पीड भएको देश कुन हो ? स्पीडटेस्ट ग्लोबल इन्डेक्सको नोभेम्बरको तथ्याङ्कअनुसार अमेरिका, जापान र जर्मनी जस्ता प्रमुख देश यस मामिलामा विश्वका शीर्ष १० देशमा परेका छैनन् । यो सूचीमा एसियाका पाँच देश छन् । यस सूचीमा खाडी राष्ट्रहरू पहिलो तीन स्थानमा छन्। युनाइटेड अरब इमिरेट्स अर्थात युएई ४४१.८९ एमबीपीएसको स्पीडका साथ सूचीमा शीर्ष स्थानमा छ । त्यस्तै, कतार ३५८.२७ एमबीपीएसको मोबाइल इन्टरनेट स्पीडका साथ दोस्रो र २६३.५९ एमबीपीएसका साथ कुवेत तेस्रो स्थानमा छ । युरोपेली राष्ट्र बुल्गेरिया १७२.४९ एमबीपीएससँग चौथो स्थानमा छ । मोबाइलमा तीव्र गतिको इन्टरनेटको हिसाबले डेनमार्क पाँचौं स्थानमा छ । यो देशमा मोबाइल इन्टरनेटको गति १६२.२२ एमबीपीएस छ । यसैगरी, दक्षिण कोरिया १४८.३४ एमबीपीएसका साथ छैटौं, नेदरल्यान्ड १४६.५६ एमबीपीएसका साथ सातौं, नर्वे (१४५.७४ एमबीपीएस) आठौं, चीन (१३९.५८ एमबीपीएस) नवौं र लक्जेम्बर्ग (१३४.१४ एमबीपीएस) दशौंमा छ । त्यसपछि सिंगापुर (१२७.७५ एमबीपीएस), अमेरिका (१२४.६१ एमबीपीएस), बहराइन (११८.३६ एमबीपीएस) र फिनल्याण्ड (११४.४५ एमबीपीएस) छन् । यो सूचीमा ५१.९५ एमबीपीएसको गतिका साथ जापान ५९औं स्थानमा छ । सूचीमा भारत २५ नम्बरमा छ । देशमा मोबाइल इन्टरनेटको गति १००.७८ एमबीपीएस छ । पाकिस्तानमा यसको गति २०.८९ एमबीपीएस छ र यो सूचीमा ९७ ‍औं नम्बरमा छ । बंगलादेश २८.२६ एमबीपीएसको गतिका साथ ८८ नम्बरमा छ । तर, फिक्स्ड ब्रोडब्यान्डमा भारतको अवस्था नेपालभन्दा खराब छ । भारतमा यसको स्पीड ६३.५५ एमबीपीएस छ र यो ९१ नम्बरमा छ । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड स्पीड ७०.९४ एमबीपीएस छ र ८७ औं स्थानमा छ । यो सूचीमा सिंगापुर ३२४.४६ एमबीपीएसको गतिका साथ पहिलो स्थानमा छ ।