विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपाल

नवीन लुइँटेल आइसिसी क्रिकेट विश्वकप लिग २ मा शीर्ष छ स्थानभित्र पुग्न नेपालका केही दिनपछि हुने दुई वटा श्रृङ्खलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने भएको छ । युएई, ओमान र नेपालवीचको एउटा श्रृङ्खलामा चार वटा खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप चार वटा खेल गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न कम्तिमा पाँच खेल जित्नु पर्नेछ ।      जम्मा २० खेलबाट १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानडालाई उछिन्न कम्तिमा पाचौँ खेलको जित पर्याप्त हुनेछ भने चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई भेट्टाउन सबै खेलमा राम्रो स्कोरका जित आवश्यक छ । २१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको क्यानडा, २२ अङ्कसहित पाँचौँ स्थानमा रहेको नामिबियालाई तथा २८ अङ्कसहित चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई पछाडि पार्न लगातार खेल जित्नुको विकल्प रहने छैन । अघिल्लो संस्करणको जस्तो खेलको नतिजा आए शीर्ष चारसम्म पुग्न ती आठ खेल नै काफि हुन्छन् । तर सधैँ त्यही खालको नतिजा आउँछ भन्ने हुँदैन ।  यसपटकको खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी उपकप्तान, कुशल भूर्तेल, आशिफ शेख, भिम विश्वकर्मा, आरिफ शेख, बासिर एहेमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामीछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन् । मुख्य प्रशिक्षक स्टुआर्ट ल हुन् भने सहायक प्रशिक्षकहरुमा कलाम अली र बसन्त शाही रहेका छन् ।   शीर्ष तीन टिमसँग भिड्न त्यत्ति सहज छैन      अघिल्लो संस्करणभन्दा यसपटकको आइसिसी क्रिकेट विश्वकप लिग २ नेपालका लागि फरक देखिएको छ । यही वैशाखको १२ देखि जेठको ८ गतेसम्म हुने दुई वटा फरक–फरक श्रृङ्खला नेपालका लागि त्यति सहज हुने देखिएको छैन । विश्लेषकहरुका अनुसार पछिल्लो समय नेपालको एकदिवसीय म्याचमा प्रदर्शन राम्रो देखिएको छैन । नेपाल एक दिवसीय मान्यता जोगाउनै सङ्घर्षरत रहेको छ । धेरै नयाँ खेलाडी हुनु र तयारी पनि त्यत्ति पर्याप्त नहुँदा नतिजामा प्रभाव पर्न सक्छ । अहिले ५ औँ स्थानमा रहेको नामिबियाले २८ खेल खेलिसकेको छ, नेपालले राम्रो खेल्दै उसको स्थानमा जाने सम्भावना हुन सक्छ ।      अघिल्लो संस्करणको भन्दा अवस्था फरक छ, नेपाल ‘वान डे’ स्टाटस् जोगाउन सङ्घर्षरत छ । क्यानडा र युएईसँगका खेल हार्नु नै नेपालका लागि चुनौती थपिएको हो । शीर्ष तीन स्थानमा रहेका अमेरिका, स्कटल्याण्ड र ओमानसँग वैशाख र जेठमा खेल्दै गर्दा उनीहरुसँगको नतिजा शतप्रतिशत आउँछ भन्ने ढुक्क छैन तर अगाडि बढ्न यसमा शतप्रतिशत नतिजा नआए शीर्ष छ भित्रै अटाउन कठिन बन्न सक्छ ।  श्रृङखला–२ मा को कसबीच प्रतिस्पर्धी      नेपाल, ओमान र यूएईबीचको श्रृङखला यही वैशाख १२ गतेदेखि २२ गतेसम्म हुने भएको छ । यसअघि नै हुने तय भए पनि इरान र अमेरिकाबीचको तनावका कारण भएको पश्चिम एसियाको सङ्कटका कारण स्थगित भएको थियो । नेपालले वैशाख १२ गते शनिबार युएईसँग, वैशाख १६ गते बुधबार ओमानसँग, बैशाख १८ गते शुक्रबार युएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ ।      