नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) साेमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेका हुन । क्यानले खुल्ला प्रतिस्पर्धाबाट नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो । उक्त नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो । उनले पुरस्कार स्वरूप नगद १ लाख हात पारेका छन् । नेपाली टोलीले उक्त नयाँ जर्सी ओमान भ्रमणमा प्रयोग गर्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान भ्रमणमा जादैछ । भदौ २८ देखि असोज ४ गतेसम्म नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आयोजना हुनेछ ।

दरबारमार्गमा खुल्याे एन्फा सोरुम, राष्ट्रिय टिमको आधिकारिक जर्सी र खेल सामाग्री बेचिने

काठमाडाैं । राष्ट्रिय फुटबल टिमको मुख्य प्रायाेजक संस्था केटीएम सिटीले एन्फा सोरुम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्र मान सिंहले आइतबार एक कार्यक्रमका बीच सोरुमको उद्घाटन गरे । सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामाग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ । पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामाग्रीको आधिकारिक प्रायोजक गर्ने सम्झौता गरेको थियो । सम्झौता पश्चात केटीएम सिटीले पहिलो पटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो । उद्घाटन पछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबलको व्यवसायिक हिसाबमा अगाडि बढ्ने बताए । केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्राण्ड राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक बन्न पाउनु र सोरुमा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । केटीएम सिटीले राष्ट्रिय फुटबल टिमको स्पोर्ट्स किट्सको अलावा सहिद स्मारक ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गरिसकेको छ ।

‘ला लिगा’ डिशहोमबाटै प्रशारण हुने, सिजन हेर्न टिकट किन्नु पर्ने

काठमाडौं । ला लिगा फुटवल लिग सिजन २०२१-२२ नेपाली टेलिभिजनको इतिहासमानै पहिलो पटक डिशहोमले प्रसारण गर्ने भएको छ । स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा ला लिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा प्रसारण हुनेछ । डिशहोमका ग्राहकले दुई हजार रुपैयाँको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिग अवधिभर संचालन हुने खेलहरु हेर्न सक्नेछन् । डिशहोमका मल्टि टिभीका ग्राहकहरुले अतिरिक्त सेट टप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप दुई हजार रुपैयाँको सिजन टिकट खरिद गर्नु पर्ने हुन्छ । डिशहोमको ग्राहकहरुले ला लिगाको सिजन टिकट खरिद गर्न तथा थप जानकारीका लागि नमस्ते प्रयोगकर्ताहरुले टोल फ्रि नम्वर १६०६० ०१ २२००० र एनसेल तथा अन्य नेटवर्क प्रयोगकर्ताहरुले ९८०११५५००० वा ०१ ४२१७६६६ मा आजैदेखि सम्पर्क गर्न सक्नेछन् । हाल डिशहोमको ग्राहकलाई उपलव्ध रहेको ला लिगाको सिजन टिकट छिटै सिम टिभी, प्रभु टिभी र डिशहोमको ओटीटी (डिशहोम गो) मार्फत पनि उपलब्ध हुनेछ । बार्सिलोना, रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, भ्यालेन्सीया जस्ता संसारकै उत्कृष्ट क्लवहरु खेल्ने र सबै भन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक ला लिगाको चर्चा तथा लोकप्रियता नेपालमा पनि रामै्र रहेको छ । नेपालको पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस्ले यस अघि पनि फिफा वल्र्डकप २०१८, युरो २०२० र कोपा अमेरिका २०२१ जस्ता लोकप्रिय तथा विश्वस्तरिय प्रतियोगीताहरु सफलता पुर्वक प्रशारण गरिसकेको छ । नेपाली टेलिभिजनका दर्शक तथा फुटबलप्रेमीहरुले उत्कृष्ट प्रतियोगीताको मनोरञ्जन लिन सक्ने अपेक्षा डिशहोमले लिएको छ ।