काठमाडौं । राजधानीमा नयाँ आउने विद्यार्थी, जागिरे, परिवार वा राजनीतिक कार्यकर्ता लगायत सबैलाई एउटा साझा समस्या हुन्छ– ‘काठमाडौंमा कोठा खोज्ने ।’ यही समस्याको सहज समाधान बनेकी छन् मञ्जु कोइराला, जसलाई धेरैले ‘मञ्जु आमा’ भनेर चिन्छन् ।
विगत लामो समयदेखि काठमाडौंका अनामनगर, घट्टेकुलो, मैतीदेवी, बागबजार, बबरमहल, नयाँबानेश्वर लगायत क्षेत्रमा कोठा खोजिदिँदै आएकी मञ्जुले सयौं मानिसलाई बसोबासको व्यवस्था मिलाइदिएकी छन् । सामान्य नागरिकदेखि मन्त्री भइसकेका व्यक्तिसम्म उनका ग्राहक बनेका छन् । कोठा खोजिदिएबापत उनले निश्चित कमिसन लिने गर्छिन्, जुन अधिकांशले सहज रूपमा दिने गरेका छन् ।
तर, यसपटक भने उनलाई आफ्नै सेवाको पारिश्रमिक पाउन संघर्ष गर्नुपर्यो । गत चैत १६ गते प्रतिनिधिसभा सदस्य जनक गिरीले मञ्जु आमालाई फोन गरेर काठमाडौंमा बस्नका लागि कोठा खोजिदिन आग्रह गरे ।
सांसद र उनका कार्यकर्ताको धेरै आउजाउ हुने भएकाले घरबेटीहरू सांसदलाई कोठा दिन हिच्किचाउने गरेको अनुभव मञ्जु आमाले सुनाइन् । त्यसैले सुरुमा उनले असहजता व्यक्त गरिन् ।
तर, सांसद गिरीले कार्यकर्ता धेरै आउँदैनन् भन्ने प्रतिबद्धता जनाएपछि उनले कोठा खोज्ने जिम्मा लिइन् । त्यसपछि सांसद गिरीकी श्रीमती र अर्जुन नाम गरेका व्यक्ति कोठा हेर्न पुगे ।
चैत १८ गते कोठाको तयारी गरियो, कार्पेटको नाप लिइयो र घरभाडा समेत बुझाइयो । चैत २५ गतेदेखि सांसद गिरी उक्त घरमा बस्न थाले । मञ्जुका अनुसार कोठा खोजिदिएबापत ४ हजार रुपैयाँ कमिसन दिने सहमति भएको थियो । तर, एक महिनाभन्दा बढी बितिसक्दा पनि उनले आफ्नो रकम पाउन सकेकी छैनन् ।
‘उहाँले आफैं फोन गरेर कोठा खोजिदिन भन्नुभयो । कमिसन तिर्छु भन्नुभएको थियो । तर, अहिलेसम्म दिनुभएको छैन,’ मञ्जुले गुनासो गर्दै भनिन्, ‘सांसद जस्तो मान्छेले नै मलाई झुक्याउनुभयो ।’ आफूले पटक–पटक रकम माग्दा अर्जुनले दिन्छु भन्दै टार्ने गरेको उनले सुनाइन् ।
काठमाडौंमा अरूको बसोबासको समस्या समाधान गर्दै हिँड्ने मञ्जु अहिले भने आफ्नै कमिसन पाउन संघर्ष गरिरहेकी छन् । सामान्य नागरिकले सहजै बुझाउने कमिसन एउटा जनप्रतिनिधिबाट नपाउँदा उनी दुखी बनेकी छन् । यो घटना केवल ४ हजार रुपैयाँको विषय मात्र होइन, श्रमको सम्मान र प्रतिबद्धताको नैतिकताको प्रश्न पनि रहेको उनले बताइन् ।
सांसद गिरीले आफूले मञ्जु आमालाई कमिसन दिन अस्वीकार नगरेको बताउँदै माग गरिएको रकम अत्यधिक भएको दाबी गरे । उनले कोठा खोज्ने जिम्मा आफ्ना नातेदार अर्जुनलाई दिएको र सम्पूर्ण समन्वय पनि उनैले गरेको बताए ।
‘मैले अर्कोलाई जिम्मा दिएको थिएँ । मैले १ हजार ५ सय रुपैयाँ कमिसन दिएको हो,’ सांसद गिरीले भने, ‘तर, उहाँले ५ हजार रुपैयाँ माग्नुभयो । ५ हजारको कोठा खोजेर ५ हजार कमिसन माग्नु उचित भएन नि ।’
आफूले २ हजार रुपैयाँसम्म दिन तयार रहेको भए पनि मञ्जुले नलिएको बताए । ‘अरूले पनि १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म कमिसन लिने गरेका छन् । मैले २ हजार रुपैयाँ लैजानुस् भनेर भनेकै थिएँ,’ उनले भने ।
सांसद गिरीका अनुसार आफूले दुइटा कोठा र एउटा किचेन भाडामा लिएका थिए । अर्जुन बुढा उनका नातेदार रहेको र कोठा सम्बन्धी सम्पर्क तथा कमिसनको विषय पनि उनैले हेरेको उनले बताए ।
साथै, सांसद गिरीले आफू अहिले उक्त कोठा छोड्ने तयारीमा रहेको पनि बताए । कोठा पुरानो भएको, पानीको समस्या रहेको तथा बस्न असहज भएको भन्दै उनले नयाँ ठाउँमा सर्ने योजना बनाएको जानकारी दिए । ‘कोठा पुरानो रहेछ, पानी पनि नआउने समस्या रहेछ । अब अर्को ठाउँमा सर्ने तयारी गरिरहेको छु,’ उनले भने, ‘कोठा लिनु नै गलत भयो ।’
सांसद गिरी नेपाली कांग्रेस पार्टीका नेता हुन् । उनी बाजुरा जिल्लाबाट प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका थिए । उनले रास्वपाका उम्मेदवार हेमराज थापा र नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश शाहलाई पराजित गरेका थिए ।