नेपालले गत नोभेम्बर र अक्टोबरमा भएको श्रृङ्खलामा यएईसँग दुबै खेल हारेको थियो भने ओमानसँग २०२४ को सेप्टेम्बरमा भएको प्रतिस्पर्धामा दुईमध्ये एक खेलमा पराजय भोगेको थियो अर्को खेल भने स्थगित भएको थियो । लिग २ तालिकामा नेपाल २० खेलमा पाँच जितसहित १२ अङ्कका साथ पुछारबाट दोस्रो अर्थात सातौँ स्थानमा छ । नेपालले दुई खेलबाट एक–एक अङ्क बटुलेको छ । स्कटल्याण्ड र ओमानसँगको एक–एक खेल रद्द भएर दुबै टिमले अक बाँडेका थिए ।      ओमान २३ खेलमा १३ जित र ७ हारसँगै २९ अङ्कसहित तेस्रो स्थानमा छ । यसैगरी नेपाल जतिनै समान २० खेल खेलेको युएई ५ जित र १५ हारका साथ १० अङ्क बटुल्दै तालिकाको पुछारमा छ । यस्तै ओमान र युएई सम्मिलित श्रृङ्खला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को श्रृङ्खला सुरु हुनेछ । उक्त श्रृङ्खला बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चल्नेछ । नेपालले वैशाख २९ गते मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ । यसैगरी जेठ २ गते शनिबार अमेरिकासँग खेल्नेछ भने जेष्ठ ४ गते सोमबार पुनः स्कटल्याण्डसँग र जेठ ८ गते शुक्रबार पुनः अमेरिकासँग नेपालले प्रतिस्पर्धा गर्नेछ ।      दुबै श्रृङ्खला त्रिवि क्रिकेट मैदानमा हुनेछ । सबै खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपालले अमेरिकासँग यसअघि गत अक्टोबर–नोभेम्बरमा भएको प्रतिस्पर्धामा दुबै खेल हारेको थियो भने सन् २०२४ को अक्टोबर नोभेम्बरको दुबै खेलमा पनि नेपाल अमेरिकासँग स्तब्ध भएको थियो । गत जुनमा भएको श्रृङ्खलामा स्कटल्याण्डसँगको एक खेल जितेको नेपालले अर्को खेल भने उसैलाई सुम्पिएको थियो । सन् २०२४ को अक्टोबर नोभेम्बरको प्रतिस्पर्धामा १ खेल स्कल्याण्डसँग निराश बन्दा अर्को खेल रद्द हुँदा दुबैले अङ्क बाँडेका थिए ।  तलिकामा अमेरिकाको दबदबा      आइसिसी क्रिकेट विश्वकप लिग–२ तालिकामा अमेरिका २४ खेलमा १८ जित र छ हारका साथ ३६ अङ्क जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा १४ जित र आठ हारका साथ ३४ अङ्क जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्डले छ वटा खेलमा एक–एक अङ्क जोडेको छ । तेस्रो स्थानको ओमानसँग २४ खेलमा २९ अङ्क छ भने चौथो स्थानको नेदरल्यान्ड्सको २४ खेलमा १३ जित र नौ हारका साथ २८ अङ्क छ । उसको थप दुई अङ्क खेल रद्द हुँदा प्राप्त भएको छ । यसैगरी नामिबियाले २८ खेलबाट १० जित, दुई खेल नतिजाविहीन र १६ हारका साथ २२ अङ्क बनाएको छ । नामिबिया पाँचौँ स्थानमा छ । क्यानडा २४ खेलमा नौ जित, तीन नतिजाविहीन खेलको तीन अङ्कसँगै २१ अङ्कका छैटौँ स्थानमा छ । युएईले २० खेलमा पाँच जित र १५ हारबाट १० अङ्क मात्रै बनाएको छ । युएई तालिकाको पुछारमा छ ।  