लागुऔषधसहित विभिन्न ठाउँबाट ४१ जना पक्राउ

काठमाडौं ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद ६८ हजार २०० रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको छ ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, वीरेन्द्रनगर नगरपालिका-८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका-१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।  अभियुक्त शनिबार पक्राउ परेका हुन् । उनीहरुबाट नगद र लागुऔषध जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको छ । यसैगरी, काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक, बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट र १६ हजार ५०० नगदसहित पक्राउ गरिएको छ । यसैगरी, इलामको सूर्योदय नगरपालिका-११ कालापानीबाट दुई, झापाको भद्रपुर नगरपालिका–५ बाट नौ, शिवसताक्षी नगरपालिका-१ बाट दुई, कञ्चनपुरको वेदकोट नगरपालिका-८ बाट दुई, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट दुई, रुपन्देहीको बुटवल उपमहानगरपालिका-१५ गोब्रैयाबाट दुई, सैनामैना नगरपालिका-५ बुद्धनगरबाट एकजनालाई पक्राउ गरिएको हो ।  यसैगरी, विराटनगर महानगरपालिका-१५ बाट एक, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिाका–२ बिसौनीबाट एक, दाङको घोराही उपमहानगरपालिका-५ बाट शीतलपुरबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका-६ रानीपुरबाट चार जना, पोखरा महानगरपालिका-५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ नगरपालिका-२ राधापुरबाट एक जनालाई चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २५० थान नाइट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको जनाइएको छ ।  

१२ दिनमै २३ जनाको ज्यान लिने विपद्

काठमाडौं ।  विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै २३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका ४२२ वटा विपद्का घटनामा उनीहरुको मृत्यु भएको छ । ती घटनाबाट ७३ जना घाइते भएका र ५२७ परिवार प्रभावित भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सात जनाको आगलागीमा परे ज्यान गएको छ ।  चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै वन डढेलोबाट एक, सर्पदंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ ।  घाइते हुनेमा पनि सबैभन्न्दा बढी आगलागीबाट २४ जना रहेका छन् । सर्पदंशबाट १९ र जनावरको आक्रमणबाट १३ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।  पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ ।  प्राधिकरणले विपद्जन्य घटनाका सावधानी अपनाउन र घटना भएमा तत्काल सम्बन्धित ‘फोकल पर्सन’ वा प्रहरी कार्यालय तथा प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ । 

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले यूएईलाई ३७ रनले पराजित गर्‍यो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो । खेलमा नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए । त्यसैगरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । नेपालका दीपेन्द्रसिंह ऐरी र ललीत राजवंशीले समान एक विकेट लिए । ब्याटिङतर्फ यूएईका हरप्रित सिंहले ३९ रन बनाए । ५२ बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यसैगरी, मुहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रन जोडे । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् । नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिए । अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए ।