‘डिजिटल इन्डिया’लाई इन्टरनेट बन्दले जिस्क्याएको भन्दै मोदीको आलोचना
काठमाडौं । भारत सरकारले ल्याएको नयाँ नागरिकता कानुनको अहिले भारतभर विरोध भइरहेको छ । भारतको दुवै सदनले ‘मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरी’ नागरिकता कानुन पारित गरेपछि भारतमा नागरिकता कानुन र मोदी सरकारविरूद्ध प्रदर्शन भइरहेको छ । यही विरोधलाई शान्त पार्न भन्दै भारतले विभिन्न क्षेत्रमा ईन्टरनेट सेवा नै बन्द गरिदिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन विधेयक पारित भएकोमा आसामका मानिसलाई केही चिन्ता नलिन १२ डिसेम्बरमा ट्विटर मार्फत आश्वासन दिँएका थिए । तर, आसाममा त्यो दिन ईन्टरनेट नै थिएन । प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत दिएको सन्देश कति प्रदर्शनकारीले प्राप्त गरे भन्ने यकिन हुन सकेन । ईन्टरनेट सटडाउन ह्याकरका अनुसार यो वर्ष मात्र भारतमा ९५ पटक ईन्टरनेट सेवा बन्द गरिएको छ । यस्तो बन्दमध्ये अन्तिम पटकको बन्द नै यस वर्षको सबैभन्दा लामो समयको ईन्टरनेट सटडाउन हो । सरकारी अधिकारीहरूले सामान्यतः सार्वजनिक आदेशका कारण सेवाहरू बन्द गर्न इन्टरनेट प्रदायकहरूलाई आदेश दिने गरेका छन् । यद्यपि भारतीय कानून बमोजिम सरकारले टेलिकम कम्पनीहरूलाई सेवाहरू सिधै बन्द गर्न वा साइटहरू डाउन गर्न निर्देशन दिन सक्छ । नयाँ नागरिकता कानुनको विरोधको कारण आसाममा मात्र नभएर पश्चिम बंगाल राज्यका केही जिल्लाहरु र उत्तरी शहर अलिगरमा ईन्टरनेट सेवा केही हप्तासम्म अवरुद्ध भएको थियो । गत बिहीबार दिल्लीको केही क्षेत्रमा पनि सेवा अवरुद्ध भएको थियो । एउटा बलियो लोकतान्त्रिक मन्चको रुपमा लिईएको ईन्टरनेट सेवा अवरुद्ध गरिदा भारत सरकारको आलोचना भएको छ । यस्तै, काश्मिरमा ब्रोडब्यान्ड र मोबाइल डाटा सेवाहरू चार महिनाभन्दा बढी समयदेखि बन्द छ । बन्द भएको सेवा कहिले सुचारु हुन्छ भन्नेमा अझै यकिन छैन । चीन, म्यानमार जस्ता नागरिकलाई कम राजनीतिक अधिकार दिइएका देशहरुमा भने ईन्टरनेट सेवा बेलाबेलामा रोकिने गरेको छ । तर, भारत जस्तो लोकतान्त्रिक देशमा यसरी ईन्टरनेट बन्द गरिनु असामान्य हो भन्नेहरु पनि छन् । भारत सरकारले ईन्टरनेट पहुँचलाई रोकेको यो पहिलो पटक भने होइन । सन् २०१८ मा विश्वभर सबैभन्दा बढी समय ईन्टरनेट सटडाउन भएका थिए । सो समय सबैभन्दा धेरै पटक इन्टरनेट बन्द गर्ने देशको दोस्रो सुचीमा रहेको पाकिस्तानमा पनि १२ पटक मात्रै इन्टरनेट बन्द गरिएको थियो । विश्वमा दुत गतिमा बृद्धि भईरहेको ईन्टरनेट सेवा बन्द गर्ने सरकारको कार्यप्रति धेरै भारतीयले आलोचना गरेका छन् । यस्तो आलोचना हुनुको मुख्य कारण भनेको प्रधानमन्त्री मोदीले सन् २०१४ मा प्रधानमन्त्री बन्नुभन्दा पहिला ईन्टरनेट जडानलाई आफ्नो मुख्य चुनाबी मुद्दाका रुपमा प्रस्तुत गरेका थिए । यस्तै, उनले प्रविधिको विकासका लागि डिजिटल इन्डिया अभियान नै सुरु गरेका थिए । मोदीले १ अर्ब भन्दा बढी भारतीयलाई अनलाईन देख्न चाहको र ग्रामीण क्षेत्रमा सस्तो र उच्च गतिको ब्रोडब्याण्ड ईन्टरनेट पुराउने बताएका थिए । भारतको सबैभन्दा लामो ईन्टरनेट बन्द १. १ सय ४१ दिन (अगस्ट ४ देखि अहिलेसम्म जम्मु र कस्मिरमा) २. १ सय ३३ दिन (कश्मिरमा ८ जुलाईदेखि १९ नोभेम्बरसम्म) ३. ९९ दिन (२०१७ मा, भारतको पश्चिम बंगालममा १ जुनदेखि २२ सेप्टेम्बरसम्म)
गुगल बिजनेस ग्रुपद्वारा ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को आयोजना हुँदै
काठमाडौं । गुगल बिजनेस ग्रुपले स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । जावलाखेलस्थित डिएभी स्कुल परिसरमा शनिबार जिबिजि बिजफेस्ट प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धि प्रदर्शनी हुने भएकाे हाे । नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा गर्न लागिएको यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रबर्धन गर्ने रहेको छ । साथै, बिजस्टार्ट नाम दिइएको विशेष वर्कशप कार्यशालामा नेपालका स्टार्टअप संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधिहरु सिक्ने र उक्त प्रविधि प्रयोग गरेर आफ्नोे व्यवसाय विस्तार गर्ने अवसर पाउने छन् । कार्यक्रमको अवधारणा बारेमा बोल्दै गुगल बिजनेस ग्रुपका प्रवन्धक अमित अग्रवालले कार्यक्रमका सहभागिहरुले गुगलका नयाँ टुल र आइडिया पनि सिक्ने अवसर पाउने र व्यापार प्रवर्धन र विस्तार गर्न सक्ने बताए। मेलामा देशभरका दुई सयभन्दा बढी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्ने अपेक्षा आयोजकको रहेको छ । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक दस हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ । साथै, प्रदर्शनीमा ’गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागि स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । उक्त निर्देशिकामा सुचिकृत भए पश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यवसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ । मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको छ ।
नयाँ रिचार्ज कार्डको पिन नम्बर अस्पष्ट वा कोरिएर चिन्तित हुनुहुन्छ ? अब यस्ताे गर्नुहाेस्
काठमाडौं । नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन् । कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्छ । यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै http://pinrecovery.ntc.net.np/ मा लग अन गर्नुपर्छ । रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘८’ चिन्ह राख्नुपर्छ । जस्तो कि पिन नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीच बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४५*७८**१२**५* संरचना बमोजिम राख्नुपर्छ । यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ । कमसेकम ६ अंक पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्छ । यसअघि सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेकोमा यो व्यवस्था पश्चात हटेको छ । काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ । वेबसाइटबाटै ग्राहकले आफैं नै रिचार्ज गर्ने व्यवस्थाले सेवाग्राहीलाई निकै नै सहज हुने अपेक्षा गरिएको छ । भविष्यमा कम्पनीको एप ‘नेपाल टेलिकम’ र सर्ट कोडमार्फत एसएमएस पठाएर समेत रिचार्ज कार्ड साट्न सकिने व्यवस्था गर्ने कम्पनीको योजना छ ।