साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीले दिए ३० लाख रुपैयाँ

काठमाडौं । २ वर्ष देखि साउदी जेलमा बन्दीजीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदीअदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनले २ वर्ष देखि बन्दी जीवन बिताइरहेका थिए । इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिकालागि साउदी सरकारसँग कुरा गर्ने बताएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको बताए । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको उनले बताए। ‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेशगएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्थात्यति राम्रो छैन, तर अब हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नु छ, यहिँ रोजगारी रिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो । नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको ओलीले बताए । विदेशमा बन्दी जीवन बिताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् । कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको बताएका छन् ।

सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

जेनेभा । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेका एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको  छ । उक्त सर्वेक्षणअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ । उक्त सर्वेक्षणका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पका ट्वीटरमा दुई करोड ३२ लाख जना फलोअर रहेका छन् । उनको तुलनामा भारतीय प्रधानमन्त्री मोदीका भने फेसबुकमा झण्डै दोब्बर अर्थात् चार करोड ३० लाख फलोअर रहेका छन् ।अध्ययनले एसियामा फेसबुकको बढी प्रचलन रहेकोले पनि मोदीका फेसबुक फलोअर बढी भएको अनुमान गरेको छ । उक्त संस्थाले विश्वका नेताहरुले के कसरी सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् भन्ने बारेमा अनुसन्धान गरेको बताइएको छ । यस अनुसन्धानकाअनुसार क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन यसरी सामाजिक सञ्जालको प्रयोग गर्ने नेतामा पाँचौँ नम्बरमा परेका छन्। फेसबुकमा उनका ९६ लाख फलोअर रहेका छन् । तर यस संख्यालाई भने क्याम्बोडियाका फेसबुक प्रयोगकर्ताकै कम्तीमा पनि आधा संख्या भनी आलोचना गरिएको छ । त्यस सर्वेक्षणले ती नेताहरुका सामाजिक सञ्जाल अकाउन्टमा पोष्ट गरिएका र तिनमा प्रतिक्रिया दिइएका विषयवस्तुलाई पनि समेटेको छ । उक्त सर्वेक्षणले सन् २०१७ को जनवरी १ पछिको १४ महिनामा विश्वका राज्य तथा सरकार प्रमुखका ६५० वटा व्यक्तिगत र सरकारी सामाजिक सञ्जाल पेजहरुको अध्ययन गरेको थियो । जसमा अमेरिकी राष्ट्रपति ट्रम्प सबैभन्दा बढी अन्तरक्रियामा रहेका नेताका रुपमा पाइएको छ । यस १४ महिनाको समयावधिमा अमेरिकी राष्ट्रपति ट्रम्पको पेजमा २० करोड ४० लाख वटा प्रतिक्रिया, लाइक वा सेयर गरिएको पाइएको छ । तर त्यसको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अकाउन्टमा भने ११ करोड मात्र प्रतिक्रिया प्राप्त भएका छन् । उक्त अध्ययनले मोदीका बढी फलोअर तर अमेरिकी राष्ट्रपति ट्रम्प बढी अन्तरक्रियात्मक भनेर निष्कर्ष निकालेको छ । हरेक दिन अमेरिकी राष्ट्रपति ट्रम्पले अनुपातमा कम्तीमा पनि पाँच वटा पोष्ट गरेका छन् । तर पनि भारतीय प्रधानमन्त्रीले भने त्यसको आधामात्र गर्ने गरेका छन् । रासस/एएफपी

‘मानसखण्ड’ ग्रन्थ अब नेपाली भाषामा, धर्म संस्कृति र प्रण इतिहास अनुसन्धानको लागि उपयुक्त

काठमाडौं । संस्कृत ग्रन्थ स्कन्द पुराण अन्तर्गतको मानसखण्ड नेपाली भाषामा प्रकाशित भएको छ । महर्षि वेदव्यासले संस्कृतमा लेखेको यस ग्रन्थमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्राग ऐतिहासिक धार्मिक स्थलहरुको विस्तृत विवरण छ । अद्वैत वेदान्ताचार्य रामचन्द्र शर्मा पौडेल ‘रम्घाली’ र शास्त्री, प्रधानाचार्य लक्ष्मीकान्त जोशी रेग्मीले अनुवाद गरेका हुन् । साथै, यस ग्रन्थको सम्पादन र हिन्दी भाषामा अनुवाद ठाकुरदेव सिंह विष्ट राजकीय स्नातकोत्तर महाविद्यालय, नैनीतालको संस्कृत विभागका पूर्व अध्यक्ष आचार्य गोपालदत्त पाण्डेले गरेका छन् । विष्णुप्रसाद खत्रीको अध्यक्षतामा स्थापित रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङ प्रकाशक रहेको उक्त ग्रन्थ बुधबार(बैशाख १९ गते) आयोजित एक समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सार्वजनिक गरेका हुन् । भारत वर्षको कूर्माञ्चल (उत्तराखण्ड) र नेपालको सुदूर पश्चिमका प्रागऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरु र भूगोलको युगौं पुरानो विस्तृत विवरण समेटिएको यो ग्रन्थबाट विभिन्न राष्ट्रको सीमा सम्बन्धी जानकारी लिन सकिन्छ । नेपाल र भारतबीचको कालापानी सीमा विवाद समाधान गर्नका लागि पनि यो पौराणिक ग्रन्थ आधार बन्न सक्छ । धर्म संस्कृति र प्रण इतिहासको अनुसन्धानको लागि यो ग्रन्थ अत्यन्त उपयोगी हुनेछ । मानसखण्डमा हजारौं पहाड, तिनबाट निस्केका नदी, त्यहाँ रहेका तीर्थस्थलहरु, पहाडका गुफा, ओढार, तपश्यागर्ने ठाउँ, समथलभूमिका बस्ती र धार्मिक स्थलहरुको विस्तृत विवरण यसमा छ । यसमा वैदिक पुराणका सारभूत कुराहरु पनि समेटिएको छ । रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङले विभिन्न सामाजिक कार्य अन्तर्गत निःशुल्क न्याय सेवा दिने जेहेन्दारहरुलाई छात्रवृति प्रदान गर्ने बझाङ जिल्लामा धर्मशाला निर्माण गरेको छ भने क्षेत्रिय स्थरमा कानून विदहरुलाई पुस्कृत र सम्मान समेत गर्दछ यस ग्रन्थको बिक्रीबाट हुने आम्दानीबाट बझाङ जिल्लामा पुस्तकालय निर्माण गर्ने योजना राखेको छ ।