उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, मुक्तिनाथ विकास बैंकलगायत दुई दर्जन संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । नदी किनारको ललितपुरतिरको भागमा म्याद सकिएका औषधि ल्याएर गाडी फोहर बनाउँदै आएको इञ्जेक्सन नेपाललाई महानगरपालिकाले २० हजार जरिवाना गराएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २६५ हप्तामा महाशिवरात्रिको तयारीस्वरुप गौरीघाटबाट गुह्येश्वरी मन्दिर अघिको नदी किनारसम्म सफाइ गरियो । यसैगरी वाग्मती सफाइ अभियानका अभियानकर्मीले दुई वर्षपछि मकर मेला लाग्ने पनौतीको त्रिवेणीधाममा सफाइ गरेका छन् । पुण्यवती, लीलावती र रुद्रवती गरी तीन नदीको सङ्गमस्थलमा सफाइ गरिएको छ । सफाइमा स्थानीय जनप्रतिनिधि, वाग्मती सफाइ अभियानकर्मीलगायत स्थानीयवासीको सक्रिय सहभागिता थियो । दुवै सफाइ अभियानबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । रुद्रमती सफाइ अभियानको २५८ हप्तामा रातोपुल–सेतोपुल–मैतीदेवी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका–३० सहितका २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । विष्णुमती सफाइको २३० औँ हप्तामा तारकेश्वर नगरपालिका–१० क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनुभयो । सफाइमा वडाध्यक्ष अमृत थापा, स्थानीय महिला समूह, तीनवटै सुरक्षा निकाय, तारकेश्वर र विनायक सफाइ कम्पनी प्रालिको पनि सक्रियता थियो । तिलगङ्गा क्षेत्रको वाग्मती सफाइको २०४ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तिलगङ्गा महिला समूहलगायत संस्थाको सक्रियतामा सफाइ अभियान भइरहेको छ । चक्रपथ सफाइको ९९ औँ हप्तामा नारायणगोपाल चोकबाट ग्रीनसिटी अस्पतालसम्म सफाइ गरियो । २८० अभियानकर्मीको सक्रियतामा भएको सफाइमा १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । विसं २०७३ वैशाख २ गतेदेखि शुरु भएको सफाइ अभियान यही फागुन २५ गते शनिबार १०० हप्ता पूरा गर्दैछ । १०० हप्ता पूरा गरेको अवसरमा अर्को शनिबार विशेष कार्यक्रमको तयारी गरिएको चक्रपथ सफाइ अभियानकर्मी तिलक बस्नेतले बताए । आलोकनगर सफाइको ९९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले बताइन् । सडक एवम् नदी किनारमा रोपिएका बिरुवा संरक्षण गरी हुर्काउने सम्बन्धमा टोलवासीबीच छलफल पनि भएको उनले बताए । चक्रपथ बाफल खण्ड सफाइको ८१ औँ हप्तामा कलङ्कीचोकबाट स्युचाटार पुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिए । आइतबारदेखि वीरगञ्जमा शुरु हुने नेपालकै पहिलो अश्वमेध महायज्ञको पूर्वसन्ध्यामा आज त्यहाँ पनि वाग्मती सफाइ महाअभियानका अभियानकर्मीले सफाइ गरेको गोविन्द काफ्लेले जानकारी दिए । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानका प्रभावले हालसम्म देशका १०३ स्थानमा साप्ताहिक रुपमा सफाइ जागरण भइरहेको छ । रासस

विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच हानाथाप, गरियो गोलाप्रथा

बाँके । विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए । “जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ”, वडाध्यक्ष राठौरले भने, “उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।” उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र काङ्ग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उनले बताए । गोलाप्रथा अनुसार उपप्रमुख थापामगर नै छनोटमा परेकी छिन् । विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रेस र राप्रपालाई क्रमशः तीन/तीन र एउटा फोरमको भागमा परेको थियो । काङ्ग्रेसबाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले काङ्ग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो । रासस

डेढ दशकपछि पुनरागमन गर्दै हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’

काठमाडौँ । कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’ लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ । २०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तियाँ एक्काइस’ मार्फत स्रोतामाझ आएको यो समूह १४ वर्षपछि चौथो एकल एल्बममार्फत पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुने अन्तिम तयारी गर्दैछ । समुहले चौथो एकल एल्बम ‘सिजन्स द न्यू बिगिनिङ’ मार्फत स्रोतामाझ आउने तयारी गरेको हो । सिजन्स ब्याण्डमा छ जना संगीतकर्मीहरु सक्रिय छन् । चलचित्रको पाश्र्व गायन तथा पृष्ठभूमि संगीत निर्माणमा व्यस्त भैरहेका संगीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्याण्डको लोकप्रिय नाम हो । सुजिल यो समूहमा गायन तथा लिड गिटारिष्टको रुपमा आवद्ध छन् । समूहका अर्का सदस्य हुन् ज्ञानेन्द्र प्रधान । उनी पनि गायन र रिदममा आवद्ध छन् । अर्का सदस्य चन्द्र लामा समुहका गायक तथा ड्रमर हुन् । चलचित्रका गीतहरुमा संगीत संयोजन तथा पृष्ठभूमि संगीत उत्पादनमा सक्रिय संगीतकर्मी शैलेन्द्र प्रधान सिजन्सका किबोर्डिष्ट हुन् । संगीतकर्मी सञ्जय श्रेष्ठले बास गिटारिष्टको जिम्मेवारी सम्हालेका छन् । उपेन्द्र श्रेष्ठ भने ब्याण्डका व्यवस्थापक हुन् । विगतमा सिजन्स ब्याण्डले गाएका गीतहरु मध्ये सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र आदि लोकप्रिय गीतहरु स्रोता तथा दर्शकहरुलाई दिइसकेको छ । समुहले २०५६ सालमा पहिलो एल्बम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एल्बम ‘सिजन्स’ सार्वजनिक गरेको थियो । सिजन अर्थात ऋतु । समूहले आफ्ना सिर्जनालाई ऋतु झैं परिवर्तनशील बनाउने अवधारणा बनाएको छ । जस अनुसार संगीत सिर्जनामा समेत परिवर्तनशील रहने योजना अनुरुप स्थापना भएको सिजन्स ब्याण्डले करिव डेढ दशकपछिको पुनरागमनका लागि आध्यात्मिकसंगै संगीतका अधिकांश शैलीलाई अनुशरण गर्ने लक्ष्य लिएको छ । ब्याण्डको नयाँ एल्बमका गीतहरुमा आध्यात्मिक भाव पाउन सकिन्छ । यसैबीच, ब्याण्डले शिवरात्रीको पूर्व सन्ध्या तथा विजया एकादशीको अवसर पारेर आज शनिवार मात्र चौथो एल्बमको पहिलो गीत ‘भन्छन् नारायण…’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । चौथो एल्बम तयार पार्ने क्रममा सिजन्सलाई स्टेरियो रेकडले व्यवस्थापकीय साथ दिएको छ । ब्याण्डको नया एल्बम तथा म्युजिक भिडियोहरुलाई स्टेरियो रेकर्ड्सले व्यवस्थापन गर्ने रेकर्ड्सका मेनेजर निरज श्रेष्ठ बताउँछन् । निरजका अनुसार निकट भविष्यमै सिजन्स ब्याण्ड लाइभ कन्सर्टमार्फत समेत दर्शकमाझ आउने तयारी गरिरहेको छ । यस्तो छ सिजन्स ब्याण्डको नयाँ म्युजिक भिडियो: