क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन
हेटाैंडा । आठ महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज निधन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिएका हुन् । ३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका थिए । क्रिकेट सङ्घ मकवानपुरले एक शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ । खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले खेलाडी श्रेष्ठको निधन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताएका छन् । मृतक श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन् । रासस
विश्वकप एशिया छनोटः कुवेतद्वारा कतार १० रनले पराजित
काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रनको योगफल बनायो । कुवेतका लागि अदनान आर्डिसले ५६ रनको उत्कृष्ट इनिङ खेले भने मिट भावसारले ३५ तथा उस्मान वहीदले २८ रनको योगदान दिए । बलिङतर्फ कतारका लागि तमोर सज्जाद र इकवाल हुसेनले समान दुई÷दुई विकेट लिए । जीतका लागि १९८ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको कतार निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८७ रनमा समेटियो । कतारका लागि तमोर शज्जादले सर्वाधिक ४६ रनको योगदान दिए भने नोमान शनवारले ३४, इनाम उक हलले २८ तथा फैसल जाभेदले २५ रन जोडे । कुवेतका शिराज खान र जनदु हमौदले दुई÷दुई विकेट झारे । यस हारसँगै तीन खेल खेलेको कतार एक खेलमा जीत तथा दुई खेलमा हार बेहोर्दै दुई अङ्क जोडेको छ । अङ्क तालिकाको अन्तिम स्थानमा रहेको कतार प्रतियोगिताबाट लगभग बाहिरिएको छ । त्यस्तै, नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने कायमै रहेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको छ । नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउनेछन् । जारी प्रतियोगितामा आयोजक सिङ्गापुरले तीन अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै जोडेको कुवेत नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । त्यस्तै, दुई अङ्क बटुलेको मलेसिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । नेपालले आफ्नो तेस्रो खेल भोलि कुवेतसँग खेल्नेछ । रासस
सेञ्चुरी बैंकले नेपाल आखाँदान समाजलाई गर्यो सहयोग
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावश्यक भौतिक सामाग्रीहरु सहयोग गरेको छ । ‘आखाँदान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि सामाजिक कार्यमा स्वयंसेवा भावनाबाट प्रेरित भई आखाँको नानी को कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आखाँदान समाजलाई सहयोग गरिएको बैंकले जनाएको छ । आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि अत्यावश्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल आखाँदान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो ।