छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएर फरार रहेका क्षेत्री पक्राउ

काठमाडौं । आफ्नै छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट एक वर्ष कैद सजाय पाएर फरार रहेका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका ३ का ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई पक्राउ गरेको हो ।

आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्टलगायतका कागजात बनाएको भन्दै उच्च माध्यमिक शिक्षा परिषद, परीक्षा नियन्त्रण कार्यालयले उनीविरुद्ध जाहेरी दिएको प्रहरीले जनाएको छ ।

त्यसपछि सरकारी छाप दस्तखत किर्ते मुद्दामा भक्तपुर जिल्ला अदालत २०८२ वैशाख ३ गते एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको सजाय सुनाएको प्रहरीले बताएको छ । एक वर्ष फरार रहेका उनी मंगलबार काठमाडौंको तिलगंगा क्षेत्रबाट पक्राउ परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  

Share News