रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम

ललितपुर । नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे) संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।      चोरी सिकारी तथा जङ्गली कुकुरको आक्रमणका कारण सङ्कटमा परेको रेडपाण्डा संरक्षणका लागि अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रका स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कोषले जनाएको छ ।          कोषका अनुसार विश्वका विभिन्न देशमा पाण्डाका विभिन्न प्रजाति पाइए पनि नेपालमा भने रेडपाण्डा (रातो हाब्रे) मात्र पाइन्छ । नेपालमा करिब ४०० देखि ६०० को सङ्ख्यामा रेडपाण्डा रहेको अनुमान गरिए पनि पछिल्लो समय यसको सङ्ख्या घट्दै गएको जनाइएको छ ।       रेडपाण्डा विशेषगरी निगालो घारीमा बस्ने र टुसा खाने गर्दछ । जङ्गली कुकुरको आक्रमण तथा यसको छाला बिक्री हुने भन्ने भ्रमका कारण पनि चोरी सिकारीको जोखिम बढ्ने गरेको पाइएको छ ।   

हरिबहादुरले मिठाईको व्यापारले जोडे घरजग्गा, छोरीहरूलाई पठाएँ अमेरिका र अस्ट्रेलिया

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।  साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उनले भने, 'गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।' उनी सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आएका छन् ।  स्वदेशमा परिश्रम गरिरहेका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउँछन् । पचासदेखि ०५८ सालसम्म उनको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किने । फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन जोडे । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्यो । कान्छी छोरीलाई काठमाडौं राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने खर्च पनि यसै पसलले धानिरहेको छ । 'झापाको विर्तामोडमा जोडेको घर, नयाँचोकमा जोडेका जमिनहरु त्यतिबेलाकै व्यापारले हो ।' उनी भन्छन्, '०५० सालमा फिक्कल आएर २२ हजार लगानीमा पसल सुरु गरेँ । महिनाको रु २०० भाडा तिर्नुपथ्र्यो । पाँच रुपैयाँमा पेट अघाउने खाजा बेच्दा पनि पैसा कमाइयो । छोरीहरुलाई ‘सेटल’ गराएँ । मिठाई बेचेर खुसी कमाएको छु ।'  अहिले पनि उनको पसल (जनता मिष्ठान्न भण्डार) उत्तिकै चलेको छ । तर, त्यो बेलामा जस्तो नाफा हुँदैन । तामाङ भन्छन्, 'महँगी बढेको छ । सामान किनिसक्नु छैन । मान्छे त आइरहन्छन् । तर, प्रतिस्पर्धा बढ्यो । पसल धेरै छन् । तैपनि ६०–७० हजार बचाउँछु ।' उनको इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको भविष्य बनायो । 'जेठी छोरीलाई काठमाडौँमा नर्सिङ पढाएर अमेरिका पठाएँ, माइली अस्ट्रेलियामा छिन्, कान्छी काठमाडौँमै चार्टर एकाउन्टेन्ड र बिएबीएस पढ्दैछिन् । मलाई सन्तोष छ ।' छोरीहरूको पढाइका लागि उनले बिर्तामोडमा बनाएको घर बिक्री गरेको बताए । समयसँगै व्यापारको स्वरूप फेरियो । पहिले फिक्कलस्थित पशुपतिनगर स्टेनमा रहेको त्यही पसल फिक्कल बजारको इलाम स्टेन मुनितिर सरेको २० वर्ष भयो । खाजाको मूल्य रु पाँचबाट बढेर रु १५० पुगेको छ । समोसा, सेलरोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजियासम्मका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन् । उनी भन्छन्, 'प्रतिस्पर्धा बढ्यो, ग्राहकको बानी फेरियो । अहिले जाँडरक्सी बेच्ने धेरै छन्, तर मैले कहिल्यै मदिरा, सुर्ती, चुरोट बेचिनँ ।' विसं २०४२ तिर उहाँ झापाको काँकडभिट्टामा रिक्सा चलाइरहेन्थ्ये । छ सय मजदुरको विश्वास जित्दै रिक्सा सङ्घको कोषाध्यक्ष बनेका थिए । पछि केही समय होटलमा पनि काम गरेर मिठाई पसल सुरु गरेको उनी बताउँछन् । आज पनि उनी पसलमै व्यस्त छन् । उमेर ढल्किँदै गए पनि कामप्रतिको लगाव उस्तै छ । 'काम नगरी हुँदैन, तर अहिलेका केटाकेटीले यस्तो दुःख गर्न चाहँदैनन्,' उनी भन्छन् ।  ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो । त्यहाँबाट सामान खरिद बिक्री गर्न भारी बोकेर आउजाउ गर्नुपथ्र्यो । 'बिहानै भारी बोकेर फिक्कल हिँडिन्थ्यो । हरिको मिठाई पसलमा पुगेर खाजा खाने भन्दै जान्थ्यौँ । यी मान्छे पुराना हुन् । अहिले पनि उसैगरी व्यापार गर्छन् ।' गोर्खेका ७६ वर्षीय वीरबहादुर राईले सुनाए, 'अहिले पनि फिक्कल जाँदा हरिको पसलमा समोसा नखाई फर्किन्न ।' रासस

गुण्डागर्दी र तस्करी विरुद्ध शून्य सहनशीलता अपनाउन आईजीपी दान बहादुर कार्कीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट बोली वचन एवम् व्यवहारलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कुनै पनि कमी कमजोरी नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् । महानिरीक्षक कार्कीले सरकारद्वारा लागु गरिएका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी  आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखि सोही अनुरूप आवश्यक सुरक्षा रणनीति अपनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताए । लागूऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्ताहरूलाई लक्षित गरी सुधारात्मक कार्यक्रमहरू गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने उनले उल्लेख गरे । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न पनि उनले निर्देशन दिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । गुण्डागर्दी विरूद्ध थप निर्मम रूपमा प्रस्तुत हुनपर्नेमा जोड दिँदै फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउलाई तदारूकताका साथ दायित्वबोध गरी अझ सक्रिय रूपमा कार्य गर्न उनले निर्देश गरे । प्रहरी महानिरीक्षक कार्कीले परिवर्तनलाई आत्मसात् गरी सोही अनुरूप समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता तथा प्रभावकारिता अझ वृद्धि गर्न जरूरी रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तर सम्म प्रहरीको छवि वृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गरी कार्य गर्न सबै प्रहरी कर्मचारीहरू कटिवद्ध हुनुपर्ने पनि बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखि नागरिक सुनुवाई कार्यक्रमहरू मार्फत उचित सूचनाहरू प्रवाह गरी नागरिकहरूले महसुस गर्न सक्ने गरी प्रहरीले सेवा दिनुपर्ने उनको भनाइ छ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तीको लागि सबै प्रहरी कर्मचारीहरू प्रतिबद्ध हुनुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उनले बताए । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।