अब रारामा पनि टेलिकमको फोरजी सेवा, स्थानीयलाई व्यवसाय प्रबर्द्धन गर्न सजिलाे हुने
काठमाडौं । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा हिजो (०७६ मंसिर १९) देखि भएको हो । कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यवसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा प्रदान गरिएको हो । यो सेवाको शुरुवात सँगै स्थानीय व्यावसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रबद्र्धन तथा प्रचार गर्न सहज भएको छ । त्यस क्षेत्रमा जाने पर्यटकले त्यहाँका दृश्य तथा गतिविधिहरु कम्पनीको फोरजी नेटवर्क प्रयोग गरी तत्काल प्रत्यक्ष प्रसारण समेत गर्न सकिने छ । समुद्री सतहभन्दा २९७२ मिटर उचाइमा रहेको यस तालमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण हुने गरेको छ । राजा महेन्द्रद्धारा वि.सं.२०२० सालमै रारा ताललाई स्वर्गकी रानीको उपमा दिएर यसको सुन्दरताको बयान गरिएको थियो । फोरजी सेवाको विस्तारसँगै भ्रमण वर्ष २०२० का अवसरमा रारा ताल एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनसक्ने सम्भावना बढेको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए । रारा नेपालको सबैभन्दा ठूलो र सबभन्दा गहिराई भएको ताल पनि हो । पर्यटकीय मौसममा पर्यटकका टेन्ट र फायर क्याम्पिङले भरिने मिलिचौर, नेपाली सेनाको श्रीदल गण क्षेत्र तथा स्थानीय व्यवसायीहरु फोरजी सेवाबाट लाभान्वित हुनेछन् ।
कर्णाली र सु्दुर पश्चिम प्रदेश २५०० किलोमिटर अप्टिकल फाइबर बिछ्याइदै, २० जिल्लामा फाष्ट इन्टरनेट
काठमाडौं । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच मंसिर १९ गते समझदारी भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा प्राधिकरणका अध्यक्ष खनालले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको आधारशिलाका रुपमा सूचना महामार्ग निर्माणलाई अघि बढाइएको बताउँदै निर्धारित समयमै कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे । हस्ताक्षर समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सूचना र प्रविधिका कोणबाट मात्र नभई डिजिटल अर्थतन्त्र निर्माणका लागि समेत यो आयोजना अति महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता आयोजनाले मुलुकमा प्राविधिक र आर्थिक रुपान्तरण ल्याउन मद्दत पुग्ने बताए । कर्णाली र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम, उत्तर–दक्षिणका साथै हुलाकी मार्गहरु, जिल्ला सदरमुकाम र नगरपालिकाहरुलाई समेत यस अयोजनाले सूचना महामार्गको सञ्जालमा जोड्ने लक्ष्य रहेको छ । नेपाल टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुनेछ । साथै ती दुई प्रदेशका सहित बाँके र बर्दिया समेत गरी कूल २० जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ । यस आयोजना अन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको तथा जिल्ला सदरमुकाम र नगरपालिकासम्म न्यूनतम क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ । यसका साथै आवश्यकता अनुसार ४०० गिगाविट प्रति सेकेण्डसम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी १०० गिगाविट प्रति सेकेण्ड क्षमताका पोर्ट तथा १० गिगाविट प्रति सेकेण्ड क्षमताका पोर्ट वा दुवैको मिश्रण रहेका कोर राउटर प्रयोगमा ल्याइनेछ । यस अप्टिकल फाइबर सञ्जालमा करीब २६ स्थानमा डिडब्ल्युडिएम र ५२ स्थानमा राउटर प्रयोगमा आउनेछन् ।
