भन्सारमै एमआरपी अनिवार्य गर्ने निर्णयप्रति मोरङ उद्योग व्यापार संघको आपत्ति
काठमाडौं । नेपाल सरकारको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८२ चैत्र २६ र ३० गते प्रकाशित सूचनामार्फत स्वदेशी तथा आयातित वस्तुहरूमा भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेपछि मोरङ उद्योग व्यापार संघले ध्यानाकर्षण जनाएको छ । संघले उपभोक्ताको हकहित संरक्षण, बजारमा पारदर्शिता तथा स्वच्छ व्यवसायिक वातावरण कायम गर्ने उद्देश्य सकारात्मक भए पनि पर्याप्त तयारी, स्पष्ट कार्यविधि र सरोकारवालासँग पर्याप्त छलफल नगरी छोटो समयमै नीति लागू गर्दा आयातकर्तामा अन्यौलता सिर्जना भएको जनाएको छ । यसका कारण भन्सार जाँचपास प्रभावित भई ठूलो संख्यामा सवारीसाधन भन्सार विन्दुमा थन्किएको संघको भनाइ छ । संघका अनुसार विद्यमान व्यवस्थाअनुसार एमआरपीको ४० देखि ५० प्रतिशतसम्म भन्सार मूल्यांकन गर्ने प्रावधान व्यवहारिक छैन । यसले आयातकर्तामाथि थप आर्थिक भार पार्नुका साथै मुलुकको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढाएको छ । यसबाट बजारमा वस्तुको अभाव, मूल्यवृद्धि, राजस्व संकलनमा असर तथा उपभोक्ताको दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पर्ने सम्भावना रहेको संघले जनाएको छ । नेपालजस्तो सानो तथा संवेदनशील अर्थतन्त्रमा अधिकांश व्यवसायी साना तथा मझौला स्तरका हुने भएकाले बजारको उतारचढाव, ढुवानी खर्च, विनिमय दर, कर संरचना र मौज्दात व्यवस्थापनका आधारमा वस्तुको मूल्य निर्धारण गर्ने गरिन्छ । यस्तो अवस्थामा भन्सार विन्दुमै अनिवार्य एमआरपी निर्धारण व्यवहारिक नहुने संघको तर्क छ । संघले आयातकर्ताले सम्पूर्ण लागत समायोजन गरी वस्तुमा एमआरपी निर्धारण गरेर मात्र बिक्री गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । साथै, कुनै पनि नीतिगत व्यवस्था लागू गर्नु अघि उद्योगी–व्यवसायी, उपभोक्ता अधिकारकर्मी, भन्सार एजेन्ट, आयातकर्ता तथा निजी क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल गरी स्पष्ट कार्यविधिसहित साझा समझदारीका आधारमा निर्णय गर्न सरकारसँग आग्रह गरेको छ । संघका अध्यक्ष अनुपम राठीले विज्ञप्तिमार्फत यस्ता नीतिहरू व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?
बबिता राई तेह्रथुम । सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा सडकछेउको एउटा सुन्दर भवन पर्छ । रातो र सेतो रङ लगाइएको उक्त भवनमा खानेपानी र सोलार प्यानलको व्यवस्था छ । साढे तीन तले उक्त भवन बाहिरबाट हेर्दा पूर्ण देखिन्छ । तर, यो भवन पाँच वर्षदेखि बन्द अवस्थामा रहेको छ । यो भवन नापी कार्यालय तेह्रथुमको हो । तर निर्माण भएको पाँच वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन । अहिले पनि नापी कार्यालय टुँडिखेलस्थित भाडाको घरमा सञ्चालन छ । कूल आठ आना जग्गामा बनेको भवन कार्यालय प्रायोजनमा नआउँदा कार्यालयले मासिक रु २३ हजार भाडा बुझाउँदै आएको छ । सङ्घीय सरकारको बजेटबाट तत्कालीन शहरी विकास कार्यालय धनकुटाको प्राविधिक सहयोगमा नापी कार्यालयमार्फत रकम निकासा हुने गरी भवन निर्माण सुरु भएको थियो । भवन निर्माणको ९० प्रतिशत काम सकिएको प्रतिवेदन नापी