अनुहार होइन मन रङ्ग्याउँ !

काठमाडौँ । “आउ प्रिय हामी मिलेर खेलौ होली भरिदिन्छु तिम्रो म मायाको झोली जे जे गर्नु छ आजै समय छँदै गरौँ कसले देखेको छ र के हुन्छ भोलि ।” चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैँ होली पर्व आधुनिकतासहित रङ्ग र सद्भावको उत्सवमा मिसिएको छ । परम्परागत मान्यताबाट शुरु भएको फागु पूर्णिमाका अवसरमा आज एकापसमा रङ्ग लगाउने, सद्भाव बाँड्ने र नाचगानका गतिविधिमा मानिस व्यस्त छन् । खासगरी युवापुस्ता बढी सक्रिय देखिँदै आएका छन् । रमाइलो मान्ने र गर्ने एक माध्यम बनेको होलीका अवसरमा शहरका विभिन्न स्थानमा म्युजिक सिष्टमसहित बनाइएका मञ्चमा उनीहरुको आकर्षण देखियो । यस्ता कार्यक्रममा कलाकारको प्रस्तुतिले उनीहरुलाई थप रोमाञ्चित बनाएयो । विभिन्न टेलिभिजन, रेडियो र संस्थाले आफ्नो कार्यालय तथा आसपासका खुला स्थानमा यस्ता कार्यक्रम आयोजना गरेका छन्, जहाँ केटाकेटीदेखि बूढाबूढीसम्म मनोरञ्जन लिइरहेका छन् । विगत वर्षमा जस्तो होलीका नाममा विकृति नभएको हुँदा इच्छाविपरीत पानी र जथाभावी रङ्ग हाल्ने क्रम रोकिएकाले महिला पनि यस्ता कार्यक्रममा सहजरुपमा उपस्थित भएको पाइयो । होलीकै क्रममा टोखामा व्यस्त हुनुभएका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले दर्शकलाई भरमग्धुर हसाउन व्यस्त भने भने हाँस्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लाइभ प्रस्तुत भई होलीका सन्देश प्रस्तुत गरे । होलीका लागि गजुरेलको सन्देश छ: “जति दल्नुस् साइली अनुहार देखिहालिन्छ भोलि होलीको रङ्ग अहिले दल्नुस् भरे धुनुपर्छ त्यसैले अनुहार होइन मन रङ्ग्याउनुपर्छ ।” हास्यव्यङ्य प्रस्तुतिको पहिचान बोकेको ‘रेडियो अडियो’ ले नयाँ बानेश्वरमा यस वर्ष पनि विभिन्न कलाकार आमन्त्रण गरेर होली मनाएर स्रोता र दर्शकलाई मनोरञ्जन दिलायो । आगामी वैशाख २० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘दालभात तरकारी’ को ‘भिजिट भिषामा हजुर भिजिट भिषामा, भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा..” बोलको गीत र अन्य प्रस्तुतिमा सहभागी मुग्ध भएका थिए । कलाकार बोलाएर महाराजगञ्जमा ‘रेडियो अन्नपूर्ण’ ले यस वर्ष त्यस क्षेत्रमा उत्सव मनाएको छ । यस्ता कार्यक्रमका लाइभ प्रस्तुतिलाई पनि स्रोताले रुचाएका छन् । वसन्तपुरमा सदाझैँ यो वर्ष पनि होली विशेष सांस्कृतिक कार्यक्रममा स्वदेशी मात्र नभई विदेशीसमेत रमाएका छन् । काठमाडौँका विभिन्न स्थलबाट सवारी साधन वा पैदलमा होली खेल्दै हिँडेका विभिन्न समूह त्यहाँ पुगेर मिसिएका थिए । भक्तपुर र पाटन दरबार स्क्यावरका पर्यटक पनि होलीको रोचक दृष्यमा रमाएका देखिन्थे । नायिका/निर्देशक दिपाश्री निरौलाले ‘नसारहित सुन्दर जीवन सम्भव छ ।’ सन्देशसहितको सांस्कृतिक कार्यक्रममा प्रदेश नं १ को मुकाम विराटनगरमा प्रस्तुति दिएर होली मनाए । निरौलाले भने, “लागुपदार्थ दुव्र्यसन र कुलतमा युवा फसी जीवन बर्बाद पार्नु हुँदैन भन्ने हाम्रो सन्देश हो, प्रदेश नं १ बाट यो अभियान शुरु भएको छ ।” होलीका क्रममा जथाभावी पानी फ्याल्ने र रङ्ग दल्ने क्रम घटे पनि आपसमा खेल्ने क्रममा पनि आवश्यकताभन्दा बढी रङ्ग, माटो र हिलो दल्ने, अत्यधिक मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्नेजस्ता विकृति पनि मिसिएको छ । बढी रङ्ग र माटो दल्दा वा अत्यधिक मादक पदार्थ सेवक गर्दा स्वास्थ्यमा खराबी हुन सक्छ भने सामाजिक विकृतिसमेत निम्ल्याउने छ । रासस

