काठमाडौं । आन्तरिक राजस्व कार्यालय, ठमेलले विभिन्न सात करदाता विरुद्ध आयकरको संशोधित कर निर्धारण, मूल्य अभिवृद्धि कर (भ्याट) को प्रारम्भिक कर निर्धारण तथा अग्रिम करकट्टी निर्धारण गरेको छ ।
कार्यालयले उपलब्ध प्रमाणका आधारमा आर्थिक वर्ष २०७८/७९ को कर परीक्षण सम्पन्न गरी आयकर ऐन, २०५८ को दफा १०१(६) बमोजिम संशोधित कर निर्धारण, दफा ९०(८) बमोजिम अग्रिम करकट्टी निर्धारण तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २९(१) बमोजिम प्रारम्भिक कर निर्धारणको आदेश जारी गरेको जनाएको छ ।
कार्यालयले सम्बन्धित करदातालाई संशोधित कर निर्धारण गर्नु नपर्ने कुनै ठोस सबुत वा प्रमाण भए सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित भई प्रमाण पेस गर्न आग्रह गरेको छ । तोकिएको अवधिभित्र प्रमाण पेस नगरे कार्यालयले निर्धारण गरेअनुसार संशोधित तथा अन्तिम कर निर्धारण कायम हुने जनाएको छ ।
कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-१८ क्षेत्रपाटीस्थित प्रतिक मानन्धरको भारत कन्स्ट्रक्सन सिद्धिसाइ जेभीको करयोग्य आय ८ करोड ६९ लाख ५६ हजार ९८८ रुपैयाँ कायम गरिएको छ । साथै उक्त फर्मका लागि १ करोड ४१ लाख २९ हजार ५६० रुपैयाँ मूल्य अभिवृद्धि कर तथा १ करोड १६ लाख ६८ हजार ६२६ रुपैयाँ अग्रिम करकट्टी निर्धारण गरिएको जनाएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका-२७ भोटाहिटीस्थित पूर्णबहादुर थापाको सेतीदेवी बिजनेस ट्रेडको ६४ लाख ६४ हजार ६३९ रुपैयाँ, ठहिटीस्थित उत्तम कुमारको न्यु सनराइज ट्रेडिङको ३ लाख ३ हजार ६७६ रुपैयाँ, महावौद्धस्थि गोविन्द अग्रवालको ह्याप्पी ट्रेड लिङ्कको ७९ लाख ३२ हजार २०४ रुपैयाँ करयोग्य आय कायम गरिएको छ । यी तीन फर्मको मूल्य अभिवृद्धि कर र अग्रिम करकट्टी दुवै शून्य निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
यस्तै, पदम नारायण श्रेष्ठ सञ्चालक रहेको अमृतमार्ग, ठमेलस्थित एसबी स्टोरको ७ लाख ९५ हजार ९२६ रुपैयाँ करयोग्य आय र १ लाख ९३ हजार २१४ रुपैयाँ मूल्य अभिवृद्धि कर निर्धारण गरिएको जनाएको छ ।
कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-२७ महावौद्धस्थित सुदीप कुमार रेग्मीको अन्तरा इन्टरनेशनलको करयोग्य आय १ करोड ३६ लाख ३७ हजार ४७१ रुपैयाँ र मूल्य अभिवृद्धि कर ९ लाख ८२ हजार १२६ रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका-२५ मासाङगल्लीस्थित रोहित प्रसाद सिंहको आर.पी.एस. इम्पोरियमको करयोग्य आय ८६ लाख ६६ हजार ८७२ रुपैयाँ र मूल्य अभिवृद्धि कर ११ लाख ४४ हजार ७९६ रुपैयाँ मूल्य अभिवृद्धि कर निर्धारण गरिएको छ ।