अब बैंकमा गएर पैसा डिपोजिट गर्ने दिन सकिए, स्मार्टकार्ड नेपालले ल्याउँदैछ दुई स्मार्ट प्रडक्ट
रमेश दियाली स्मार्ट कार्ड नेपाल र सोसाइटी डेभलपमेण्ट फाउण्डेसनका संस्थापक हुन् । सानैदेखि केही नयाँ र पृथक किसिमको काम गर्नु पर्छ भन्ने मानसिकता भएका उनी अहिले आइटी सेक्टर र वित्तीय सेक्टरलाई मध्यस्त गर्ने प्रणालीको साहरामा भर्चुलअ सर्भिसको विजनेसमा लागेका छन् । स्मार्ट कार्ड नेपालमार्फत अब केही सातामै उनी स्मार्ट कार्ड र स्मार्ट वालेट प्रडक्ट बजारमा ल्याउँदैछन् । संखुवासभा खाँदबारी घर भएका उनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक र दुबईबाट आईटी विषयमा प्रोफेसनल कोर्ष अध्ययन गरे । सानैदेखि सुचना प्रविधिमा रुचि भएका उनै दियालीसँग अब बजारमा आउन लागेको प्रडक्ट ‘स्मार्ट कार्ड र स्मार्ट वालेट’मा केन्द्रित रहेर विकासन्युजका लागि सन्तोष रोकायाले बिकास बहस गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएकाे बिकास बहस : नेपालको वित्तीय क्षेत्रलाई सुरक्षित र सहज बनाउन सुचना प्रविधीको अवस्था कस्तो छ ? वित्तीय क्षेत्रलाई अगाडि बढाउनका लागि सुचना प्रविधिको भूमिका एकदमै महत्वपूर्ण छ । पछिल्लो समय सुचना प्रविधिबिना वित्तीय क्षेत्र अगाडि बढाउन सम्भव नहुने अवस्था आइसकेको छ । सबैको पहुँचमा सुचना प्रविधि पुग्नु जरुरी पनि छ । सबै ठाउँमा आईटी मात्र पुगेर हुँदैन आम जनमानसमा वित्तीय चेतना हुन पनि आवश्यक छ । जब मानिसमा आइटीको चेतना हुन्छ तव उसले प्रबिधियुक्त वित्तीय कारोबार गर्न थाल्छ । उसले आफ्नो आर्थिक कारोबारलाई सहज ढंगले अघि बढाउन सक्छ । मैले स्मार्ट कार्ड नेपाल स्थापना गर्नुपर्छ, वित्तीय र आइटी सेक्टरलाई मध्यस्त गर्ने प्रणालीका रुपमा स्मार्ट कार्ड नेपाललाई विकास गर्नुपर्छ भन्ने यो मानसिकता र अवधारणा कसरी बनाउनु भयो ? हामीले आजभन्दा पाँच वर्ष अगाडि स्मार्ट कार्ड नेपालको स्थापना गरेका हौं । अब केही हप्तामा नै हाम्रो प्रडक्ट बजारमा लिएर आउँदैछौं । यो प्रडक्ट नेपालमा मात्र नभएर विश्वमा नै नयाँ प्रडक्डका रुपमा लिएर आउँदैछौं । स्मार्ट कार्ड नेपाल एउटा कम्पनी हो । हामीले ल्याउने प्रडक्ट प्रिपेड स्क्य्राच कार्ड हो । त्यो एनसेल र एनटीसीको रिचार्ज कार्ड जस्तै हुन्छ । उक्त कार्ड हामीले विभिन्न फाइनानसियल ट्रान्जेक्सनका लागि प्रयोग गर्छौं । म वाणिज्य क्षेत्रको मान्छे नभएपनि आइटी क्षेत्रको मान्छे हुँ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सिमित मानिसहरुको पहुँचमा मात्र वित्तीय क्षेत्रको पहुँच छ । बैंकिङ कारोबार गर्ने मान्छेहरुको संख्या अत्यन्तै कम छ । यो आर्थिक स्थिती र जनचेतनाको कमिले हो । अर्को के छ भने मान्छेहरु सँग पैसा भएपनि उनीहरुले बैकिङ कारोबार नगरेको अवस्था छ । यसको मुख्य समस्या बैकिङ पहुँच नपुग्नु हो । उनीहरुमा कारोबारको चेतना नहुनु पनि अर्को समस्या