अमेरिकी मनोरञ्जन कम्पनी डिज्ने र फक्सबीच ७१ अर्ब डलरको सम्झौता

न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । उक्त सम्झौतामा फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”, “स्टार वार्स” र “डा.स्ट्रेन्ज” अब एकै कर्पोरेट छानामुनि आउने छन् । यो सम्झौताले विश्व मिडिया परिदृश्यमै हलचल ल्याउने छ । सम्झौतापछि डिज्नेलाई आफ्नै स्ट्रिमिङ सेवा डिज्ने प्लस यसै वर्षको अन्त्यतिर आरम्भ गर्न बाटो खुलेको छ । साथै सम्झौताले हजारौं कर्मचारी कटौतीमा पर्ने खतरा बढाएको छ । फक्स र डिज्नेमा कार्यरत फिल्म उत्पादक कर्मचारीहरुको ठूलो संख्या कटौतीमा पर्नेछ । डिज्नेले फक्स इन्टरटेनमेन्ट खरिद गर्नुको मुख्य उद्देश्य नै अमेजन र नेटफ्क्सि जस्ता कम्पनीबाट सिर्जना भइरहेको बढ्दो चुनौतीलाई सामना गर्नु हो । डिज्नेले यसअघि नै डिज्ने कार्टुन सेवा प्रशारण गरिरहेको छ । फक्सका उत्पादनलाई आफूमा गाभेसँगै फक्सका महत्वपूर्ण कार्यक्रम र नेसनल जियोग्राफिकको प्रशारण एकाधिकार प्राप्त हुनेछ । डिज्नेका प्रमुख कार्यकारी बब आइगरले गत फेब्रुअरीमै डिज्ने प्लस र उपभोक्तासँग सोझै जोडिएका व्यवसायहरु डिज्नेको नं.१ प्राथमिकतामा रहने बताए । केबल र टेलिकम कम्पनीहरुले बदलिँदो मिडिया परिदृश्यमा प्रतिस्पर्धी क्षमता बढाउन टिभी शो र सिनेमा बनाउने कम्पनीहरु नै खरिद गर्न थालेका छन् । एटी एन्ड टी, कमकास्ट जस्ता विशाल इन्टरनेट प्रदायकहरु समेत अमेजन, युट्युब र नेटफ्लिक्सका सेवाबाट त्रसित हुन थालिसकेका छन् । एटी एन्ड टीले गत वर्ष ८१ अर्ब डलरमा टाइम वार्नर कम्पनी खरिद गरिसकेको छ भने आफ्नै स्ट्रिमिङ टेलिभिजन सेवा प्रशारण गर्न थालेको छ । टाइम वार्नरका च्यानलहरु टीबीएस र टीएनटीलाई अमेरिकी ग्राहकलाई प्रति महिना १५ अमेरिकी डलरमा बिक्री गरिएको छ । रासस /एपी

