नारायणगढमा ट्राफिक लाइट जडान, ट्राफिक व्यवस्थापनमा सहज हुने
भरतपुर । चितवनको व्यस्त बजार नारायणगढमा परीक्षणका लागि ट्राफिक लाइट जडान शुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ बजारको शहीदचोकमा ट्राफिक लाइट जडान गर्न शुरु गरिएको हो । सम्पूर्ण रुपमा सञ्चालन हुने गरी एक हप्ताभित्र जडानको काम सम्पन्न गरिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनले भने, “जिल्लामा नै पहिलोपटक ट्राफिक लाइट जडान गरिएको हो, शहीदचोकमा परीक्षण गर्छौं र त्यसको प्रभावकारिताका आधारमा अन्य व्यस्त चोकमा पनि ट्राफिक लाइट जडान गर्छौं ।” महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा ट्राफिक लाइट जडान गरिएको उनले बताए । करीब २५ लाखको लागतमा जडान गरिएको लाइटको २० प्रतिशत मात्र महानगरपालिकाले व्यहोर्ने छ । अन्य ८० प्रतिशत जडानको जिम्मा पाएको यार्सा टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौँले व्यहोर्ने छ । ट्राफिक लाइट जडानका लागि महानगरले २०७५ साल जेठमा यार्सा टेक्नोलोजीसँग सम्झौता गरेको थियो । शहीदचोकमा जडान गरिएको ट्राफिक लाइट प्रभावकारी भए क्रमशः पुल्चोक, लायन्चोक, चौबिसकोठी र हाकिमचोकमा पनि जडान गरिने बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले ट्राफिक लाइट जडानपश्चात् ट्राफिक व्यवस्थापनमा सहजता हुने बताए । “कहिलेकाहीँ पुल्चोकदेखि शहीदचोक सम्मै ट्राफिक जाम हुने गरेको छ”, उनले भने, “ट्राफिक जनशक्तिको अभाव अब लाइटले पूरा गर्छ ।” जिल्लाभर ४५ मात्र ट्राफिक प्रहरीको दरबन्दी छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ क्षेत्र भएर दैनिक १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । रासस
महालक्ष्मीले गर्यो सरसफाई र बैंकिङ कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. नयाँबजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन भएको थियो । कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनास्लु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख, तथा सरसफाई अभियान्ता, सोह्रखुट्टेका स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारण माझ बंैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए । सरसफाई कार्यलाई नै लक्षित गर्दै बैंकको कावासोती शाखाले डस्टबिन वितरण गरेको छ । शाखाले कावासोती नगरपालिकाको वार्ड नं १२, धनन्चल स्थित शिव माध्यमिक विद्यालय तथा कावासोती टोल सुधार समिति गरी तीन ठाउँमा कुल ३० वटा डस्टबिन वितरण गरेको छ ।
बञ्चरे डाँडामा फोहर विसर्जनस्थल डिजाइनको काम सकियो, ३८ करोडमा कस्तो बन्ला ?
काठमाडौँ । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणका लागि डिजाइन तयारीको काम सम्पन्न गरेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल निर्माणका लागि यही फागुन अन्तिम सातासम्ममा बोलपत्र आह्वान गर्ने गरी अहिले डिजाइनको काम सकिएको जानकारी दिए । बोलपत्रको समयसीमा ३५ दिनको रहने र त्यस लगतै काम शुरु हुने उनले बताए । प्रवक्ता दवाडीका अनुसार अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहर विसर्जनस्थलसम्म जान सडक विभागले बाटो निर्माणको काम गरिरहेको छ । निर्माणका लागि मन्त्रालयले ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले सो निर्णय गरेको हो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिएएको थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । रासस