विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ ।  मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ उक्त कम्पनी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । 'पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ', प्राधिकरणका कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्यले भने । प्राधिकरणका अनुसार यस कम्पनीले इन्टरनेट सेवा प्रदायकलाई ‘प्लग–एण्ड–प्ले’ ढाँचामा पूर्वाधार उपलब्ध गराउनेछ ।  प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकको पुँजीगत खर्च उल्लेख्य रूपमा घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने अपेक्षा गरिएको पनि प्राधिकरणले जनाएको छ । कम्पनीले प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत डक्ट, पोललाई ‘प्यासिभ एसेट्स’का रूपमा भाडामा उपलब्ध गराउनेछ ।  काठमाडौं उपत्यकाको मुख्य समस्याका रूपमा रहेको अव्यवस्थित तार हटाउन यस कम्पनीले प्राथमिकताका साथ काम गर्नेछ । 'भूमिगत पाइपको साझा प्रयोगले सहरी सौन्दर्य फर्काउनुका साथै विद्युत् र टेलिफोनका तारहरू आपसमा अल्झिँदा हुने आगलागी र दुर्घटनाको जोखिमलाई समेत न्यून गर्ने अपेक्षा हामीले गरेका छौँ', कार्यकारी निर्देशक शाक्यले भने, 'हरेक कम्पनीले छुट्टाछुट्टै सडक खन्ने झन्झट पनि योसँगै अन्त्य हुनेछ ।' नेपालका प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी पुर्याउने सरकारको लक्ष्य हासिल गर्न उक्त कम्पनीले सहयोग पुर्याउने विश्वास गरिएको छ । 'सरकारको उक्त लक्ष्यलाई पूर्वाधार कम्पनीले नयाँ गति दिने अपेक्षा गरेका छौँ', उनले भने, 'ग्रामीण क्षेत्रमा आफ्नै पूर्वाधार निर्माण गर्न निजी कम्पनीहरूलाई अत्यन्तै महँगो पर्ने हुनाले प्राधिकरणको विद्यमान प्रसारण लाइन प्रयोग गर्दा सेवा लागत घट्ने र सर्वसाधारणले सस्तोमा इन्टरनेट पाउने वातावरण बन्नेछ ।'

१२ टोली सहभागी हुने कर्पोरेट क्रिकेट प्रतियोगिता काठमाडौंमा सुरु हुँदै

काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्रतियोगिता आगामी मे १, २ र ३ गते काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ । यसमा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रमेश कर्प, हिमालयन एभरेस्ट इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक तथा साबिक विजेता क्लाउडफ्याक्ट्रीसहित १२ टोलीको सहभागिता रहनेछ । आयोजकका अनुसार सन नेपाल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनले प्रतियोगितालाई थप सशक्त बनाएको छ । प्रतियोगिताको उद्देश्य कर्पोरेट क्षेत्रभित्र सहकार्य अभिवृद्धि गर्नु, आपसी सम्बन्ध विस्तार गर्नु तथा खेलकुदमार्फत कार्य–जीवन सन्तुलन प्रवर्द्धन गर्नु हो । राउन्ड टेबल नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाका प्रतिनिधिहरूका अनुसार, प्रतियोगिता केवल क्रिकेटमा सीमित नभई साझा उद्देश्यका लागि व्यक्तिहरूलाई एकत्रित गर्ने प्रभावकारी माध्यम पनि हो । आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याएकोमा सन नेपाल लाइफ इन्स्योरेन्सप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमले प्रतिस्पर्धा, सहकार्य र सामाजिक उत्तरदायित्वबीच सन्तुलित समन्वय प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ ।    