कार्यालयमा आएको र रु एक करोड ८० लाख रकम निकासा समेत गरिसकिएको नापी कार्यालय तेह्रथुमका सहलेखापाल योगेन्द्र रोकायाले बताए । यद्यपि प्राविधिक लागत र सम्झौताअनुसार भवन र क्यान्टिन निर्माण हुनुपर्ने भए पनि जग्गा उपलब्ध नहुँदा समस्या भइरहेको छ । तत्कालीन समयमा स्थानीय कृष्णमान श्रेष्ठले उपलब्ध गराएको आठ आना जग्गामा कार्यालयको भवन बनेको हो । तर अर्का एक जनाले क्यान्टिनका लागि जग्गा उपलब्ध गराउने भनेपछि क्यान्टिनका लागि पनि ठेक्का सुरु गरिएको थियो । तर पछि क्यान्टिनको लागि जग्गा उपलब्ध गराउछु भन्ने व्यक्तिले जग्गा नदिँदा समस्या निम्तिएको हो । कार्यालयको स्वामित्वमा नआइसकेको जग्गामा कसरी प्राविधिक लागत तयार गरियो त ? यो विषयमा भवन निर्माणमा प्राविधिक सहयोग गर्ने तत्कालीन शहरी विकास कार्यालय धनकुटालाई देखाएर नापी कार्यालय पन्छिदै आएको छ । भवन निर्माण सम्पन्न भएको प्रतिवेदन अहिलेसम्म कार्यालयमा आइनसकेको र निर्माण कम्पनीले भवन हस्तान्तरण नगरेका कारण कार्यालय सर्न नसकेको नापी कार्यालय तेह्रथुमका प्रमुख सम्झना ढुंगानाले बताइन् । प्राविधिक लागत र सम्झौताअनुसार भवन र क्यान्टिन बनाउनुपर्नेमा भवन बनिसके पनि क्यान्टिन नबनेकाले काम सम्पन्न भएको प्रतिवेदन आउन नसकेको कार्यालय प्रमुख ढुंगानाको भनाइ छ । विसं २०७६ मा एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी आशीर्वाद निर्माण कम्पनीले दुई करोड ५० लाख ८१ हजार रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७७ साल चैत्रमा भवन निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि कमल ढुंगानाले बताए । भवन निर्माण सकेपछि पनि भवनमाथिबाट पहिरो जाने सम्भावना देखिएपछि नापी विभागबाट रिटेनिङ वाल लगाइएको थियो । क्यान्टिन भने जग्गा नभएपछि बनाउन नसकेको उनले बताए । अरु सबै काम सकिएको र अब २०–२५ लाख रुपैयाँको मात्रै काम बाँकी रहेकोमा आफूहरुले जग्गा उपलब्ध गराइदिन वा क्यान्टिनलाई भवनको छतमा बनाउनका लागि नापी कार्यालयमा निवेदन र नापी विभाग मिनभवन काठमाडौंमा ताकेता गरिएको उनको भनाइ छ । 'जग्गा नभएपछि भवनको छतमा क्यान्टिन बनाउने निवेदन नापी विभाग मिनभवनमा पठाइएपछि जवाफ आएको छैन', निर्माण कम्पनी आशीर्वाद निर्माण कम्पनीका प्रतिनिधि ढुंगानाले भने । पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सुजन दाहालले भने भवन निर्माणको विज्ञापन प्रकाशनदेखि डिपिआर, स्टिमेट र रकम निकासा सबै प्रक्रिया नापी कार्यालयले नै हेरेको बताएका छन् । भवन स्टिमेट अनुसार बन्यो वा बनेन भनेर हेर्ने प्राविधिक सहायताका लागि मात्रै तत्कालीन शहरी विकास कार्यालयलाई जिम्मेवारी सुम्पिइएको दाहालको दाबी छ । 'प्राविधिक सहायकका रुपमा मात्रै पूर्वाधार विकास कार्यालय रहन्छ', उनले भने, 'नापी कार्यालयले चाहेको खण्डमा नगरपालिका वा अन्य कार्यालयलाई पनि प्राविधिक सहायकको रुपमा राख्न सक्छ ।' त्यसैले भवनसहितको अन्य संरचनामा गलत स्टिमेट हुनु र लामो समयसम्म भवन अलपत्र हुनुमा आफ्नो कार्यालयको कुनै भूमिका नरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख दाहालले बताए । जिल्लास्थित सरोकारवालाहरुले भने विगतमा जे–जस्तो कमीकमजोरी भए पनि राज्यको