श्रेष्ठ दम्पतीद्वारा दुई लाखको शैक्षिक अक्षयकोष स्थापना

बागलुङ । बालबालिकाको पढाइमा सघाउने उद्देश्यले यहाँका एक दम्पतीले शैक्षिक अक्षयकोष स्थापना गरेको छ । बागलुङ बजार निवासी व्यवसायी कमलप्रसाद श्रेष्ठ र उहाँकी श्रीमती सिर्जनाले रु दुई लाखको ‘कमल–सिर्जना श्रेष्ठ शैक्षिक कोष–२०७६’ घोषणा गरेका हुन् । अक्षयकोष नेपाल भाषा मंका खलः बागलुङमार्फत सञ्चालन हुनेछ । कोषबाट आउने ब्याजबाट वर्षेनी दश नेवार समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिने भएको छ । मंका खलःबाट आएको कोषको प्रस्तावलाई आफूहरुले स्वीकार गरेको श्रेष्ठ दम्पतीले बताएका छन् । “आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको पठनपाठनमा सघाउने गरी अक्षयकोष खडा गरेका हौँ” कोषका संस्थापक कमलप्रसादले भने । कोषबाट सोमबार १० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । मंका खलःले शिक्षासँगै कला, संस्कृति लगायतका क्षेत्रमा पनि अक्षयकोष स्थापनाका लागि पहल गरिरहेको छ । रासस

नक्कली नोट छाप्ने उपकरणसहित चार गिराेह पक्राउ

धनगढी । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताएका छन् । खड्कालाई काठमाडौँको कोटेश्वरबाट सिआइबीको सहयोगमा साउन २१ गते पक्राउ गरिएको र अन्य तीनलाई साउन १७ र १८ गते कैलालीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।भारु र नेरु नक्कली नोट छाप्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । धनगढीको नैनादेवी टोलबाट पक्राउ परेका खगेन्द्रको कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने एक थान उपकरण, छापेर काट्न बाँकी रहेका भारतीय र नेपाली नक्कली नोटलगायत सामग्रीसमेत बरामद गरिएको थियो । उनीहरु विरुद्ध खोटा चलन शीर्षकमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ । रासस

साफ च्याम्पियनशिपः नेपालले पहिलाे प्रतिस्पर्धा भारतसँग गर्ने

भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको हो । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ भने १० गते बङ्गलादेशसँग र १२ गते भूटानसँग खेल्नेछ । यसअघि नेपालमा नै सम्पन्न अघिल्लो श्रृङ्खलाको साफ च्यापियनशिपमा बङ्गलादेश च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो । उक्त प्रतियोगिताका लागि यू–१५ का मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ, सहायक प्रशिक्षक राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । छनोट हुने खेलाडीमध्ये गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जिनियस केसी छन् भने डिफेन्डरमा प्रज्ञान महर्जन, अविशेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू र रोशन थापा छन् । यसैगरी, मिडफिल्डरमा जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाईं छन् । फरवार्डमा कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी र शशाङ्क बोहरा छन् । रासस