रेडक्रसले दियाे फागुको सन्देश: लैङ्गिक समानताको लागि कदम चाल

काठमाडाैं । लैङ्गिक लगायत विविध क्षेत्रमा समानताका लागि सोच, व्यवहार र योजनाको लागि रेडक्रसले आव्हान गरेको छ । फागु पूर्णिमाको अवसरमा होली शुभकामना दिँदै ह्यासट्याग ब्यालेन्सफरबेटर  विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ तथा नेपाल रेडक्रस सोसाइटीले अन्तरक्रिया कार्यक्रम, प्रतिवद्धता र फोटो अभियान आयोजना गरेको छ । “लैङ्गिक, उमेर, भौगोलिक, स्वास्थ्य अवस्था जस्ता क्षेत्रमा विद्यमान असन्तुलित अवस्थाको अन्तको लागि सोँचमा परिवर्तन जरुरी छ ।” होलीको अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भने। “यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को समानताको सन्देश हाम्रोलागि वर्षभरी नै उपयुक्त छ ।” लैङ्गिक समानता अझै पनि वास्तविकता भन्दा टाढा रहेको तथ्याँक प्रस्तुत गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका नेपाल प्रमुख जुजा किमले एशिया प्रशान्त क्षेत्रमा लैङ्गिक असमानताले जरो गाडेको र संकटमा महिला नै वढी पर्ने अवस्था औँल्याए । उनले भने “रेडक्रस आफैले पनि लैँगिक समानताको लागि थप कार्य गर्न नेतृत्वको समूहले मनिला घोषणा जारी गरेको छ । विभिन्न ३६ वटा देशको सर्वेक्षण गर्दा रेडक्रसको निर्णायक मण्डलमा ७ सय ३८ मध्ये २०६ जना अर्थात् २८ प्रतिशत मात्र महिला रहेका छन् । त्यसमा ५० देखि ५९ वर्षसमूहको बाहुल्यता छ र ३० वर्षभन्दा मुनिका युवाहरुको सँख्या न्यून रहेको छ । तर, अर्कोतर्फ रेडक्रसको लाभान्वित सूचीमा महिलाहरुको सँख्या अधिक रहेको र ५६ प्रतिशत कर्मचारी महिला रहेको अवस्था छ ।” कार्यक्रममा सन् २०१९ मा नीति, योजना निर्माण र सहयोग क्षेत्रमा फरक तरिकाले काम गर्न नेपालमा कार्यरत रेडक्रस अभियानका अंगहरुका प्रतिनिधिहरुले  विविधताको प्रवर्धन र लैङ्गिक समानताको लागि चित्र, सामुहिक र व्यक्तिगत फोटोमार्फत सन्देश दिए् । सामुहिक फोटोमा महिलाहरुको प्रगतिमा उत्सव मनाउने, कुरितिहरु अन्त गर्ने प्रतिवद्धता देखाइएको छ । कार्यक्रममा होलीको रंग लगाउँदै नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्य राज पौडेलले घर, कार्यस्थल र समुदायमा महिला तथा युवा समानताको लागि पैरवी गर्ने फोटो प्रदर्शन गरे । उनले भने, शुरक्षित र समावेशी बातावरणमा मात्र छलफल र पैरवीहरु  प्रभावकारी हुने भएकाले विभिन्न सामाजिक सञ्जालमा ह्यासट्याग ब्यालेन्सफरबेटर  राखी सन्तुलित अवस्थाको पक्षमा सन्देश दिन होलीको अवसरमा रेडक्रस सवैलाई आव्हान गर्दछ । समुह छलफल तथा प्रदर्शनीलाई नेपाल रेडक्रसका जीइएसआइ  निर्देशक विपुल न्यौपाने, अष्ट्रेलियन रेडक्रसका मुकेश सिँ, तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका कार्यक्रम सँयोजक हारभे  गजेयूले सहजीकरण गरेका थिए ।