बैङ्किङ क्षेत्रमा ‘विद्युतीय हस्ताक्षर’ सबै कार्यालयमा लागु गर्ने सरकारको तयारी
काठमाडौ । विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ ।सरकारी तथा निजी कार्यालयमासमेत विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रमाणीकरण नियन्त्रणको कार्यालयले बैंकिङ क्षेत्रका सरोकारवालासँग छलफलसमेत गरेको छ । विद्युतीय हस्ताक्षरले मान्यता प्राप्त कागजात पठाउने÷प्राप्त गर्ने व्यक्तिको पहिचान हुने तथा पठाएको व्यक्तिले पठाएको होइन वा पठाएको छैन भनी नकार्न नसक्ने र कागजात पठाएको÷प्राप्त भएको विषयवस्तुको अखण्डता कायम राख्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, आन्तरिक राजस्व विभाग, वैदेशिक रोजगार विभाग, निजामती किताबखाना, कर्मचारी सञ्चयकोष, लोकसेवा आयोग र उद्योग विभागलगायत १२ वटा कार्यालयमा अहिले विद्युतीय हस्ताक्षर परीक्षण भइरहेको उक्त कार्यालयका नियन्त्रक तथा उपसचिव दीपककुमार श्रेष्ठले जानकारी दिए । विद्युतीय हस्ताक्षर प्रयोग गरी बैंकबाट प्रदान गरिने कर्जा प्रक्रियाालाई कागजरहित बनाउनुका साथै काम कारवाही छिटोछरितो ढङ्गबाट सम्पन्न गर्न सकिने नियन्त्रक श्रेष्ठको भनाइ थियो । सरकारी निकायका ‘इ–गर्भमेन्ट एप्लिकेशन’ हरूमा क्रमशः विद्युतीय हस्ताक्षर लागू गर्ने, ‘इ–कमर्श’ तथा वित्तीय क्षेत्रमा विद्युतीय हस्ताक्षरको प्रयोगकर्तालाई बढुवा दिने नियन्त्रणको कार्यालयको भावी कार्यदिशा छ ।सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले कागजरहित सरकारी कार्यालय बनाउने सरकारको योजनाअनुसार विद्युतीय हस्ताक्षरलाई सबै क्षेत्रमा लागू गर्ने तयारी गरिएको जानकारी दिए। रासस
स्याङ्जाको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार, ५० घरधुरी लाभान्वित
काठमाडौं । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ । विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुन सक्ने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख रामराज उपाध्यायले जानकारी दिए । गल्याङस्थित नेपाल टेलिकमबाट मात्र करिब दुई किलोमिटरको दुरीमा रहेको लल्याङमा करिब पाँच वर्ष अघिदेखि उक्त सेवा विस्तारको प्रयास गरिएको थियो तथापी हाल आएर नयाँ नेटवर्किङ गरि सम्पन्न भएकोमा त्यहाँका वडा अध्यक्ष महेश भट्टराइले खुसी व्यक्त गरेका छन् । नेपाल टेलिकमको पिएसटिएन (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) फिक्ड ल्याण्डलाइन हो जस्बाट पाँच एमबीपिएससम्म स्पिड क्षमता भएको ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट सस्तो दरमा चलाउन सकिन्छ ।
सामाजिक सञ्जाल फेसबुक पनि ह्याकरको पहुंँचमा, ३ करोड प्रयोगकर्ताको विवरण चोरी
सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुक इंकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ ।फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,” फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए । पहिचान अझै नखुलेका केही व्यक्ति (ह्याकर) ले करिब १ करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जानकारी दिए ।अरु १ करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा रहेका छन् । फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरु विवरणहरु जस्तै लिङ्ग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँ पनि सङ्कलन गरेको जनाएको छ । यस आक्रमणबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ ।क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले यस घटनाका सम्बन्धमा अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबीआई), अमेरिकी सङ्घीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसन तथा अरु निकायसँग छलफल थालेको छ । रासस÷एएफपी