सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : असिम शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह चुस्त होस् भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गरेर सरकारले अध्यादेश ल्याएको स्पष्ट गरेका छन् ।      उनले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउनका लागि आवश्यकपर्ने महत्वपूर्ण कदम चाल्नका लागि अध्यादेश सिफारिस गरेको बताएका हुन् ।      सल्लाहकार शाहले आज सामाजिक सञ्जालमार्फत सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउन महत्वपूर्ण कदम चालेको बताएका छन् ।      सोही प्रयोजनका लागि यही वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश प्रमाणीकरणका लागि सिफारिस गरेको जानकारी दिए ।      उनले भनेका छन्, 'वर्तमान सरकार गठन भएलगत्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिले नयाँ जनादेशको मर्मअनुसार शासकीय सुधारका लागि राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आह्वान गर्नुभएको थियो । सो आग्रहका बाबजुद कार्यसम्पादन र समन्वयमा देखिएका व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकारले यो कानुनी बाटो रोजेको हो । यसले कार्यसम्पादनमा देखिएका अवरोध ‘डेड्लक’ अन्त्य गरी नतिजामुखी शासन पद्धति स्थापित गर्न सहज हुनेछ ।'      उनले सार्वजनिक सरोकारका निर्णय निश्चित समयभित्रै सम्पादन गरी जनतालाई सुशासनको प्रत्याभूति गराउन सो अध्यादेश ल्याइएको पनि प्रष्ट पारेका छन् । पुराना र जटिल कानुनी प्रावधानका कारण जनहितका कार्यमा हुने विलम्बलाई यसले अन्त्य गर्ने जानकारी दिँदै विगतमा दशकौँसम्म अल्झिएका प्रक्रियागत समस्यालाई पहिचान गरी तिनको दिगो र वैज्ञानिक समाधान निकाल्ने सरकारको लक्ष्य रहेको पनि उनले बताएका छन् ।      उनले लेखेका छन्, 'यी अध्यादेश कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई विशुद्ध रूपमा नागरिकको हित र राज्य संयन्त्रको प्रभावकारिताका लागि ल्याइएको छ । कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिनु हुँदैन भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गर्दै यसले देशको समृद्धिको यात्रालाई थप गति दिने बलियो आधार खडा गरेको छ ।'   

विश्वकप लिग-२: ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल डक लुइस पद्धतिका आधारमा १ सय २ रनले पराजित भएको हो । जितका लागि ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६ दशमलव ५ ओभरमा सात विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिन पुगेको थियो । त्यसपछि पनि वर्षा नरोकिएपछि खेल सञ्चालन हुन सकेन र ‘डीएल मेथड’का आधारमा ओमान विजयी भएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको योगदान दिए । उनले ६२ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ६० रनको योगदान दिएका हुन् । त्यसैगरी भीम सार्कीले २८, आसिफ शेखले १९ रनको योगदान दिए भने आरिफ शेख र गुल्सन झाले समान १४–१४ रन जोडे । कप्तान रोहित पौडेलले १० रनमा आउट भए । बलिङतर्फ ओमानका नदिम खानले तीन विकेट लिँदा शाकिल अहमदले दुई विकेट लिए । त्यसअघि टस जितेर जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको थियो । ओमानको इनिङ्सका जतिन्दर सिंहले आक्रामक शैलीमा ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शानदार शतक पूरा गरे ।

बैंकको ऋण नतिर्न उक्साउने संग्रौला पक्राउ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू घरमा आएमा कालोमोसो दल्नु र भौतिक आक्रमण गर्नु भनेर अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् । बुधबार ४५ वर्षीय देवीप्रसाद संग्रौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । संग्रौलाले सामाजिक संजाल तथा निगरानी टीभीमार्फत उत्तेजित हुने अभिव्यक्ति दिने गरेका थिए । उनले विभिन्न  जिल्लाहरुको भ्रमण गरेर वित्तीय संस्थाबाट ऋण लिएको मानिसहरुलाई भेला जम्मा गराएर भड्काउने गरेका थिए । संग्रौलाले बैंक तथा वित्तीय संस्थाले रकम माग गर्दै घरमा आएका कर्मचारीलाई लखेट्नु, भौतिक आक्रमण गर्नु, कालोमोसो दल्नु जस्ता भड्किलो अभिव्यक्ति दिएका थिए ।  सार्वजनिक शान्ति भङ्ग गर्ने समेत काम गरेकोले झापा अर्जुनधारा ११ हाल भक्तपुर मध्यपुर ठिमी ६ बस्ने देवी प्रसाद संग्रौलालाई कार्यालयबाट खटिएका प्रहरी टोलीले उनलाई एयरपोर्ट गेटबाट पक्राउ गरेको हो । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।