ठूलो लगानीबाट बनेको भवनलाई प्रयोगमा ल्याउनतर्फ सबैले पहल गर्नुपर्नेमा जोड दिँदै आएका छन् । कार्यालय प्रायोजनको लागि निर्मित भवन प्रयोगविहिन अवस्थामा हुनु र अर्कोतर्फ कार्यालयले वार्षिक लाखौं रकम भाडा भाडा बापत तिर्नु राज्यको रकमको दोहन भएको तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष तारा श्रेष्ठले बताइन् । म्याङलुङ नगरपालिका–१ का अध्यक्ष बुद्धिराज पयाङ्गुले आफ्नो सेवा क्षेत्रभित्रको सरकारी संरचनालाई प्रयोगमा ल्याउने विषयमा पटक पटक कुरा भएको बताए । रासस
मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट, जहाँ मःमले जोड्छ नेपालीको मन
कमलकुमार बस्नेत मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम र छाँयाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो । रुसी नागरिकका अनुसार यो मस्कोको ‘समर सिजन’ थियो । उनीहरु यो त हाम्रा लागि सबैभन्दा राम्रो मौसम हो, अन्य समयमा यहाँ घुँडासम्म हिँउ पर्नु सामान्य हो भन्दै थिए । यही चिसो मौसममा रिम्साय मेट्रो स्टेसन नजिकैको नेपाली रेष्टुरेन्ट ‘करि हाउस’मा नेपालीहरुको जमघट बाक्लो हुँदै थियो । ‘करी हाउस’ मस्कोमा अहिले सञ्चालन भइरहेको एक मात्र नेपाली रेष्टुरेन्ट हो । नेपाली जमघट हुने भएकाले यहाँ सबै किसिमका नेपाली खाना पाइन्छन । नेपाली मःमः यहाँको विशेष बनेको छ । मःमःका पारखी नेपाली मात्रै होइन, रुसी नागरिकहरु पनि बनेका रहेछन् । 'नेपाली परिकार पाउने इन्डियन रेष्टुरेन्ट पनि होलान् तर नेपालीले सञ्चालन गरेको र नेपाली परिकार पाउने यो एउटा मात्रै रेष्टुरेन्ट हो, अहिले त मःमः पाउने पनि मस्कोको यो एक्लो रेष्टुरेन्ट हो', सञ्चालक डिल्ली खरेल ‘सुमन’ले भने । त्यसो त, यहाँ मःमःसँगै खसीको भुटन पनि उत्तिकै मन पराइएको छ । नेपाली खाना (दाल, भात, तरकारी र अचार) पनि रुसी नागरिकले खुबै मन पराएका छन् । तर चिसो मौसममा स्टिम र झोल मःमःको स्वाद भने बेग्लै छ । रेष्टुरेन्टमा सबै प्रकारका नेपाली खानाका परिकार पनि पाइन्छन् । सञ्चालक खरेलका अनुसार यसअघि आफूले अर्को ठाउँमा रेष्टुरेन्ट सञ्चालन गरेका थिए । तर त्यहाँ आगलागी भएपछि झण्डै दुई करोड रुपैयाँ डुब्यो । झण्डै ३० वर्ष मस्कोमा बिताएका खरेलले केही महिना अघि मात्रै यो रेष्टुरेन्ट सुरु गरेका हुन् । जुन अहिले नेपालीका लागि भेटघाट गर्ने चौतारी बनेको छ । करि हाउसमा नेपाली मःमःको स्वाद लिएपछि माल्दिभ्सका पत्रकार नाजिम हसनले आफूले मस्को आएदेखि सबैभन्दा मीठो परिकार खाएको बताए । नेपाली शैलीका ‘स्टिम’ र ‘झोल’ दुवै प्रकारका मःमः आफूलाई निकै मन परेको उनको भनाइ थियो । उनी चार साता लामो फेलोसिप कार्यक्रमका लागि मस्को आएका हुन् । हसनसँगै मस्को आएका पत्रकारहरु श्रीलङ्काका आसन्का निलगराथा, भारतकी अर्पिता चौधरी र सौम्या शुक्ला तथा भुटानकी दोर्जी चोदेनले पनि मःमःको स्वाद निकै मीठो भएको प्रतिक्रिया दिए । करि हाउस नेपाली रेष्टुरेन्ट मात्रै होइन, मस्कोमा रहेका नेपालीहरुको चौतारी हो भन्दा फरक पर्दैन । करि हाउसको अगाडिको भाग पाहुनाहरुका लागि छु¥याइएको छ भने भान्छासँगै जोडिएको पछाडिको सानो हल नेपालीका लागि छुट्याइएको छ । यही हलमा हरेक दिनजसो नेपाली नागरिक जम्मा