अहिलेसम्म भएका खेलका नतिजा     सन् २०२४ को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी क्रिकेट विश्वकप लिग २ अन्र्तगत नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले पहिलो खेलमा नामिबियासँग चार विकेटले हार्न पुग्यो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराउन सफल भयो । तेस्रो खेलमा गएर नामिबियासँग दुई विकेट पराजित हुँदा चौथो खेलमा नेदरल्याण्ड्सले नेपाललाई आठ विकेटले निरास बनाइदियो । यो श्रृङ्खलामा नेपालले मात्र दुई अङ्क जोड्न सक्यो ।      सन् २०२४ को सेप्टेम्बरमा क्यानडामा भएको चार खेलमा नेपालले कुनै पनि खेल जित्न सकेन । सो टुरमा क्यानडाले पहिलो खेलमा एक सय तीन रनले तथा अर्को खेलमा पाँच विकेटले हरायो । ओमानसँगको पहिलो खेल एक विकेटले नेपाालले सुम्पियो । अर्को खेल रद्द हुँदा यो टुरमा नेपालको खातामा एक अङ्क मात्र रह्यो ।  सन् २०२४ कै अक्टोबर र नोभेम्बरमा अमेरिकाको डल्लासमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ को अर्को श्रृङखला पनि नेपालका लागि त्यत्ति सुखद रहेन । तैपनि नेपालले यो टुरबाट तीन अङ्क बटुल्यो । स्कटल्याण्डसँगको खेल नतिजावीहिन हुँदा नेपालले त्यसबाट एक अङ्क पायो भने अर्को खेलमा स्कटल्याण्डलाई नै पाँच विकेटले पाखा लगायो । घरेलु दर्शक र मैदानको साथ पाएको अमेरिकाले भने दुबै खेल आफ्नो पक्षमा पार्यो । अमेरिकाले पहिलो खेलमा ३७ रनले तथा अर्को खेलमा तीन विकेटले नेपाललाई हरायो ।       सन् २०२५ को जुनमा स्कटल्याण्डमा भएको श्रृङ्खला नेपालका लागि सुखद रह्यो । खेलेका चार खेलमा तीन खेल जित्दै अघिल्ला तीन वटा श्रृङ्खलाबाट प्राप्त जत्तिकै छ अङ्क बटुल्यो । नेपालले आयोजक स्कटल्याण्डलाई पहिलो खेलमा एक विकेटले हरायो भने अर्को खेलमा स्कटल्याण्डसँग दुई रनले हार्न पुग्यो । यी दुबै खेलमा अन्तिम बलले जित र हारको निर्णय गरेको थियो । यो टुरमा नेदरल्याण्ड्स दुबै खेलमा नेपालसँग पराजित भयो । पहिलो खेलमा पाँच विकेट र दोस्रो खेलमा १६ रनले नेदरल्याण्ड्स पराजित भयो ।        सन् २०२५ को अक्टोबर नोभेम्बरमा युएईको दुबईमा भएको श्रृङ्खला नेपालका लागि पीडादायी रह्यो । युएई र अमेरिकासँगका सबै खेल नेपालले हार्न पुग्यो । युएईले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा पाँच विकेटले हरायो । यस्तै अमेरिकाले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा एक सय छ रनले पाखा लगायो ।  रोहित एकदिवसीय मात्र कप्तान      डब्लुसिएल–२ मा राम्रो नतिजा ल्याउनका लागि भनेर कप्तान रोहित पौडेललाई टी–२० फर्माटको कप्तानसहित खेलाडी सूचीबाटै हटाइएको छ । उनी यसअघि टी–२० र एकदिवसीय दुबै टिमका कप्तान थिए । क्यानले टी–२० को कप्तानका रुपमा दीपेन्द्र सिंह ऐरीलाई बनाएको छ । डब्लुसियलमा मात्र फोकस गरेर टिममा राम्रो नतिजा दिन यो निर्णय लिइएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । कप्तान रोहितसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाइएका थिए । रोहितसहित अनुभवी खेलाडीहरु करण केसी, सोमपाल कामी, ललित राजवंशी र आसिफ शेख टोलीमा नपरेपछि नयाँ युवा क्रिकेटरले अवसर । रासस

