महालक्ष्मी विकास बैंकद्धारा एसियन च्याम्पियनसिपका विजेता महर्जनलाई २ लाख रुपैयाँ प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ५०औँ एसियन च्याम्पियनसिपका विजेता महेश्वर महर्जनलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको उक्त च्याम्पियनसिप उपाधि हासिल गर्ने महर्जनलाई सम्मान स्वरुप उक्त रकम प्रदान गरेको हो । साथै, खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानबीच एमओयुमा हस्ताक्षर

काठमाडौं । नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानबीचमा मंगलबार एक समझदारीपत्र(एमओयु)मा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा नबिल फाउण्डेशनका तर्फबाट अध्यक्ष दयारामगोपाल अग्रवाल र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा.रीता गुरुङ्गले हस्ताक्षर गरेका छन् । आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै दुई संस्थाले सम्झौता गरेका हुन् । यस समझदारीपत्र अनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्धारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानमार्फत आर्थिक सहयोग उपलब्ध गराउने छ । यस कार्यक्रमलाई “नबिल फाउण्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि” भनी सम्बोधन गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा, काठमाडौंमा आयोजित एक समारोहमा नबिल वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्याल, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा दुबै संस्थाका अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो । सो कार्यक्रममा नबिल फाउण्डेशनका अध्यक्ष अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरेका छन् । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुईतले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरी रहेको बताएका छन् ।

झापालीकाे नयाँ शैली, बेहुलो भाग्दा बाहुलार्इ ३५ लाख रूपैयाँ जरिवाना

झापा । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै ३५ लाख जरिवाना तिरेका छन् । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको बहसपछि रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत सो रकम दिने सहमति भएको गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिए। राकेशले सोही ठाउँ निवासी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । विवाहको भोलिपल्ट बेहुला र बेहुलीका आमाबुबाबीच सम्धी ढोकभेट कार्यक्रम पनि भएको थियो । सम्धी ढोकभेट सकिएपछि राकेश बेहुली छाडेर बेपत्ता भएका थिए । बेपत्ता भएका राकेश भारत गएर बसेको र केही दिनपछि आफन्तको सहयोगमा उनलाई झापा ल्याइएको थियो । झापा ल्याएलगत्तै उनी अहिले धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेकाले बेहुली छाडेर भागेको बताउँदै उनका बुबा लालप्रसादले बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा भने, “छोरामा शारीरिक समस्या रहेछ हामीलाई थाहा भएन, बेहुलीको भविश्य नबिग्रियोस् म उनको भरणपोषण र पढाइ खर्चका लागि ३५ लाख दिन्छु । ” सँगै बाच्ने सँगै मर्ने वाचा गरेर लगन गाँठो कसेका रेग्मीले किशोरीको अस्मितामाथि गम्भीर खेलबाड गर्दै महिला हिंसा गरेको भन्दै छलफलमा सहभागी अधिकारकर्मीले रेग्मी परिवारको आलोचना गरेका थिए । आइतबार र सोमबार भएको बहसमा बेहुलीको भरणपोषण तथा शिक्षाका लागि उक्त रकम बेहुला पक्षले दिने लिखित सहमति भए पनि जग्गेमा सातफेरी घुमेर लगनगाँठो कसेको सम्बन्धलाई कसरी टुंग्याउने भन्ने निष्र्कषमा भने पुग्न बाँकी रहेको गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताउनुभयो । त्यसको लागि पुनः आज दुई पक्षबीच छलफल हुने बताइएको छ । स्रोतका अनुसार बेहुलीले सिन्दूर पोते फिर्ता गरेर लगनगाँठोले कसेको सम्बन्ध तोड्ने तयारी भएको छ । यता विवाहमा लागेको खर्च बेहुला र बेहुली दुवै पक्षले आ–आफ्नै व्यहोर्ने, बेहुली पक्षले बेहुला पक्षलाई दिएको सबै उपहार फिर्ता गर्ने र बेहुलाले बेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने निर्णय भएको छ । केटी भरणपोषणका लागि दिने भनेको ३५ लाख ३५ दिनभित्र दिने सहमति भएको बताइएको छ । गत फागुन २० गते विवाह गरेका राकेश विवाहलगत्तै २१ गते बेहुली छाडेर बेपत्ता भएका थिए । राकेश आफूमा यौन समस्या भएको भन्दै फरार भएका थिए । धुलाबारी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका राकेशको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । सामान्य बोलचाल मात्रः बेहुली दश महिना अघि फूलमाला गरेर गत फागुन २० गते विवाह गरेकी बुद्धशान्तिकी ती युवतीले केटा विदेशमा रहेको र टिकाटाले पछि फोनमा आफूहरुको कुरा नभएको तर सामाजिक सञ्जाल फेसबुकमा भने कुरा हुने गरेको बताइन्। उनले बिहेको दिन पनि केटाको घर पुगेपछि आफूलाई मोबाइलमा इन्टरनेटको पासवर्ड हालिदिएको र त्यसपछि कुनै बोलचाल नभएको भन्दै आफू दिनभरको थकानले गलेको भनेर केटा चाँडै सुतेको जानकारी दिइन् । गाउँपालिकामा भएको बहसमा केटा बेपत्ता भएलगत्तै परिवारले आफ्नो गरगहना फुकाल्न लगाएको र दुई दिनसम्म राकेश घर नफर्किएपछि माइतमा जानकारी गराएको उनले भनिन् । राकेश तीन वर्षदेखि संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीमा रहेको र विवाह गर्नु १० दिनअघि मात्रै घर आएका थिए । रासस