गोल्डस्टारद्धारा सडक बालकहरूलाई सहयोग, पहिलो पटक अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुँदै

काठमाडौं । नेपालको लोकप्रिय जुत्ता गोल्डस्टारको निर्माता, वितरक तथा बजार व्यवस्थापक कम्पनी किरण सुम्यानुफ्याक्चरर्सले नेपाली सडक बालकहरूको टोलीलाई सहयोग गर्ने भएको छ । कम्पनीले आगामी २०७५ वैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको सडक बालकविश्वकप फुटबल २०१८ मा सहभागी हुने उक्त टोलीलाई सहयोग घोषणा गरेको छ । नेपाली सडक बालकहरूको टोलीले कुनै पनिअन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो । सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भई गोल्डस्टारले यो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेका सडक बालकहरूलाई सहयोग गर्न लागेको हो । किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले भने, “खेलकुदको कार्यक्रम भन्ने बित्तिकै नै जुत्ताको कुरा सबैभन्दा अग्रणी स्थानमा हुन्छ । यस्तो परिस्थितिमा नेपालमा सर्वाधिक बिक्री हुने र रुचाइएको जुत्ता गोल्डस्टारको जिम्मेवारी र बोध दुवै पक्कै पनि छ । त्यसमाथि नेपालका सडक बालकहरू पहिलो पटक सडक बालकविश्वकप फुटबलमा सहभागी हुन लागेका छन् । यस्तो गर्वको क्षणमा हामीले आफू आबद्ध हुनुलाई गरिमामय मानेका पनि छौँ ।” सडक बालकविश्वकप फुटबलले पिछडिएका, हेपिएका, छुट्याइएका, र दुत्कारिएका सडक बालकहरूप्रति समाजले हेर्ने नजरिया र दृष्टिकोणलाई परिवर्तन गर्ने हेतुले हरेक विश्वकप फुटबल हुने मौकामा यो खेलकुद कार्यक्रम गर्दै आएको छ । यसबाट बालबालिकाको शिक्षा, समाजमा स्तर, र सुरक्षणमा बढावा दिने लक्ष्य सडक बालकविश्वकप फुटबल २०१८को पनि रहेको छ ।

सेञ्चुरी बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ । शुक्रबार बैंकले कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा आफ्नो प्रधान कार्यालय पुतलीसडकमा उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । उक्त शिविर चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. बाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्द्रको सहयोगमा सम्पन्न भएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आखाँ, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा १०० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ७० जनाभन्दा बढीको सहभागी थियो ।

५ वर्षदेखि फलामे खोरमा थुनिएका दाहाललाई ३६ हजार रुपैयाँ सहयोग, को हुन् दाहाल ?

तेह्रथुम । आठराई गाउँपालिका-६ चुहानडाँडास्थित बोखिममा पाँच वर्षदेखि फलामे खोरमा थुनिएका उदयनारायण दाहालको उपचारका लागि प्रवासी नेपालीबाट सहयोग रकम उपलब्ध भएको छ । तेह्रथुम घर भई हाल साउदी अरबमा रहेका रामचन्द्र मैनालीको अगुवाइमा संकलित ३६ हजार रुपैयाँ दाहालको परिवारलाई आज हस्तान्तरण गरिएको हो । सहयोग रकम आठराई गाउँपालिका-६ का वडाध्यक्ष तेजमान कन्दङवा र वडा सदस्य लक्ष्मीप्रसाद बास्कोटाले संयुक्त रुपमा उदयनारायणका बुबा चुँडामणि दाहाल र आमा मैना दाहाललाई हस्तान्तरण गरेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै वडाध्यक्ष कन्दङवाले दाहालको उपचार र उद्धारका लागि वडा कार्यालयबाट पनि सहयोग उपलब्ध गराउने बताए। साउदी अरब र नाइजेरियामा रहेका नेपालीले दाहालको उपचार र उद्धारका निम्ति आर्थिक सहयोग संकलन गरेका हुन् । वैदेशिक रोजगारीका क्रममा २०६३ सालमा दुबई पुगेका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किएपछि उपचारका लागि परिवारले रु पाँच लाख खर्च गरिसकेको छ । आर्थिक रकमको अभावमा थप उपचार गर्न परिवारले नसक्ने भएपछि ३४ वर्षीय दाहाललाई परिवारले पाँच वर्षदेखि फलामको खोरमा राखेको हो । रासस