हो । त्यसले गर्दा मैले के सोचे भने कसरी सवै सर्वसाधारण सम्म वित्तीय पहुँच पु¥याउन सकिन्छ भनेर अनुसन्धान गरेँ । त्यस्तो खालको काम सिर्जना गरें । त्यहि अवधारणालाई खेलाउँदै यो खालको प्रडक्ट बनायो भने नेपालमा राम्रो हुन्छ भन्ने सोचेँ । सबै मानिसहरु वित्तीय पहुँचमा आउन सक्छन् भन्ने सोचेँ । यो कन्सेप्ट मैले २०७० सालमा बनाएँ । कन्सेप्ट बनाएसँगै यसलाई कसरी बजारमा जाने कुन निकायले यसलाई मनिटरीङ गर्छ भन्ने कुनै थाहा थिएन । त्यसपछि हामी नेपाल राष्ट्र बैंक समक्ष गयौं । अहिले हामीले राष्ट्र बैंकबाट लाइसेन्स पनि लिइसकेका छौं । मैले यो स्मार्ट कार्ड कन्सेप्ट ल्याउनुको मुख्य कारण भनेको मान्छेले बैंक खातामा भएको पैसा जसरी पनि मोविलाइज गर्छ । खातामा पैसा जम्मा गरेपछि र एटिएमबाट पैसा झिक्छ । अहिले विश्वमा धेरै खर्च गर्ने विकल्पहरु मात्र छन् । अहिले जन्मेका सबै सेवाहरुले खर्च गर्ने बाटो मात्र देखाइरहेका छन् । तर हामी त्यो भन्दा फरक किसिमका छौं । हामी डिपोजिट गर भनेर उत्प्रेरणा जगाउँछौं । हाम्रो स्क्य्राच कार्ड भन्ने वित्तिकै डिपोजिट गर्ने हो । हाम्रो कम्पनीले कार्ड प्रडक्ट गर्छ । बैंकले त्यसलाई भेरिफाई गर्छ । हामी विभिन्न नेटवर्क द्वारा मार्केटमा पठाउँछौं । बजारमा ग्राहकले त्यो कार्ड खरिद गर्छ र नेपाल भरि रहेका बैंक तथा वित्तीय संस्थाको खातामा त्यो कार्ड मार्फत डिपोजिट गर्न सक्छ । उसले आफ्नो क्यास बराबरको कार्ड किन्छ । त्यो कार्डलाई स्क्य्राच गरेर मोबाइल एप्लिकेसन मार्फत आफ्नो कुन बैंक हो, बैंक छनोट गर्छ । आफ्नो खाता नम्बर र नाम र त्यो रिचार्ज कार्डमा भएको पिन नम्बर राख्छ । त्यो प्रक्रियाबाट उसले आफ्नो बैंक खातामा पैसा जम्मा गर्न सक्छ । गाउँघरमा सानो सानो आर्थिक कारोबारका पैसाहरु धेरै हुन्छन । खल्तीमा पाँच सय, हजार भएपनि त्यो हराउँन वा खर्चहुन सक्छ । तर यो कार्ड भयो भने सानो अमाउन्ट पनि बैकिङ च्यानलमा आउने भयो । त्यो सहज हुन्छ । मान्छेहरुले चाहेको रकम जम्मा गर्न सक्ने भए । यो २४ सै घण्टा सुचारु हुन्छ । यसको लागि शनिबार भएपनि फरक पर्दैन । अझ शहर क्षेत्रमा पनि मानिसहरुले हिडेर बैंकसम्म पुग्नु प¥यो । गाडीमा जानु प¥यो जाम हुन्छ । बैंकमा गएर पनि भौचर भर्नु प¥यो । धेरै समय लगाएर मान्छेले पैसा जम्मा गर्ने पालो पाउँछ । यो सबै झमेलाबाट मुक्त गराउन अब स्मार्ट कार्डको आवश्यकता हामीले महसुस ग¥यौं । अब प्रयोगकर्ताले बैंक सम्म पुग्नु पर्दैन । आफ्नो खाता वा साथीको खातामा उक्त कार्ड मार्फत तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । विश्व एक ‘ग्लोवल भिलेज’का रुपमा विकास भइसकेको अवस्था छ । आमसर्वसाधारण पनि सुचना प्रविधिमा रम्न थालि सकेका छन् । तर नेपालको सन्दर्भमा हेर्ने हो भने अझैं धेरै मानिस आईटीको पहुँचमा छैनन् । नेपाल जस्तो पुरै आइटीमा विकास नभएको देशमा तपाईले ल्याएको अवधारणा कतिको सम्भव छ जस्तो लाग्छ ? यो सम्भव छ । विश्वको ट्रेण्ड हेर्ने हो नेपालका मानिसहरु मनोरञ्जन र सुचना प्रविधि ग्रहण गर्ने कुरामा अगाडि नै छन् । पछिल्लो समय नेपालीहरु आइटीमा छिट्टै नै अगाडि बढेको अवस्था छ । नेपालमा उत्पादन