म्याग्दीका ३३ वटा वडामा हेलिप्याड निर्माण, विकट र दुर्गम क्षेत्रका बस्तीले पाए सुबिधा
काठमाडौं । हिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएको छ । म्याग्दीका छ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको हो । बाँकी १२ वटा वडामा पनि हेलिप्याड निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । भौगोलिक रुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपत्कालीन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले गत मङ्सिरदेखि हेलिप्याड बनाउने योजना अघि सारेको हो । आठ महिनाको अवधिमा जिल्लाका ३३ वटा वडामा हेलिप्याड निर्माण गरिएको र आगामी दशैँसम्ममा सबै स्थानीय तहका सम्पूर्ण वडामा हेलिप्याड निर्माण भइसक्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताएका छन् । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर हेलिप्याड बनाएका हुन् । सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवाक्लब र आमासमूहको सहयोगमा हेलिप्याड बनाएका छन् । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकममा हेलिप्याड निर्माण गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिए । हेलिप्याड निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु सात लाख खर्च भएको जनाएको छ । हेलिप्याड बनाउन भिरालो जमिन सम्याइएको छ । त्यहाँसम्म पुग्ने बाटो बनाइएको छ । अन्नपूर्णको दोवा, भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तानको घराम्दी र राम्चेमा स्वास्थ्य चौकी परिसरमा हेलिप्याड बनाइएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ अधिकारीले बताए । नेपालमा नै पहिलोपटक म्याग्दीमा ‘एक वडा एक हेलिप्याड’ निमार्ण गर्ने अभियान सञ्चालन गरिएको थियो । सो अभियानअन्तर्गत अहिलेसम्म ३३ वटा वडामा हेलिप्याड बनाएको प्रजिअ अधिकारीले जानकारी दिएका छन् ।“म्याग्दीका सबै वडामा आगामी तीन वर्षभित्रमा हेलिप्याड बनाइसक्ने योजना बनाएका थियौँ तर आठ महिनामा नै ३३ वटा बनिसकेका छन् । अब दशैंसम्ममा सबै वडामा हेलिप्याड निर्माण गरिसकिनेछ”, उनले भने । बेनी नगरपालिकाको गलेश्वर र भकिम्लीको डोलेमा हेलिप्याड बनाइएको छ । अर्थुङ्गेको श्रीबक्स गुल्मीभित्र रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नसक्ने नाइटभिजन हेलिप्याड निर्माण भएको छ । पुतलाचौरको धार्मिकस्थल जगन्नाथ मन्दिर परिसरमा स्थानीयको सक्रियतामा हेलिप्याड निर्माण भएको छ । मङ्गला गाउँपालिकाको हिदी, कुहुँ र बरङ्जामा हेलिप्याड निर्माण भएको छ । मङ्गलाको दुई वटा वडामा हेलिप्याड बनाउन बाँकी छ । आठ वटा वडा रहेको रघुगङ्गाको पिप्ले र दग्नाम बाहेकका सबै वडामा हेलिप्याड बनिसकेको छ । हेलिप्याडबाट आकस्मिक बिरामी, दुर्घटनाका घाइतेलाई तत्कालै अस्पताल पुर्याउन सहज हुने प्रजिअ अधिकारीले बताएका छन् । हेलिप्याड निर्माणले धवलागिरि, अन्नपूर्ण, गुर्जा, पुथालगायत म्याग्दीमा हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकलाई पनि सुविधा पुग्ने जनाइएको छ । हिमआँधी, हिमपहिरो, पहिरो, बाढी, कटान, आगलागीका साथै दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत तत्कालै अस्पताल पुर्याउन सकिने अपेक्षा गरिएको छ । यसरी, सडक सुविधा नपुगेको र सडक अवरुद्ध भएको अवस्थामा तत्काल खोज, उद्धारका लागि विकल्पका रुपमा हेलिकप्टरको प्रयोग हुने गरेको छ । गुर्जा, कुइनेमङ्गले जस्ता दुर्गम बस्तीका बासिन्दा आकस्मिक बिरामी पर्दा हेलिकप्टरमार्फत अस्पताल पुग्ने गरेका छन् । रासस
कृषि विकास बैंकद्वारा १५० थान डस्टबीन हस्तान्तरण
काठमाडौँ । मदनवाटिका पार्क महादेवस्थान कोटेश्वर काठमाडौँमा कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय काठमाडौँले १५० थान डस्टबीन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो छ । शनिवार कार्यक्रममा प्रमुख अतिथि पूर्व कानून मन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेल र विशिष्ठ अतिथि तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले डस्टबीन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाबारे चर्चा गरे । एकिृत उपभोक्ता समितिका अध्यक्ष मदन सिवाकोटी र सामुदायिक विकास समितिका अध्यक्षसुमित्रा खरेलले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कृषि विकास बैंक लि.ले पुर्याएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको कामना गरे । उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेड कामु उप–महाप्रबन्धक प्रताप सुवेदी, क्षेत्रीय कार्यालय काठमाडौका कामु निर्देशक करुणचन्द्र घिमिरे, कामु निर्देशक अनिल यादव, कामु विभागीय प्रमुख अजय रिमाल, मुख्य शाखा प्रबन्धक गोकुल पनेरु, बैंकका प्रवक्ता हिमलाल पौडेल, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, कामु प्रबन्धक यादव पोखरेल, खेटराज दहाल लगायतका अन्य कर्मचारीको समेत उपस्थिति रहेको थियो ।
एसिसी यु–१९ क्रिकेट खेल्न मलेशिया जाँदै नेपाली टोली
काठमाडौं । मलेशियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् । कप्तान रोहितकुमार पौडेलले नेतृत्व गरेको सो टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम छन् । त्यस्तै टोलीको प्रशिक्षकमा विनोद दास छन् भने व्यवस्थापकमा राजु खड्का र फिजियोमा विक्रम न्यौपाने छन् । प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल यही असार १८ गते चीनसँग खेल्नेछ । नेपालको समूहमा चीन र सिङ्गापुर छन् । त्यसैगरी नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ । प्रतियोगितामा यसअघि आठ टोलीले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यान्मारले नाम फिर्ता लिएको थियो । समूह ए रहेको म्यान्मारले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका हुन् । अर्को समूहमा भने चार टोली छन् । अर्को समूहमा आयोजक मलेशियासँगै, भूटान, हङ्कङ र थाइल्याण्ड रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन् । नेपाली टोली आइतबार दिउँसो २ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । प्रतियोगिता यही असार २५ गतेसम्म चल्नेछ । रासस