साइबर अपराध बढ्दो, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या : महानिरिक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा साइबर बुलिङ्ग लगायत साइबर अपराध तिब्र गतिमा बढिरहेको बताएका छन् । बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले इन्टरनेट र मोबाईलको बढ्दो प्रयोगसँगै साईवर अपराधका घटनाहरु वृद्धि भएको बताएका हुन् ।  उनकाअनुसार विशेषगरी महिला र युवाहरू साईबर अपराधका घटनाबाट बढी प्रभावित भएका छन् । हालको तथ्याङ्कअनुसार ४ हजारभन्दा बढी सामाजिक सञ्जालको फेक एकाउण्टबाट घृणा फैलाउने सम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका छन् ।  त्यसैगरी बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटनाहरू दर्ता भएको उनले जानकारी दिए । उनकाअनुसार सबैभन्दा बढी वित्तीय अपराधका १० हजार भन्दा बढी उजुरी प्रहरीकोमा परेको छ । एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की (थ्रेट) दिने, यौनजन्य हिंसा जस्ता गतिविधि व्यापक बन्दै गएको उनले जानकारी दिए ।  उनले भने, ‘नेपालमा साईबर बुलिङका घटनाहरुको वृद्धि भएको देखिन्छ, अहिले तथ्याङ्कअनुसार सबैभन्दा बढी वित्तीय अपराधलाई देखाउँछ, यो १० हजार पुगेको अवस्था छ । फेक एकाउन्टको ४ हजार माथी छ । बुलिङ र ह्यारेसमेन्टका ३ हजार भन्दा बढी घटनाहरु रिपोर्टेड छन् ।’  महानिरीक्षक कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरू विदेशी कम्पनीद्वारा सञ्चालित भएकाले साईवर अपराध सम्बन्धी मुद्दाहरुमा अनुसन्धानका लागि आवश्यक विवरण प्राप्त गर्न ठूलो चुनौती रहेको बताए । उनकाअनुसार नेपालमा सञ्चालित रहेको सामाजिक सञ्जालको प्लेटफर्महरूमा नेपाल प्रहरीको प्रत्यक्ष नेटवर्क र कानूनी व्यवस्था पनि पर्याप्त छैन । फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्मबाट विवरण लिन प्रहरीले व्यक्तिगत सम्बन्धको प्रयोग गर्नुपरेको उनको भनाई छ ।  उनले अनुसन्धानको लागी सामाजिक सञ्जाल प्रयोगकर्ताको विवरण प्रहरीकोमा आउन २०–२५ दिन लाग्ने गरेको छ । सामान्य ह्यारेसमेण्ट वा बुलिङका केसमा करिव एक हप्ताभित्र युजरनेम प्राप्त हुने भएपनि गम्भीर केस नाबालक हराएको वा आत्महत्या सम्बन्धी घटनामा भने २४ घण्टाभित्र जानकारी आउने गरेको उनले बताए । उनकाअनुसार नेपालमा प्लेटफर्म दर्ता नभएकाले अनुसन्धान ढिलो हुने र अनुसन्धान ढिलो हुँदा पीडितले न्याय नपाउने अवस्था सिर्जना हुने बताए ।     

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ३ निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ।  शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार इन्टिग्रेटेड वाटर सप्लाई एण्ड सेभरेज म्यानेजमेन्ट सेक्टर परियोजनाका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय तथा अन्य सम्झौताका कागजातलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । उक्त टोली अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा रहनेछ । यस्तै, २०७५ भदौ २१ को मन्त्रिपरिषद् निर्णयअनुसार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने व्यवस्था पुनरावलोकन गर्दै सो जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरिएको उनले बताउ ।  त्यसैगरी, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि सरकारले गरेको उनको भनाइ छ ।