एनआईसी एसियाले हावाहुरी पीडितलाई गर्यो २ लाख सहयोग

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले जेठ २३ गते आएको हावाहुरीका कारण धनगढी, कैलाली र कञ्चनपुरका व्यक्तिहरु पीडित भएकोमा दुःख व्यक्त गर्दै सहयोग गरेको छ । घटनाबाट पीडित परिवारको पुनस्र्थापनाको लागि बैंकले धनगढी उप-महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोग स्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । उक्त रकमको चेक बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेकराज भट्टले धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर ओडलाई हस्तान्तरण गरे ।

कोपा अमेरिका कपः अर्जेन्टिना आउट, ब्राजिल फाइनलमा

काठमाडौँ । कोपा अमेरिका कप फुटबलको आज बिहान सम्पन्न खेलमा अजेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा ब्राजिलका लागि ग्राबिल जिससले १९ औँ र रोबर्टो फर्मिन्होले ७१ औं मिनेटमा गोल गरी फाइनल यात्रा सुरक्षित गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिना भने गोल गर्न असफल  हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । ब्राजिलले अब उपाधिका लागि चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।

टेलिकमले दियो दृष्टिविहीन विद्यार्थीलाई सामसुङ ग्यालेक्सी एम२० स्मार्टफोन

काठमाडौँ । समाजका हरेक वर्ग र समुदायलाई आफ्ना सेवाहरुबाट लाभान्वित गराउँदै आएको नेपाल टेलिकमले विपन्न र दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुलाई फेरी स्मार्ट फोन उपलब्ध गराएको छ । सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रमका बीच असार १७ गते कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन प्रदान गरे । कार्यक्रममा अधिकारीले नेपाल टेलिकमले देशका विकट क्षेत्रमा समेत अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउनुका साथै फरक क्षमता भएका नागरिकहरुलाई उपलब्ध गराइएको सेवाले प्रविधिको माध्यमबाट आर्थिक गतिविधिका साथै सहज जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले व्यवसाय मात्र विस्तार नगरी सेवाको भावनाले समेत काम गरिरहेको बताए । भेरीगंगा नगरपालिका १० का वडाअध्यक्ष मानबहादुर बुढाले नेपाल टेलिकमले विभिन्न सेवामूलक कार्यपनि गरिरहेकोमा प्रशंसा गर्दै यस्तो सेवा आगामी दिनमा अन्य क्षेत्रमा समेत उपलब्ध हुने विश्वास व्यक्त गरे । मैत्री समाज नेपालका प्रतिनिधि चन्द्रमणि पोखरेलले कम्पनीले प्रदान गरेको मोबाइल सेटमार्फत दृष्टिविहीन विद्यार्थीहरुलाई स्तरीय आवाजसहितको प्रविधिबाट अध्ययन गर्न सहयोग पुग्ने बताउदै यसबाट समाजमा पिछडिएका र फरक क्षमता भएकाहरुले पनि केही गर्न सक्छन् भन्ने विश्वास कायम राख्न सहयोग पुगेको बताए । नेपाल टेलिकमले मैत्री समाज नेपालको सहकार्यमा कर्णाली प्रदेशका दृष्टि सम्बन्धी अपांगता भएका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई मोबाइल सेट हस्तान्तरण गरेको हो । स्मार्ट फोनमार्फत आवश्यक एप्लिकेसन प्रयोग गरी उनीहरुले अध्ययन कार्यलार्ई सहज रुपले अघि बढाउन सक्नेछन् । यही असार १३ गते सुनसरीको इटहरीमा पनि दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई मोबाइल सेट वितरण गरिएको थियो । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका दृष्टिविहीन विद्यार्थीहरुलाई उच्च प्रविधियुक्त एन्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गरी उनीहरुको शैक्षिक स्तर र अवसर अभिवृद्धि गर्न सहयोग पुर्याउने कम्पनीको योजना छ । विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गत ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्पनीले मोबाइलबाट गरिने कुराकानीमा समेत विशेष सहुलियत उपलब्ध गराइरहेको छ ।