पोखरामा दक्षिण एशियाली खेलका लागि ह्याण्डबल प्रशिक्षणको शुभारम्भ
चिप्लेढुंगा । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन् । उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिँदै राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । गुरुङले तोकिएकै समयमा नेपालमा साग हुने बताएका हुन् । उनले खेलाडी र प्रशिक्षकलाई भत्तालगायतका सुविधा थप गर्न परिषद्ले गृहकार्य थालेको समेत जानकारी दिए । कार्यक्रममा नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रही पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गरेका छन् । सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरी ५६ खेलाडी पहिलो चरणको छनोटमा परेका छन् । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा २०७६ मङ्सिर १५ देखि २४ सम्म हुनेछ । रासस
एनसीसी बैंकद्वारा रौतहटका बाढीपीडितलाई राहत वितरण
काठमाडौँ । रौतहट जिल्लाको यमुनामाई गाउँ पालिका स्थित एनसीसी बैंकको शाखा कार्यालयद्वारा बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ । यमुनामाई-४ का बाढी पीडितलाई विहीबार बैंकले राहत वितरण गरेको हो । स्थानीय ३० परिवारलाई १५ दिनसम्म पुग्ने दाल, चामल, नून, आलु लगायतका सामाग्री बितरण गरेको शाखा प्रबन्धक उज्वल रिजालले जानकारी दिए । असार महिनाको अन्तिम साता वर्षासँगै आएको बाढीबाट पीडित भएका परिवारलाई खाद्यान्य सहयोग गरेकोमा वडा नम्बर ४ का अध्यक्ष चेतन राय यादवले खुशी व्यक्त गरे ।
बढ्दै बलात्कारका घटनाः एक हजार ८७३ मुद्दा दर्ता
काठमाडौं । मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताएका छन् । कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्ती रूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ । प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको बताउँछन् । “हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ”, उनले भने । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट पनि यस्ता घटना बढेकोे उनको भनाइ छ । रासस