हुन्छन् । यही सानो कोठामा गैरआवासीय नेपालीका समस्यादेखि विद्यार्थी र व्यवसायीका समस्याबारे मन्थन हुन्छन् । एउटा टेबलमा एनआरएनसम्बन्धी छलफल छलिरहँदा अर्को टेबलमा थकान मेट्दै गरेका नेपालीहरु भेटिए । मस्कोमा पनि नेपाली मःमः जस्तै पेलमेनी (डम्पिलङ) पाइन्छ । तर यो मःमः जस्तै देखिए पनि स्वाद भने निकै फरक हुन्छ । एकपटक मःमः खाएपछि दोहोरिएर आउने रुसी नागरिक धेरै भएको सञ्चालक खरेलले बताए । गैरआवासीय नेपाली सङ्घ, रसियाका अध्यक्ष सिताराम कट्टेल ‘मिलन’ले आफूहरुका लागि यो पायक पर्ने ठाउँ भएको बताए । उपाध्यक्ष सङ्ज्ञान कार्कीलगायतको टोली नयाँ वर्ष, २०८३ को अवसरमा सांस्कृतिक कार्यक्रमको तयारीका लागि छलफलमा व्यस्त थियो । 'कोरोना महामारीपछि नयाँ वर्षमा हुने सांस्कृतिक कार्यक्रम आयोजना हुन सकेको थिएन, तर यसपटक हामीले यसलाई पुनः निरन्तरता दिने जमर्को गरेका छौँ, यो विदेशमा नेपाली कला र संस्कृति संरक्षण गर्ने एउटा अवसर हो', एनआरएनए, रसियाका अध्यक्ष कट्टेलले सुनाए । उक्त हलमा रुसी सेनामा २२ महिना काम गरेर अवकाश पाएका एक जना भेटिए । सत्र वर्ष भारतीय सेनामा काम गरेपछि अवकाश भएर उनी दुबई पुगेका हुन् । त्यहाँबाट मस्को पुगेर उनी रुसी सेनामा भर्ना भएका हुन् । उनका अनुसार रुसी सेनाबाट अवका पाएकाहरु त्यहाँ करिब ३५ जना रहेछन् । 'हामीहरु यहाँ रमाइलो गर्न आउँछौँ, नेपाली मःमः, भुटनदेखि जे भन्यो त्यही पाइन्छ । त्यसैले यो ठाउँ हामी सबैको जमघटको थलो बनेको छ', उनले भने । उनले आफू करि हाउसमा आउँदा नेपाल आए जस्तो लाग्छ भने । छेवैमा रहेको मादल देखाउँदै उनले भने, 'कहिलेकाँही यही मादलको तालमा गाउँदै नाच्दै रात बित्छ ।' यहाँका नेपालीहरुको एउटा गुनासो छ, कमाएको पैसा नेपाल पठाउन पाइएन । केही वर्षअघिसम्म यो समस्या थिएन, तर अहिले विभिन्न कारणले यहाँ कमाएको पैसा नेपाल पठाउने अवस्था छैन । रुस र युक्रेनबीचको युद्धका कारण पश्चिमा देशहरुले लगाएको प्रतिबन्धका कारण समस्या भएको हो । विशेष गरी सन् २०२२ यता रुसी बैंकहरुले विश्वव्यापी भुक्तानी प्रणाली ‘स्वीफ्ट’मार्फत कारोबार गर्न नपाउने भएपछि समस्या सृजना भएको हो । रुसी सरकारका उप–परराष्ट्रमन्त्री एन्ड्रे रुडेन्कोले रासससँग कुरा गर्ने क्रममा आफूलाई उक्त समस्याबारे जानकारी भए पनि तत्काल समस्या समाधान गर्न नसकेको बताए । 'पछिल्ला केही वर्षहरूमा विभिन्न प्रतिबन्धहरूको कारण स्थितिले झनै गम्भीर रूप लिएको छ, विशेष गरी हाम्रो बैंकिङ प्रणालीमा समस्या भएका कारण रूसबाट नेपालमा पैसा पठाउनु पहिलेको जस्तो सजिलो छैन', उनले भने, 'तर जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पनि हुन्छ ।' मन्त्री रुडेन्कोले उदाहरणका लागि, भारत, चीन र भियतनाम जस्ता देशहरूसँग सहकार्यमा पैसा पठाउन केही छिटो तथा प्रभावकारी तरिका हुनसक्ने बताए । 'उदाहरणका लागि भारतमा रुसको सबैभन्दा ठूला बैङ्कहरू मध्ये एक, स्बेरबैङ्कको शाखा छ जसले प्रभावकारी रूपमा काम गरिरहेको छ, त्यो पनि भविष्यमा विकल्प हुनसक्छ ।' करि हाउसका सञ्चालक खरेलका अनुसार करि हाउस आउने अधिकांशको समस्या पैसा पठाउन नसक्नु हो । यद्यपि भविष्यमा यो समस्या छिट्टै समाधान हुनेमा आफूहरु आशावादी भएको उनले बताए । रासस