प्राधिकरणको निर्णय बदर भएसँगै थपिए ६४ भूकम्प पीडित लाभग्राही

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत भएका छन् । पुनरावेदन समितिले प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडितलाई लाभग्राही कायम गरेको हो । समितिले एक हजार ५२० मुद्दाको फैसला गरेको सदस्य अधिवक्ता भीष्मराज कडरियाले बताएका छन् । उनका अनुसार ३८९ लाई गैर लाभग्राही, ३७२ मुद्दा खारेज, ६४ लाभग्राही र १९ मुद्दालाई तामेलीमा राखिएको छ । समितिमा दर्ताका लागि छ हजार ४५ को आवेदन सङ्कलन भएको छ । जाँचबुझ गरी चार हजार ७८५ निवेदन दर्ता भएका थिए । दुई हजार ९२५ मुद्दाको प्रमाण बुझ्न आदेश भएको थियो । दुई सय ११ मुद्दाको प्रत्यार्थी झिकाउनुपर्ने र १२७ मुद्दामा अन्य आदेश दिइएको छ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा २६ अनुसार समिति गठन भएको हो । पुनर्निर्माणसम्बन्धी कामको पुनरावेदन लिई सुनुवाइ गर्न एवं यससम्बन्धी कामलाई व्यवस्थित गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । समितिलाई प्राधिकरणले गरेका कामको निर्णयका बारेमा सुनुवाई गर्दा उच्च अदालतलाई भएबमोजिमको अधिकार हुने व्यवस्था ऐनले गरेको छ । ऐनले सुनुवाइको व्यवस्थापनका लागि समितिको कामकारबाहीमा सङ्क्षिप्त कार्यविधि, २०२८ प्रयोग हुनसक्ने व्यवस्थासमेत गरेको छ । यसैका आधारमा प्राधिकरण पुनरावेदन कार्यविधि, २०७३ समेत तर्जुमा गरेको छ । यसका लागि तीन सदस्यीय समितिको गठन गरिएको छ । समितिको अध्यक्षमा आइतबारसम्म न्यायाधीश नरेन्द्रकुमार शिवाकोटी बहाल छन् । पाटन उच्च अदालतका न्यायाधीश शिवाकोटी आजैदेखि सेवानिवृत्त हुन लागेकाले काममा बाधा पर्नसक्ने समितिले जनाएको छ । न्यायाधीशले दुई दिनको समयमात्र समितिलाई दिने भएकाले पनि फैसलामा ढिलाइ भइरहेको सदस्य कडरियाले बताए । “न्यायाधीशले उच्च अदालतमा चार दिन र समितिमा दुई दिन समय दिने व्यवस्था गरिएको थियो, यसो गर्दा पुनर्निर्माणको लाभग्राही सूचीमा नपरी पुनरावेदन गराएकाको फैसलामा ढिलाइ भएको हो”, उनले भने । यसैगरी, समितिको सदस्यद्वयमा कडरिया र इञ्जिनीयर योगेश्वरकृष्ण पराजुली छन् । उच्च अदालतका न्यायाधीशमध्येबाट न्याय परिषद्को सिफारिसमा सरकारले तोकेको न्यायाधीश समितिको अध्यक्ष रहने व्यवस्था छ । रासस

गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘हे माया’ सार्वजनिक

काठमाडौ । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘हे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् । विगत लामो समय देखि गीत संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडि बढिरहेका युरोप निवासी युरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्रायः युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिइसकेका उनले युरोप मात्र नभएर युरोप बाहिर रहेको विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन । प्रवासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडि बढाउनु धेरै चुनौतीको कुरा हो । तर पनि प्रवासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गीत संगीत छेत्रमा उनले योगदान दिइरहेका छन् । दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका गायकले ‘तिम्रो मेरो प्रेम कहानीु ‘ ‘म त मान्छे सिधा साधाु ‘ ‘ प्यारी छोरी न बचाउन सके’ जस्ता गीत लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिइसकेका गायकले प्रायः देश तथा विदेशमा गरिने कार्यक्रमकाे प्रस्तुति निकै दमदार रहने गरेको छ ।

बालिका अपहरणको प्रयास गर्ने भारतीय नागरिकलाई जेल चलान

सप्तरी । बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् । जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ । सोही आरोपमा पक्राउ परेका कुनौली–४ बैरियाघाटका १६ वर्षीय बालक (अनिल भनिने दुर्गानन्द झा) लाई अदालतले बालसुधार गृह वीरगञ्ज पठाउने आदेश दिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी मोरङको धनपालथान गाउँपालिका–५ दादरबैरियाकी आठ वर्षीया आँचल शर्मालाई गत कात्तिक १४ गते आरोपितहरुले अपहरण प्रयास गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । पीडित बालिका मृत्यु भएका हजुरबुवाको १३ दिने श्राद्धमा मामाघर आएकी थिइन् । मामाघरका परिवारका सदस्यहरु श्रद्धा पूजा र भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला बालिकाकी हजुरआमा ५५ वर्षीया सावित्रीदेवी शर्माले होहल्ला गरेपछि जुटेका स्थानीयवासीले आरोपितहरुलाई नियन्त्रणमा लिएका हुन् । आरोपितहरुको साथबाट प्लाष्टिकको तीन बोरासमेत फेला परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताए । चिया र बिस्कुट खान दिने भनेकाले उनीहरुसँग गएको बालिकाले बताइन् । बालिकाका मामा ३९ वर्षीय अमित शर्माले कात्तिक १५ गते आरोपितहरुविरुद्ध दिएको अपहरण तथा शरीर बन्धकको उजुरीमाथि जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरी कारवाही थालेको हो । रासस