हिमालय स्पोर्ट्स र डीगोमा विश्वकप फुटबल हेर्न पाइने, यस्तो छ ग्राहक शुल्क
काठमाण्डौ । एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो । अब नेपाली दर्शकले हिमालय स्पोर्टस् टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन् । नेपालभित्र यी दुई प्लेटफर्मबाहेक अन्य कुनै माध्यमबाट विश्वकप हेर्न नपाइने जनाइएको छ । नेपालका लागि फिफा प्रसारण अधिकार प्राप्त एसप्रो मिडियाले टेलिभिजनतर्फ हिमालय स्पोर्टस् र हिमालय टेलिभिजन तथा मोबाइल एपतर्फ डीगो एपसँग एक्सक्लुसिभ प्रसारण सम्झौता गरेको हो । सम्झौतापछि एसप्रो मिडियाका अध्यक्ष सोम धितालले नेपाली दर्शकले अब नेपाली टेलिभिजन र मोबाइल एपमै विश्वकप हेर्न पाउने वातावरण बनेको बताए । उनले विदेशी च्यानलमा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको उल्लेख गरे । सोही अवसरमा हिमालय टेलिभिजनको खेलकुद विशेष च्यानल ‘हिमालय स्पोर्टस्’को औपचारिक शुभारम्भ पनि गरिएको छ । हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल तथा हिमालय स्पोर्टस्‌का प्रमुख कार्यकारी अधिकृत सुरज गिरीले च्यानलको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष भुसालले हिमालय टेलिभिजनले सब्सक्रिप्सन मोडलमार्फत विश्वस्तरीय कन्टेन्ट नेपालमा प्रसारण गर्ने नयाँ अध्याय सुरु गरेको बताए । त्यस्तै, कार्यकारी निर्देशक श्याम कँडेलले खेल अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित उत्कृष्ट गुणस्तरमा खेलसम्बन्धी कन्टेन्ट प्रसारण गर्न हिमालय स्पोर्टस् च्यानल सुरु गरिएको जानकारी दिए । सोही समारोहमा डीगो मोबाइल एपको पनि शुभारम्भ गरिएको थियो । यसअघि ‘डिसहोम गो’ नाममा रहेको मोबाइल एपलाई नयाँ प्रविधि र नयाँ स्वरूपसहित ‘डीगो’ नामबाट सार्वजनिक गरिएको हो । डिस मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकाल, निर्देशक सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेलले एपको शुभारम्भ गरे । अध्यक्ष ढकालले प्रविधि, बजार र दर्शक एकैसाथ तयार रहेको अवस्थामा लगानीका हिसाबले यो सुनौलो अवसर भएकाले डीगोलाई फिफा विश्वकपसँगै नयाँ स्वरूपमा सार्वजनिक गरिएको बताए । उनले विश्वभर रहेका नेपालीलाई कन्टेन्टमार्फत जोड्ने उद्देश्यसहित डीगो अघि सारिएको उल्लेख गरे । यस्तो छ ग्राहक शुल्क फिफा विश्वकप हेर्न दर्शकले टेलिभिजनमा हिमालय स्पोर्टस् च्यानल सब्सक्राइब गर्नुपर्नेछ । टेलिभिजनमा विश्वकप हेर्न प्रति सेटअप बक्स ९ सय ९९ रुपैयाँ (करसहित) शुल्क लाग्नेछ। हाल अर्ली बर्ड अफरअन्तर्गत डीगो एपमार्फत सीमित अवधिका लागि ७ सय ९९ रुपैयाँमा ग्राहक पास खरिद गर्न सकिने जनाइएको छ । मोबाइलबाट मात्रै हेर्न चाहने दर्शकका लागि ५ सय ४९ रुपैयाँ (करसहित) शुल्क तोकिएको छ । उल्लेखित शुल्क तिरेपछि दर्शकले विश्वकपका सबै १ सय ४ खेल हेर्न पाउनेछन् । टेलिभिजनको ग्राहक बन्न सम्बन्धित केबल अपरेटर वा टेलिभिजन सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने जनाइएको छ ।
बहुविवाह गरेर फरार रहेका श्रेष्ठ पक्राउ
काठमाडौं । बहुविवाह गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार ललितपुर प्रहरीले बहुविवाह मुद्दा गरेर रहेका ३५ वर्षीय सुदीप कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । अदालतले श्रेष्ठलाई २ वर्ष ६ महिना कैद र पच्चिस हजार रुपैयाँ तोकेको थियो । धनुषा गणेशमान चारनाथ नगरपालिका ५ का ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ७ चाँगाथली बस्ने श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीले उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेर फैसला कार्यन्वयनको लागि अदालतमा पेश गरिसकिएको छ ।
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमको स्वागत गरेको छ । आज एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा नीति तथा कार्यक्रममा समेटिएका विषयको स्वागत गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम गैरआवासीय नेपालीलाई उच्च प्राथमिकताका साथ समेटिनु अत्यन्त सकारात्मक कदम भएको विज्ञप्तिमा उल्लेख छ । 'विश्वका विभिन्न देशहरूमा आफ्नो मिहिनेत, ज्ञान, सीप, अनुभव र क्षमतामार्फत पहिचान बनाइरहेका लाखौँ नेपालीहरूको भावना, योगदान र सम्भावनालाई राज्यले औपचारिक रूपमा स्वीकार गर्दै राष्ट्रिय विकासको मूलप्रवाहसँग जोड्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नु आफैँमा स्वागतयोग्य विषय हो', विज्ञप्तिमा भनिएको छ । विशेषगरी ‘डायस्पोरा विज्ञ सञ्जाल’ तथा ‘ज्ञान बैंक’ स्थापना गर्ने घोषणा, प्रवासमा रहेका नेपालीहरूको पुँजी, सीप, अनुभव, प्रविधि तथा अन्तरराष्ट्रिय नेटवर्कलाई नेपालको सामाजिक तथा आर्थिक विकाससँग जोड्ने सरकारको सोचले नयाँ आशा र भरोसा अभिवृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ । 'आज विश्वभर रहेका नेपालीहरू केवल रेमिट्यान्सको स्रोतमात्र होइनन्, ज्ञान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता, अन्तरराष्ट्रिय पहुँच र विश्वव्यापी ज्ञान र अनुभवका विशिष्ट वाहक हुन् भन्ने यथार्थलाई नीति तथा कार्यक्रमले अङ्गीकार गर्नु आफैँमा सकारात्मक पहल हो', एनआरएनएले भनेको छ । यसैगरी, पुँजीबजार सुधार, धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना, संस्थागत लगानी विस्तार, पूर्वाधार बन्ड, ऋण तथा बन्डबजार विकास, जोखिम व्यवस्थापन प्रणाली सुदृढीकरणलगायत कार्यक्रमले नेपालमा लगानीमैत्री वातावरण निर्माण गरी दीर्घकालीन आर्थिक स्थायित्व र आर्थिक रूपान्तरणको आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ । गैरआवासीय नेपालीहरूको लगानीलाई सुरक्षित, पारदर्शी र सहज बनाउने तथा प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गर्ने सरकारी प्रतिबद्धताले प्रवासी नेपालीहरूलाई नेपालमा लगानी विस्तार गर्न थप प्रेरित गर्ने प्रवक्ता सापकोटाले उल्लेख गरेका छन् । 'गैरआवासीय नेपालीहरूको नागरिकता, वित्तीय पहुँच, लगानी सुरक्षा तथा लोकतान्त्रिक अधिकारसँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्था थप सुदृढ गर्ने विषय पनि महत्त्वपूर्ण छ', विज्ञप्तिमा उल्लेख छ ।