चैतको वर्षा र हिमपातले रसुवामा आलु उत्पादन बढ्ने किसानको अपेक्षा
रसुवा । चैत महिनामा परेको वर्षाले यहाँका किसान यस वर्ष आलु उत्पादन बढ्ने आशामा उत्साहित देखिएका छन् । सोमबार परेको वर्षा र हिमपातले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादन वृद्धि हुने आशा उत्तरी रसुवाका किसानको छ । उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुग्ने बताइएको छ । उत्तरी रसुवाको गतलाङ क्षेत्रमा उल्लेख्य मात्रामा हिमापत भएको स्थानीय किसान मार लामाले बताए । विगत चार वर्षदेखि माथिल्लो क्षेत्रमा मात्र सीमित हिमपात यसपटक गाउँ आसपाससम्म देखिनु सकारात्मक रहेको स्थानीयको भनाइ छ । हाल आलुबाली गोडमेल गरी दाना लाग्ने चरणमा छ । यही समयमा परेको वर्षाले बोटलाई आवश्यक चिस्यान प्रदान गरेको हो । गतलाङ क्षेत्रमा आलु खनेपछि बन्दागोभी खेती गर्ने प्रचलन छ । यसका कारण यहाँ उत्पादन हुने आलु असारदेखि बजारमा आउने किसानले बताएका छन् । जसले किसानलाई थप आम्दानीको अवसर सिर्जना गरेको छ । कृषि विकास कार्यालय रसुवाले २०५० सालमा गतलाङ क्षेत्रलाई आलुको पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँका ५०० भन्दा बढी घरपरिवारको आलु प्रमुख नगदे बाली हो । आलु बिक्री गरेर किसानले चामल खरिद गरी ल्याउने गरेका छन् । यस वर्ष ३०० ट्रकभन्दा बढी आलु उत्पादन हुने किसानले अनुमान गरेका छन् । रासस
एनपीएल दोस्रो संस्करणबाट क्यानले कमायो ४७ करोड ३६ लाख, खुद नाफा ९ करोड २१ लाख
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले ४७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । सोमबार क्यानले दोस्रो संस्करणको एनपीएलमार्फत ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ । एनपीएल दोस्रो संस्करणमार्फत क्यानको खुद आम्दानी भने ९ करोड २१ लाख २१ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सञ्चालन गर्न २१ करोड ९७ लाख ५ हजार रुपैयाँ खर्च भएको क्यानको आय(व्यय विवरणमा उल्लेख छ । क्यानले आम्दानीको ५० प्रतिशत रकम ८ फ्रेन्चाइ टिमसँग पनि वितरण गर्ने गर्छ । जसअन्तर्गत १६ करोड १८ लाख ७३ हजार रुपैयाँ ८ फ्रेन्चाइलाई दिएको छ । आम्दानी बाढ्नु अघि क्यानको खुद आम्दानी २५ करोड ३९ लाख ९५ हजार रुपैयाँ रहेको जनाइएको छ ।
बले पक्राउ प्रकरण : आरोप बलात्कारको, अनुसन्धान अभद्र व्यवहारको
काठमाडौं । ‘स्टाटसकै भरमा पक्राउ गर्ने ? यो सरकारलाई नीति नियम, कानुन, प्रकृया केही चाहिँदैन,’ सामाजिक सञ्जाल प्रयोगकर्ता मातृका बराल लेख्छन् । कमल आचार्य पनि सामाजिक सञ्जालमा लेख्छन्, ‘यसरी एउटा स्टाटसकै भरमा समाउने हो भने कदम कदाचित गृहमन्त्री, प्रधानमन्त्रीका विरुद्ध कसैले एउटा स्टाटस लेखिदियो भने समाउने कि नसमाउने ? यति प्रश्नको उत्तर चाहियो ।’ ‘फेसबुकमा लेखेको भरमा सबै मिडिया खनिएर दोषी साबित गरिदिने, त्यसैका आधारमा सरकारले हतकडी लगाइदिने कस्तो समय आयो ?’ जीवन सापकोटाले पनि कलाकार बले अर्थात् सागर लम्साललाई प्रहरीले पक्राउ गरेको विरोधमा फेसबुकमा लेखेका छन् । सागरविरुद्ध हालसम्म प्रहरीमा कुनै औपचारिक किटानी जाहेरी नपरेर पक्राउ गरेको भन्दै केशवराज पोख्रेल लेख्छन्, ‘सामाजिक सञ्जालको एउटा पोस्टलाई आधार मानेर प्रहरीले उनलाई पक्राउ गरेको हो, जाहेरी नभएकै कारण उनलाई बलात्कारको मुद्दामा नभई शान्ति सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ५ दिनको अनुमति दिएका छन् ।’ कलाकार ज्योति मगरले सामाजिक सञ्जालमा हल्ला चलेको र रिस उठेको भरमा च्याप्प समाउँदै भित्र कोच्दै जाहेरी, उजुरी र कसुर केही नचाहिने भन्दै टिप्पणी गरेकी छन् । ‘कानुन विपक्ष लाई गलहत्याउन मात्र लाग्ने यदि अदालतले कानुन, प्रमाण र कसुरको आधारमा विपक्षको पक्षमा फैसला गरे दुई तिहाइले न्यायाधीशलाई खारेज गर्न सक्ने हुँदा न्यायाधीश पनि डरले थुरथुर,’ उनले लेखेकी छन् । शनिबार कलाकार सागर लम्साललाई काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गर्यो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाउँदै लामो स्टाटस लेखेकी थिइन् । बलात्कारको आरोप लागेपछि पक्राउ परेका कलाकार सागर लम्सालका विषयमा भ्रामक र अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रेस विज्ञप्तिमार्फत् बलेमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको भन्दै उनको विषयमा भ्रामक र अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न अनुरोध गरेको हो । बलेलाई पक्राउपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा उजुरीबिनै बलेलाई पक्राउ गरेको चर्चा भएपछि हामीले यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिज्ञासा राख्यौं । उनीविरुद्ध अहिलेसम्म कुनै उजुरी नपरेको प्रवक्ता पवन कुमार भट्टराईले बताए । अभद्र व्यवहार सम्बन्धीका मुद्दाहरू समाजलाई थोरै अशान्ति फैलाउने जस्तो महसुस भयो भने प्रहरीले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिने गरेको उनको भनाइ छ । ‘प्रहरीले यस मुद्दामा अनुसन्धान गरिरहेको छ,’ उनले भने । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रवक्ता मुक्तिराम रिजालले प्रहरीले कलाकार सागर लम्सालको म्याद थपका ल्याएको मात्र थाहा पाएको बताए । ‘सरकारी वकिल कार्यालयबाट पाँच दिनको म्याद थपका लागि कागजपत्रसहित प्रहरीहरू आउनु भएको थियो,’ उनले भने, ‘के कस्तो विषयमा हो सबै कुरा मलाई थाहा भएन ।’ प्रमुख जिल्ला अधिकारीले समय थपको अनुमति दिन सक्ने पनि रिजालले जानकारी दिए । काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट अभद्र व्यवहारमा मुद्दामा पाँच दिनको म्याद थप गर्न प्रहरीसहित सागर लम्साल आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक सूचना अधिकारीले श्रीराम ओझाले बताए । ‘प्रहरीले खाली अभद्र व्यवहारको मुद्दा थपको माग गरिएको थियो । प्रहरीले ठाडो प्रतिवेदन बनाएर अभद्र व्यवहारको मुद्दामा म्याद थप माग गरिएको थियो,’ उनले भने । प्रहरीले सामाजिक सञ्जालमा उठेका कुराले समाजमा प्रभाव पार्ने खालको देखेमा आवश्यक ठान्दै र गम्भीर मुद्दा जस्तो लागेमा अनुसन्धानसम्म गर्न सक्ने डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता सन्तोष सिग्देलले जानकारी दिए । प्रहरीले अनुसन्धान गर्न पाउने तर नियन्त्रणमा लिएर वा नलिई गर्ने भन्ने प्रशासनको अधिकार रहने उनको भनाइ छ । ‘कानुनी प्रकृयामा सबैले काम गर्नुपर्छ,’ अधिवक्ता सिग्देलले भने, ‘कतिपय अवस्थामा एउटा कानुनलाई लिएर पछि अर्को कानुन आकर्षित गर्न हुँदैन । यस्तो अवस्थालाई कानुनको दुरुपयोग भएको मान्न सकिन्छ ।’