अब सबै एम्बुलेन्स सेवालाई एउटै नम्बर १०२ प्रयोगमा ल्याइने
काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा (एमओयु) सम्झौता भएको छ । यस सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिस (नास)ले देशभर फैलिएर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने छ । यसको व्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्ने छ । अर्को सम्झौता अनुसार आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने छ । यो सम्झौता पत्रमा नीति, योजना र अन्तर्रा्ष्ट्रिय सहयोग विभागका प्रोफेसर डा श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका थिए । नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग विभागका प्रोफेसर गिरीले हस्ताक्षर गर्दै भने ‘अब हामी सबै एम्बुलेन्स सेवालाई एउटै कल सेन्टर १०२ मा जोडेर काम गर्दैछौं, जसको व्यवस्थापन नासले गर्ने छ ।’ नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष राजभण्डारीले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण र गौरवमय क्षण हो । जहाँ हामीले सरकारसँग मिलेर सबै एम्बुलेन्स सेवाहरुलाई एउटै नम्बर १०२ मा ल्याएर काम गर्ने छौं । हामीले विगत लामोसमय देखि स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गर्दै आइरहेका छौं । यो सहकार्यले हामी अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न र आपत्कालीन स्वास्थ्य सेवा दिन अझै राम्रोसँग काम गर्न सक्ने छौं ।’
विश्वकप छनोटमा नेपाल अाज सवा १ बजे जिम्बाबेसँग भिड्दै , जित्न सके फाइदै फाइदा
काठमाडौं । एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन । टेस्टमा नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । गत महिना नामिबियामा भएको डिभिजन–२ का खेलहरूमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट नाटकीय जित निकाल्दै विश्वकप छनोट खेल्ने मौका पाएको हो । सन् २०१९ को विश्वकप क्रिकेटमा १० देशमात्र सहभागी हुने हुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा अघिल्लो महिना डिभिजन टुमा खेलेका अधिकांश खेलाडीले स्थान बनाएका छन् । नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोम्पाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र दिपी नाथ छन् । -रासस
सानिमा बैंकद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक तुकप्रसाद पौडेलले एक कार्यक्रमका बिच सो रकमको चेक फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै सिताराम कट्टेलले उक्त बस्ती अनुमानित समय भन्दा चाडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउदै सहयोग गरेकोमा बैंकलाई धन्यबाद दिएका छन् । केही रकमको प्रतिवद्धता आइसकेको जानकारी दिदैं उनले यो रकमसगैं सो बस्ती निर्माणमा अपुग रकम जुटेको बताएका छन् । त्यसैगरी, श्रीमती कुञ्जना घिमिरेले बैंकले गरेको सहयोग सम्मानका रुपमा लिएको बताएकी छिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमा भित्रनै सम्पन्न गरी हस्तान्तरण गरेको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नु पर्ने बताएका छन् । साथै, आफ्नो कलाकारीतामा मात्र सीमित नरहि समाज सेवामा लागेकोमा सिताराम कट्टेल र कुञ्जना घिमिरेप्रति कृतज्ञता व्यक्त गरेका छन् । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ गते उक्त बस्ती एक समारोहका बीच हस्तान्तरण गरिएको थियो । बैंकले सन् २०१२ देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति सहित अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल सानिमा बैंकको सबै भन्दा न्यून निष्कृय कर्जा तथा नेपाल भरी ५८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटीएम सञ्जाल रहेका छन् ।