नभएपनि उपभोगका रुपमा अगाडि छन् । त्यसले गर्दा यो समय भनेको एकदम राम्रो हो । नेपालमा सत–प्रतिशत आइटी विकास गर्न पाँच दश वर्ष लाग्छ त्यसका लागि ग्रामिण क्षेत्रमा भौतिक पूर्वाधार विकास गर्नु प¥यो । सरकारी र प्राइभेट क्षेत्रबाट पहल गर्नु प¥यो । त्यसले गर्दा अझै समय लाग्छ । अहिले सुरु ग¥यो भने त्यो समयसम्मका लागि एकदमै राम्रो हुन्छ । ग्रामिण तथा बिकट क्षेत्रमा आइटीको पहुँच पनि हुँदैन त्यसैले विशेषगरि त्यस्ता ठाउँका लागि हामीले यो स्मार्ट कार्ड प्रविधि फोकस गरेका छौं । अहिले हामी आन्तरिक अभ्यासमा छाैं । तपाईले अब केही हप्तामै स्मार्ट कार्ड र स्मार्ट वालेट प्रडक्ट लन्च गर्दैछौं भन्नुभयो । यो स्मार्ट कार्ड र स्मार्ट वालेट भनेको के हो ? आम सर्वसाधारणले यसलाई कसरी बुझ्ने ? स्मार्ट कार्ड र स्मार्ट वालेट हाम्रा दुईटा प्रडक्ट हुन् । स्मार्ट कार्ड भनेको प्रि–पेड स्क्य्राच कार्ड हो जुन मोबाइलको रिचार्ज कार्ड जस्तै हो । हामी त्यो रिचार्ज कार्डबाट बैंक खातामा पैसा जम्मा गर्न सक्छौं । मोबाइलको रिचार्ज कार्ड झैं हुने स्मार्ट रिचार्ज पेपरबेसमा रहेको छ । एउटै कार्डबाट विविध वित्तीय कारोबार गर्न मिल्ने रिचार्ज कार्ड बनाइएको छ । रिचार्ज कार्ड १ सय, ५ सय, १ हजार, २ हजार, ५ हजार, १० हजार र २० हजार मूल्यमा रहेका छन् । स्मार्ट रिचार्ज कार्डहरु कम्पनीका डिस्ट्रिब्युटरमार्फत सहजै पाउने व्यवस्था रहेको छ । अब स्मार्ट वालेट भनेको डिजिटल पेमेण्ट गेटवे हो । हाम्रो आफ्नै स्मार्ट कार्डबाट फण्ड लोड गर्ने र स्मार्ट वालेट मार्फत मल्टिपल पेमेन्ट गर्न सकिन्छ । वालेटमा पैसा राख्ने हाम्रो आफ्नै रिचार्ज कार्ड हुन्छ । त्यसले गर्दा यो पनि एउटा सहज माध्यम बन्न सक्छ । स्मार्ट कार्डबाटै डोमिस्टिक रेमिटेन्स गर्न सकिन्छ । जस्तै काठमाडौंबाट पोखराको मान्छेलाई दश हजार पैसा पठाउनु प¥यो भने हामी रेमिटेन्स एजेन्सी कहाँ गइरहनु पर्दैन । पसलबाट १० हजार बराबरको रिचार्ज कार्ड किनेर त्यही रिचार्ज कार्डको पिन हामी पोखराको साथीलाई पठाउन सक्छौं । अनि उसले त्यो नम्बर लगेर स्मार्ट कार्डको डिलर वा कार्डसँग सम्बन्धित बैंकहरुको मा गएर पैसा झिक्न सक्छ । आईटीमा पूर्ण कन्भर्ट नभइसकेको नेपाल जस्तो देशमा तपाईले ल्याएका सेवा विस्तार गर्न के कतिको चुनौती देख्नुहुन्छ ? चुनौती त धेरै छन् । सर्वप्रथम त मानिसहरुलाई यो सम्बिन्ध बुझाउन गाह्रो छ । कसैले पनि झट्टै विश्वास गर्दैनन् । मैले यो कम्पनी स्थापना गर्ने समयमा पनि त्यस्ता समस्याहरु झेलि सकेका छु । सुरुमा त स्मार्ट कार्डबाट बैंकमा पैसा जम्मा गर्न सकिन्छ र भन्ने कसैले पनि विश्वास गरेनन् । जब मैले काम गर्दै गएँ । सिस्टमहरु बनाएँ । टेस्ट गरेर देखाएँ । बल्ल उनीहरुले विश्वास गरेर यो लेवल सम्म पुगेका छौं । अब अहिलेको समयमा त्यस्तो गाह्रो छैन । हामी सजिलै सँग काम गर्न सक्छौं । तपाई सोसाइटी डेभलपमेण्ट फाउण्डेसनको पनि संस्थापक हुनुहुन्छ । त्यो किन स्थापना गरियो ? त्यसको कार्यहरु के-के हुन् ? यो पनि नेपालको फरक किसिमको र एक नयाँ संस्था हो । यो एउटा गैर नाफामुलक कम्पनी हो । हामी कम्पनी रजिष्ट्रारमा दर्ता भै समाज कल्याण परिषदमा आवद्ध छौं त्यासैगरी आन्तरकि राजश्व कार्यालयमा पनि आवद्ध छौं । यो एउटा अनलाईन क्राउड फण्डिङ कम्पनी हो । मान्छेहरुलाई विभिन्न कार्यका लागि फण्डको आवश्यक हुन्छ । त्यो फण्ड मान्छेले कसरी जुटाउँछ त्यो एकदमै गाह्रो छ । विश्वमा क्राउडफण्डिङको अभ्यास धेरै पहिले देखिको हो । नेपालमा अहिले सम्म एक पनि क्राउडफण्डिङ प्लटफर्म छैन । यसको जरुरत नेपालमा पनि छ । त्यही भएर नेपालमा पनि हामीले यसको आवश्यकता महशुस गरेर गत साल स्थापना ग¥यौं । यसले मान्छेहरुलाई के समस्या छ । के कामका लागि पैसा चाहिएको हो । त्यसको बारेमा विस्तृत प्रजेक्ट प्रपोजल चाहिन्छ । त्यसको समाधानको बाटो के हुन्छ भनेर फोकस गरेर एउटा मुख्य प्रपोजल तयार बनाउनु पर्ने हुन्छ । त्यो प्रपोजल उनीहरुले हाम्रो अनलाइन प्लाटफर्ममा सबमिट गर्नुपर्ने हुन्छ । त्यो भइसकेपछि त्यो प्रोजेक्ट कतिको उचित छ भनेर हामीले भेरिफाई गर्छौं । त्यसपछि हामी त्यसलाई अनलाईन प्लेटफर्ममा लाइभ गर्छौं । त्यसपछि विश्वभरि रहेको डोनरहरुले उक्त प्रोजेक्टमा डोनेसन गर्छन् । त्यो सबै रकम पार्दर्शि हुन्छ । अहिले हामी त्यसको क्षेत्रमा काम गर्दै आएको छौं । तपाई जस्ता धेरै युवाहरू स्वदेशमै केही गर्न चाहन्छन् । त्यस्ता युवाहरुलाई तपाई कस्तो सल्लाह सुझाव दिनुहुन्छ । युवाहरु कसरी आत्मनिर्भर बन्न सक्छन् ? मेरो पनि आफ्नै संघर्षका पाटाहरु छन् । म आफैले पनि विदेशमा धेरै कुराहरु भोगेको छु । हामी नेपालीहरु जति विदेश गएर दु.ख गर्छौं । विदेश गएपछि मान्छेले दायाँबायाँ गर्नै पाउँदैन । ऊ काम गर्नै मात्र व्यस्त हुन्छ । नेपालमा पनि त्यसरी काम गर्नु प¥यो । कसैले पनि उसलाई अनुशासन सिकाउने हईन । उसले आफैले त्यो किसिमको वातावरण सिर्जना गर्न सक्नु प¥यो । अठोट लिएर काम गर्नु पर्छ । दोधारे भयो भने कहिल्यै पनि काम हुँदैन । एउटै लक्ष्य लिएर काम गर्नु प¥यो । निरन्तर काममा लागि रहनु प¥यो । तब मात्र मान्छेले लक्ष्य भेटाउन सक्छ । गरे नेपालमै प्रसस्त सम्भावनाहरु छन । पछिल्लो समय युवाहरु विदेशिने क्रम बढ्दो छ । यता सरकारले युवालाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु पनि ल्याइरहेको छ । युवालाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न के गर्नु पर्ला जस्तो लाग्छ ? व्यक्तिले आफुले मात्र केही गर्छु भनेर हुँदैन । त्यसका लागि काम गर्ने वातावरण सिर्जना हुनु प¥यो । सरकारी क्षेत्रबाट पनि एक किसिमको सहानुभुति हुनु प¥यो । सरकारी क्षेत्रबाट प्रदान हुने विभिन्न सेवाहरु सरकारले दिलाउनु पर्ने हुन्छ । कतिपय अवस्थामा सरकारी निकायबाटै पाउनु पर्ने अनुदान, सहुलियतपूर्ण कर्जाका कुराहरुमा वास्तविक पाउनु पर्ने युवाहरुले पाएका हुँदैनन् । योजना आउँछ तर त्यो योजना युवाहरु सम्म आइपुग्दा तुही सकेको हुन्छ । त्यसले गर्दा पनि यो समस्या परिरहेको अवस्था छ । नपाउने मान्छेले पाएर अपचलन पनि भएको अवस्था छ । आगामी योजनाहरु के–के छन् ? सर्वप्रथम त मैले यि दुई ड्रिम प्रोजेक्ट सफल पार्नु पर्नेछ । यो राम्रो सँग चलाउनु छ । यो सफल भएपछि वित्तीय क्षेत्रमा नै एउटा ड्रिम प्रोजेक्ट छ । त्यसपछि म त्यसको काम गर्न थाल्छु ।