सुकुम्वासी बस्ती हटाउने क्रम जारी, हालसम्म ६८ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अनधिकृत बस्तीहरू खाली गराउने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा काठमाडौं महानगरपालिका-११ स्थित थापाथलीको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ को गैरीगाउँ र वडा नम्बर ३१ को शान्तिनगरमा बस्ती हटाउने क्रम जारी रहेको छ । यस्तै, कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटार बुद्धचोक तथा वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू पनि खाली गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले स्थानीयवासीलाई सामान उठाउन तथा ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन् । प्रभावित परिवारहरूले पनि सरकारको कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको जनाइएको छ । हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको छ । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशालामा पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरिनेछ र त्यसपछि काठमाडौंका विभिन्न होटलहरूमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ । हालका लागि घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा सुरक्षित रूपमा राखिएको छ । अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान प्रक्रिया भोलिदेखि सुरु गरिनेछ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका-१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ । त्यसपछि उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम अघि बढाइने सरकारको तयारी छ ।

हवाइफायरिङ गरेर ३ जना लागुऔषध कारोबारी पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।      जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी रमेश विष्टले नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ स्थित शान्तिनगरचोक नजिक तीन राउण्ड हवाइफायरिङ गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकाहरूको साथबाट ३७० ग्राम ब्राउनसुगरसमेत प्रहरीले बारमद गरेको छ ।       पक्राउ गरेर नियन्त्रणमा लिएकामा नेपालगन्ज उपमहानगरपालिका २२ का ३५ वर्षीय नुरमोहम्मद किङ्गरिया, सोही स्थानका २८ वर्षीय दिनेश बासखोरी र २९ वर्षीय सरोश शाही रहेको प्रहरी निरीक्षक विष्टले उल्लेख गरे । उनले धेरै दिनको प्रयासपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिँदै कार्यालय सुरु भएपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने बताए ।    'हामीले धेरै दिनदेखि पिछा गरिरहेका थियौँ र सुराक पनि परिचालन गरेका थियौँ, आज कारोबार गर्न लागेको समयमा पक्राउ गर्न सफल भयौँ', उनले भने । बाँकेमा दैनिकजसो प्रहरीले लागुऔषधमा संलग्न भएका व्यक्ति र कारोबारीलाई पक्राउ गर्दै आएको छ ।     

रङ्गशालामा सुकुम्वासीको स्क्रिनिङ, २३ परिवारको लगत सङ्कलन, ४ लाई कीर्तिपुर पठाइयो

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुम्वासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन् ।       अपरान्ह १:३० बजेसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिए । सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको उनले बताए ।       'वास्तविक सुकुम्वासीको परिवार सङ्ख्या, घरमुलीको नामलगायत विवरण सङ्कलन गरिरहेका छौँ । त्यसपछि तत्कालका लागि तोकिएको ‘सेल्टर’मा पठाउँछौँ', केसीले भने, 'सेल्टरमा उहाँहरूलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था सरकारले गरेको छ ।' अस्थायी बसोबासस्थलमा उहाँहरूको व्यवस्थापन भएपछि दोस्रो चरणमा राज्यले जमिन प्रदान गर्ने कार्य थालनी गरिने उनले जानकारी दिए ।       थापाथलीमा अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइएपछि ती परिवारलाई सरसामानसहित रङ्गशाला ल्याइएको हो । अहिले पनि सुकुम्वासीहरू आफ्नो जाने थातथलो कहीँ नभएको भन्दै सरकारी सहयोगको खोजीमा रङ्गशाला आउने क्रम जारी छ ।       'वास्तविक सुकुम्वासीहरू यहाँ आउनुभएको छ, अन्य आफ्नो व्यवस्था गरी गइसक्नुभएको छ', प्रमुख केसीले भने, 'केही परिवार यहाँ आएर पनि सरकारले तोकेको ठाउँमा नबस्ने भनी निस्कनुभएको छ ।' उनका अनुसार रङ्गशालाभित्रै सुकुम्वासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली खटिएको छ ।       सुकुम्वासी परिवारलाई सुरक्षित बसोबास स्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली खटिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए ।      यसैबीच, थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने काम सम्पन्न भएको छ । त्यहाँ अवैध रूपमा निर्माण गरिएको संरचना डोजर लगाएर हटाइएको छ । केही सुकुम्वासी परिवार आफ्नो सरसामानलाई सुरक्षित रूपमा अन्यत्र लैजान खटिइरहेका छन् ।      सुरक्षाकर्मी लगायतको टोलीले अहिले सिनामङ्गल-गैरीगाउँ क्षेत्रमा रहेका अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ । सो क्षेत्रमा रहेका सुकुम्वासी/भूमिहीन परिवारले पनि सरकारको निर्देशन पालना गर्दै आफ्ना घर टहरा भत्काएर सर-सामन सुरक्षित स्थानमा लगिरहेका छन् ।