आज बालाचतुर्दशीः पशुपतिलगायत शिवालयमा शतबीज छर्न लाखौं भक्तजन

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न शुरु गरेका हुन् । बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको १०० गेडा छर्ने विधि भएपनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् । मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेपछि खानका लागि अन्न छरिएको हो भन्ने मान्यतासमेत छ । शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । यसै विश्वासका आधारमा पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरूप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ । गत वर्षदेखि बालाचतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको थियो । यस वर्ष त्रिपालमुनि बसेर महादीपदान गर्ने भक्तजनसँग शुल्क लिन नपाउने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । कसैले शुल्क उठाएको पाइएमा कारवाही गर्ने उनले बताएका छन् । यसका लागि पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । चारवटै सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको हो । यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको छ । विसं २०७४ सम्म त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु चिसोले कठ्याङ्ग्रिने गरेका थिए । पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबारअघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरिरहेका छन् । बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि विशेष पूजा गर्ने विधि छ । पशुपतिलगायत देशभरका शिवालयमा आज सोमबार परेकाले पनि पितृका नाममा शतबीज छर्नेबाहेकका भक्तजनको समेत उपस्थितिका कारण बढी भीड छ । शतबीज छरिसकेर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बालाचतुर्दशी पर्व समाप्त हुन्छ । रासस

माइती इण्डियाको प्रयासमा दुई चेलीको उद्धार

काठमाडौं । माइती ईन्डियाको प्रयासमा आज दुई चेलीको उद्धार भएको छ । काठमाडौंबाट दिल्ली पुर्याइएका अवस्थामा ती चेलीहरूको उद्धार भएको हो । काभ्रे जिल्ला घर भएकी वर्ष २५ रिता (नाम परिवर्तन) काठमाण्डौँको बाटो हुँदै दिल्लीमा राम्रो नोकरी लगाइदिने प्रलोभनमा ललाइफकाई ल्याई कोठीमा बेच्दै गर्दाको अवस्थामा भेटिएकी हुन् । त्यसैगरी, अर्की झापाको चेलीलाई मितेनी साइनो लगाई राम्रो तलब, राम्रो काममा लगाइदिने प्रलोभनमा पारी विरगन्जको बाटो हुँदै दिल्ली पुर्याइएका दूवै जनालाई माइती ईण्डियाको प्रयासमा र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा आज उद्धार गर्न सफल भएको छ । नेपाल दूतावास नयाँ दिल्ली, दिल्ली पुलिस सबैसँग समन्वय गरी ती दुई चेलीहरुलाई नेपाल फर्काइँदै गरेको माइती इन्डियाको ट्रष्टी सीता अधिकारीले बताएकी छन् ।

डिशहोमको सिनेमा घरमा चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन हुँदै, मंसिर १३ गतेदेखि शुरु

काठमाडौं । चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । हाँस्य कलाकार दिपक राजगिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गतेदेखि प्रदर्शन हुने छ । डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमाबसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ । यस सुुविधाअन्तर्गत संचालन भईरहेको सिनेमाघर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वाहलमा लागेको केहि समयपछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमाघर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँदिन मनाउने तयारीमा रहेको छ ।