गोर्खा इको प्यालनबाट ५२०० वर्ग फिटको क्षेत्रफलमा राष्ट्रिय आविष्कार केन्द्र निर्माण
कीर्तिपुर । गोर्खा इको प्यानलको प्रयोगबाट राष्ट्रिय आविष्कार केन्द्रको भवन निर्माण सम्पन्न भएकाे छ । डा. महावीर पुन अध्यक्षतामा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरभित्र उक्त केन्द्रको निर्माण सम्पन्न गरिएको हो । पाँंच हजार दुई सय वर्ग फिटको ठूलो क्षेत्रफलमा निर्माण गरिएको उक्त केन्द्रमा काम पनि शुरु भइसकेको छ । डा. महावीर पुन नेपालको प्रथम म्याग्नासेस पुरस्कार पाउन सफल नेपाली हुन् । उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी आविष्कारका कामहरु गर्दै आएका छन् । केन्द्रका लागि भबन निर्माण सम्पन्न भएपछि आगामी दिनमा आविष्कारको काम गर्न सजिलो भएको डा. पुनले बताए । साथै, उनले भवन बनाउनका लागि निर्माण सामाग्री सहयोग गरेकोमा इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल गोर्खा इको प्यानललाई धन्यवाद दिएका छन् ।
इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जुटाए एक अर्ब १० करोड डलर लगानी
काठमाडौं । इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले अनलाइन व्यापार र रकमको कारोबारलाई इन्डोनेसियामा अझ विस्तार गर्ने भएका छन्। कम्पनीले दक्षिणपूर्वी एसियाली देशहरुमा मौलाएको विद्युतीय कारोबारमा आफूलाई सर्वोत्कृष्ट बनाउने लक्ष्य लिएको जनाएको छ । एक्सपेडीया र चीनको टेन्सेन्ट समेतका ठूला लगानीकर्ताहरुले फस्टाउँदो इन्डोनेसियाली प्रविधि कम्पनीहरुमा अर्बौं डलर लगानी गर्दैछन् ।एक दशकअघि मात्र स्थापना भएको टोकोपेडीयाले तत्कालका लागि इन्डोनेसियामै केन्द्रित रहने जनाएको छ । करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसियामा तिब्र गतिमा मध्यम वर्गीय समाजको उदय भइरहेको छ । कम्पनीले नयाँ लगानीबाट प्रविधि र पूर्वाधार निर्माण गर्नेछ । लाखौं स्थानीय व्यवसायीकाे प्रगतिमा थप मद्दत गर्नेछ, टोकोपेडीयाको वक्तव्यमा उल्लेख गरिएको छ । विश्वको अन्य कुनै क्षेत्रको भन्दा दक्षिण पूर्वी एसियामा इन्टरनेटको प्रयोग बढेको विभिन्न अनुसन्धानमा देखिएको छ । सन् २०२० सम्ममा यस क्षेत्रमा ४८ करोड मानिसमा इन्टरनेटको पहुँच पुग्ने जानकारी दिएका छन् । रासस
पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता बनाउन आवश्यक
काठमाडौं। पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिताको आवश्यकता रहेको औँल्याइएको छ । नेपाल पत्रकार महासङ्घ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा यहाँ शनिबार आयोजित ‘पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग र संहिता निर्माण’ विषयक अन्तक्र्रियामा सामाजिक सञ्जालमा राख्ने निजी विचारले पत्रकारले लेख्ने समाचारको विश्वासनीयतामा प्रभाव पार्ने हुँदा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिता बनाउनुपर्नेमा जोड दिइएको छ। सो अवसरमा महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासङ्घका सचिव तथा सामाजिक सञ्जाल सञ्चालन संहिता निर्माण कार्यदलका संयोजक प्रकाश थापाले बिशेषगरी महासङ्घका सदस्यलाई लक्षित गरेर सामाजिक सञ्जाल सञ्चालन संहिता बनाउन लागिएको जानकारी दिए। नेपाल पत्रकार महासङ्घ डिजिटल मिडिया समितिका संयोजक एवं केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेपालको समग्र पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन पनि संहिता आवश्यक रहेको बताए। सेन्टर फर मिडिया रिसर्च सेन्टरका कार्यकारी निर्देशक उज्ज्वल आचार्यले संहिता निर्माण गर्दा पत्रकारको व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई ध्यान दिनुपर्नेमा जोड दिए। अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले पत्रकारले सामाजिक सञ्जालमा आफ्ना गतिविधि राख्नुभन्दा अगाडि सोच्नुपर्ने बताए। महासंघका केन्द्रिय सदस्य जन्मदेव जैशीले पत्रकारका लागि सामाजिक सञ्जाल संहिता निर्माण गर्नेक्रममा विचारलाई सामाजिक सञ्जालमा राख्न पाउने अधिकारको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। रासस