रुस र युक्रेनको द्वन्द्व : युक्रेनमा रहेका नेपालीहरु स्वदेश फर्कनू

काठमाडौं । युक्रेनमा बसेका नेपालीलाई नेपाल फर्कन आग्रह गरिएको छ । जर्मनस्थित नेपाली दूतावासाले युक्रेनमा बसेका नेपालीलाई यथाशीघ्र सुरक्षित भएर नेपाल फर्कन अनुरोध गरेको  । ‘रुस तथा युक्रेनबीचको तनावको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गर्दै कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण गर्न लाग्नुभएका नेपाली नागरिकहरूलाई राजदूतावासबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि त्यस्तो भ्रमण स्थगित गर्नुहुन अनुरोध गरिन्छ,’ दूतावासले जारी गरेको सूचनामा बताइएको छ । दूतावासले युक्रेनमा रहेका नेपाली नागरिकहरूलाई कुनै सहयोगको आवश्यकता परेमा नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न आग्रह गरेको छ ।   

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा शनिबार बिहान यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।       जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे१ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र-न-२-०३-००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।      दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी छ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका सूचना अधिकारी खड्काले जानकारी दिए।      घाइतेमध्ये योगमायाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको जनाउँदै उनले अन्य घाइतेको नगर अस्पताल गौरादहमा उपचार भइरहेको बताए । प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ । प्रहरी चौकी महारानीझोडाले टिपर चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।  डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो ।  यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौतासमेत सम्पन्न भएको छ । अनुमतिअनुसार सरकारद्वारा भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन (सतनचुली संरक्षित क्षेत्र) तथा सतनचुली सामुदायिक वन, साथै भरतपुर महानगरपालिका–२९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार २६३ वटा रुख कटान गरिने तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।  कटान गरिएका रुखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा सब–डिभिजन वन कार्यालयले सुरक्षित ठहर गरेको स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कूल ९२.७३ हेक्टर वन क्षेत्र (चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर) प्रयोग गर्न तथा उक्त क्षेत्रमा रहेका नै हजार १२७ वटा रुख हटाउन स्वीकृति प्रदान गरिएको थियो ।  सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भू–संरक्षण विभागबीच सम्झौता सम्पन्न भएको थियो । उक्त सम्झौतापश्चात डिभिजन वन कार्यालय, आयोजना तथा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहहरूको समन्वय र रोहबरमा प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने रुखहरूको छपान कार्य अघि बढाइएको हो । तनहुँ जिल्लाअन्तर्गत पर्ने रुखहरूको छपान कार्य हाल जारी रहेको छ ।