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

अच्युत रेग्मी काठमाडौं । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको असर नेपालका अन्य क्षेत्रहरुका अतिरिक्त पर्यटन क्षेत्रमा पनि देखिएको छ ।       अमेरिका, इजरायल र इरानमा जारी द्वन्द्व र अस्थिरताको असर नेपालको पर्यटन क्षेत्रमा देखिएको हो । नेपालमा पर्यटकीययाम सुरु भएपनि पश्चिम एशियामा जारी तनावले नेपाल घुम्न आउन चाहेका विदेशी पर्यटकले पनि भ्रमणको योजना पछि सारेका पाइएको छ ।      नेपाल एशोसियसन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष सिएन पाण्डे पश्चिम एशियाको समस्याले संयुक्त अरब इमिरेट्स, कतार र टर्कीजस्ता ‘ट्रान्जिट प्वाइन्ट’मा समेत तनाव बढेको छ । यसका कारण उडान अनिश्चित हुँदा नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी आएको बताउँछन् ।      एकातिर उक्त द्वन्द्वका कारण हवाई इन्धनको मूल्यमा भारी वृद्धि भएको छ भने अर्कातर्फ नियमित र छोटा उडान पनि अव्यावहारिक र निकै लामो एवं झन्झटिलो ट्रान्जिटका साथ हुने गर्नाले उडान पनि कम हुने गरेका छन् । यसरी पर्यटकीय सिजनको मुखमा हवाई इन्धनको मूल्य बढ्दा टिकटको दरसमेत उच्च भएका कारण नेपालमा अपेक्षाअनुसारको पर्यटक आउन नसकेको नाट्टाका पूर्वअध्यक्ष पाण्डे बताउँछन् ।       नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को मार्चको तुलनामा सन् २०२६ को मार्चमा नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ । सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२६ को मार्चमा भने एक लाख २० हजार ५१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२५ को जनवरीमा ७९ हजार ९९१ र फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक नेपाल भित्रिएकामा यस वर्षको जनवरीमा ९२ हजार ५७३ र फेब्रुरीमा एक लाख पाँच हजार ४४१ पर्यटक नेपाल भित्रिएका थिए । भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्र पश्चिम एशियाको द्वन्द्वको मारमा परेको हो । नेपालदेखि हङ्कङ हप्ताको सातैदिन उडान भर्दै आएको क्याथे प्यासिफिक एयरलाइन्स नेपालकी प्रमुख जुनु मलेखु इन्धनको मूल्य बढेसँगै हवाई टिकट बढ्दा यात्रुलाई ठूलो समस्या परेको बताउँछिन् । 'पश्चिम एशियाको द्वन्द्व सुरु हुनुपूर्व नेपालदेखि हङ्कङ हुँदै नेपाल आएको ८० देखि ८५ हजार भाडा लाग्ने गरेकामा द्वन्द्वपछि इन्धनको मूल्य बढ्दा भाडा सस्तो टिकटको रु एक लाख पाँच हजार पुगेको छ, यसले गर्दा ट्राभल गर्नुपर्ने व्यक्तिबाहेक अन्यले टिकट ‘क्यान्सिल’ गरेको अवस्था छ', उनी भन्छन् ।      नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य कुमारमणि थपलिया हवाई इन्धनको मूल्य बढ्दा यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा परेको बताउँछन् । पछिल्लो समय पश्चिम एशियाको द्वन्द्व केही शान्त भए पनि हवाई भाडा बढ्दा नेपाल भित्रिने पर्यटकमा कमी आएको उनको भनाइ छ ।      हवाई इन्धन र हवाई भाडा बढ्दा यसको असर लामो समयसम्म पर्छ कि भन्ने चिन्ता थपिएको सदस्य थपलिया बताउँछन् । कतिपय एयरलाइन्सले उडान मार्ग परिवर्तन गर्नुका साथै टिकट दर बढाएका कारण यात्रु अन्य गन्तव्य रोज्न बाध्य भएका छन् । युरोप, अमेरिकालगायत मुलुकमा नेपालको सिधा हवाई सम्पर्क नहुँदा नेपाल आउने पर्यटकमा अन्यौलता थपिएको छ । जसका कारण होटल बुकिङ, ट्रेकिङ प्याकेज तथा साहसिक पर्यटन गतिविधिमा प्रत्यक्ष असर परेको छ ।      ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौंका महाप्रबन्धक महेश फुयाँल पश्चिम एशियाको द्वन्द्वका कारण पर्यटक यामको मुखमा धमाधम होटल बुकिङ ‘क्यान्सिल’ हुँदा होटल व्यवसायी मारमा परेको बताउँछन् । 'एकातर्फ इन्धनको मूल्यवृद्धिका कारण हवाई भाडा महङ्गो अर्कोतर्फ ट्रान्जिट क्षेत्रमा भएको तनावका कारण जुन ‘रेसियो’मा पर्यटक आउनुपर्ने हो, त्यो आउन सकेका छैनन्', उनी भन्छन् । पश्चिम एशियाको द्वन्द्वका कारण नेपालमा इन्धनलगायतका सामाग्रीको मूल्य बढ्दा होटल सञ्चालनमा थप समस्या परेको उनी बताउँछन् । मध्यपूर्व क्षेत्रमा तनाव दीर्घकालीन रूपमा रहिरह्यो भने नेपालको पर्यटन पुनरुत्थानमा थप चुनौती थपिन सक्ने उनको भनाइ छ ।      नेपालको मुख्य पर्यटकीय सिजनका रुपमा मार्च, अप्रिल र मे महिनालाई लिईन्छ । अहिले पर्यटकीय सिजन सुरु भएको छ । पर्यटकीय सिजनको समयमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा भने गत वर्षको तुलनामा यसवर्ष कम मात्रामा पर्यटक आएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव ९विमल० धमला गतवर्षको तुलनामा यसवर्ष ठमेल आउने पर्यटकको सङ्ख्यामा कमी आएको बताउँछन् । ठमेलमा काठमाडौं इको होटलसमेत सञ्चालन गरिरहनुभएका धमला पर्यटकीय सिजनमा होटलमा जम्मा ५० देखि ६० प्रतिशतमात्र ‘अकुपेन्सी’ रहेको बताउँछन् । ठमेलका गल्लीहरुमा समेत गत वर्षभन्दा यस वर्ष कम मात्रामा पर्यटक देखिएका छन् । रासस