गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ । गोल्छालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूरमा संलग्न रहेको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं । सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को गरिबी निवारणसम्बन्धी अन्तरसरकारी विज्ञ समूहको बिहीबार मालद्विभ्सको राजधानी मालेमा सम्पन्न दोस्रो बैठकमा त्यस्तो सहमति भएको हो ।  माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम राज्यमन्त्री हुसेन इमरान अब्दुल मुआइमिनले बैठकको उद्घाटन गर्दै क्षेत्रीय सहकार्य विस्तार र आर्थिक वृद्धिमा जोड दिएको सार्क सचिवालयले जनाएको छ ।  सार्क सचिवालयकी निर्देशक (सूचना तथा गरिबी निवारण) प्रथमा उप्रेतीले बैठक आयोजना गरेकामा माल्दिभ्स सरकारलाई धन्यवाद दिँदै क्षेत्रीय सहकार्य प्रवद्र्धनमा निरन्तर सहयोगका लागि एसियाली विकास बैंकप्रति आभार व्यक्त गरे । सार्क सचिवालयका अनुसार माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम मन्त्रालयका उपमन्त्री अली रशीदले अध्यक्षता गरेको बैठकमा सदस्य राष्ट्रका विकाससम्बन्धी मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारीका साथै परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति  थियो ।      

पोखराबाट दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागुऔषध बिक्री तथा सेवन, मदिरा पान गरेर समाजमा अशान्ति फैलाउने,  गुण्डागर्दीको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो । स्वीप अप्रेसन बिहीबार राति ९ः०० देखि आज बिहान ६ः०० बजेसम्म सञ्चालन भएको थियो । अघिल्लो दिनको अप्रेसनमा जिल्लाका विभिन्न स्थानबाट १२२ जनालाई पक्राउ गरिएको थियो ।