काठको मुढाले च्यापिएर बालकको मृत्यु
काठमाडौं । काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ । मुढाले च्यापिएर सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय कविन्द्र बुढाको मृत्यु भएको हो । सर्केगाड-८ स्थित निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढाको भेडा चराउन गएको बेला काठको मुढाले च्यापिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । काठ चिरान गर्ने क्रममा सर्केगा-८ का धनविर सार्की र सोही ठाउँका सुकविर सार्कीले काठको मुढा पल्टाउने क्रममा बालक बुढा मुढाले च्यापिएका थिए । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए । धनविर र सुकविरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इराकी युवक र नेपाली युवतीले गरे काठमाडौंमा 'हिन्दू विवाह'
काठमाडौं । भनिन्छ, प्रेमको कुनै निश्चित भूगोल हुँदैन, न त यसले जात र धर्मकै सीमा मान्दछ । यही भनाइलाई चरितार्थ गर्दै झण्डै चार हजार किलोमिटर टाढाको मुलुक इराकबाट प्रेम खोज्दै आएका एक युवक र नेपाली युवतीबीच काठमाडौंमा भव्य विवाह सम्पन्न भएको छ । पछिल्लो समय नेपाली समाज सांस्कृतिक रूपमा उदार बन्दै गएको छ । अन्तर्जातीय मात्र होइन, अन्तरदेशीय वैवाहिक सम्बन्धहरूलाई पनि समाजले सहजै स्वीकार्न थालेको छ । यसैको पछिल्लो कडी बनेको छ– इराकी युवक हम्जा अल्हादिती र काठमाडौंकी आस्था पियाको वैवाहिक गाँठो । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलस्थित एक रेस्टुरेन्टमा मुस्लिम समुदायमा हुर्किएका इराकी युवक हम्जा र हिन्दू परम्परामा हुर्किएकी नेवार समुदायकी आस्था पियाले हिन्दू संस्कार र संस्कृतिअनुसार लगनगाँठो कसेका हुन् । मुस्लिम धर्मालम्बी हम्जाले हिन्दू परम्परालाई सम्मान गर्दै सोही विधिअनुसार विवाह गरेका हुन् । उनीहरू दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूको यो सम्बन्ध अन्ततः लगनगाँठोमा परिणत भएको हो । प्रेमले जात र धर्मको सीमारेखा तोड्छ भन्ने कुरालाई यी जोडीले व्यवहारमै प्रमाणित गरिदिएका छन् । आस्था र हम्जाको यो मिलनले प्रेममा कुनै पर्खाल हुँदैन र आपसी सम्मान नै सफल दाम्पत्यको आधार हो भन्ने सन्देश दिएको छ । फरक भूगोल, फरक धर्म र फरक भाषा भए पनि उनीहरूलाई एउटै सूत्रमा बाँध्ने कडी भनेको 'प्रेम' नै बन्यो ।
जेनजीहरु रोजगारी माग्न आउँछन्, आश्वासन बाहेक केही दिन सकेनौँ : मन्त्री यादव
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले जेनजी युवालाई सरकारले रोजगारी दिन नसकेको बताएका छन् । बिहीबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले जेनजी आन्दोलनमा घाइते भएका युवाहरू रोजगारीको माग लिएर मन्त्रालयमा लगातार आउने गरेको भएपनि आश्वासन दिएर मात्रै पठाउने काम भएको बताएका हुन् । उनकाअनुसार मन्त्रालयमा दैनिक हजारभन्दा बढी युवा रोजगार माग्न आउने गरेका छन् । उनकाअनुसार श्रम मन्त्रालयको मुख्य जिम्मेवारी प्रत्यक्ष रोजगारी सिर्जना गर्नु नभई सीप विकास, प्लेसमेन्ट र रोजगारसँग जोड्ने काम मात्र हो । तर हरेक दिन युवाहरु रोजगार माग्न आउने गरेको उनको भनाई छ । मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा घाइतेहरूलाई सीपमूलक तालिम दिने योजना राखिएको भएपनि रोजगारीको ग्यारेन्टी गर्न नसकिने बताए । राष्ट्रिय रोजगार कार्यक्रमको बजेट भारी कटौती भएको छ । पहिले १३ अर्ब रुपैयाँ रहेको कार्यक्रम अहिले घटेर १ अर्ब २० करोड रुपैयाँमा सीमित भएको उनको गुनासो छ । उनकाअनुसार देशभर अधिकतम १७ हजार जनालाई मात्रै १०० दिनको रोजगारी दिन सकिने बताए । मन्त्री यादवकाअनुसार आगामी आर्थिक वर्षमा मन्त्रालयको कुल बजेटसमेत घट्नेगरि सिलिङ दिइएको छ । उनले मन्त्रालयले सीपमुलक तालिम आयोजना गरेर निजी क्षेत्रसँग रोजगारीका लागी समन्वय गर्नेगरि काम अगाडी बढाएको जानकारी दिए ।