अब सुत्केरी हुने अवस्थामा पुरुषको उपस्थिति अनिवार्य हुनुपर्ने
काठमाडाैं । शिशु कसरी जन्माउने रु प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन)मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ । स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् । उनीको साथमा आमा, सासु, दिदीबहिनी अन्य महिला नै हुने गर्दछन् । सुत्केरी हुने अवस्थामा श्रीमान् अनिवार्य हुनुपर्ने प्रावधान विकसित देशमा रहेको बताइन्छ । कतिपय देशमा श्रीमानकाे अनुमतिविना चिकित्सकले गर्भवती जाँचसमेत गर्दैनन् । श्रीमानलाई साथमा राखेर सेवा दिन्छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले गर्भवतीले आफूले चाहेको विधिमा सुत्केरी हुन पाउने र विशेषगरी सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी थाल्दै छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले ती अभ्यासलाई पहिलोपटक व्यवहारमा ल्याएको थियो । प्रसूति तथा स्त्रीरोगसम्बन्धी केन्द्रीय अस्पताल परोपकार प्रसूतिगृह थापाथलीले सो अभ्यासलाई हालसम्म व्यवहारमा ल्याउन सकेको छैन । सुत्केरी हुन लागेको अवस्थामा रहेकी महिलाका साथमा स्वास्थ्यकर्मी मात्र रहन्छन । पुरुषलाई निषेध छ । परिवारका आफन्तले सुत्केरीलाई मुस्किलले भेट्न पाउँछन् । प्रतिष्ठानका नर्सिङ डीन सरस्वती गौतमले प्राकृतिक रूपमा सहज सुत्केरी गराउन जुम्ला अस्पतालले छुट्टै बर्थिङ सेन्टर (सुत्केरी केन्द्र) स्थापना गर्न लागेको जानकारी दिए । ‘चिकित्सकले जटिल भनेर सिफारिश गरेका बाहेक’ अन्य गर्भवतीलाई प्राकृतिक रूपमा सुत्केरी गराउन मिडवाइफले सेवा दिने उनले जानकारी दिएका छन्। अस्पतालमा पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी गराउन निरुत्साहित हुँदै आएको छ । “नर्मल विधिबाट डेलिभरी हुन पाउनु महिलाको अधिकार हो, शल्यक्रिया त जटिल अवस्थामा दोस्रो विकल्प हो । पहिलो विकल्प हुँदाहुँदै दोस्रोको प्रयोगलाई न्यूनीकरण गर्ने हाम्रो ध्येय हो”, उनले भनिन्, “सुत्केरी हुने अवस्थामा श्रीमान् अथवा घरपरिवार नजिक हुँदा आत्मबल उच्च हुन्छ । शिशु निकाल्न शक्ति उत्पन्न हुन्छ । यसैले सुत्केरी हुँदा नजिक परिवारको अनिवार्य खोजी गरिएको हो ।” सुत्केरी गराउन, आमा र नवजात शिशुको स्याहार तथा परिवार नियोजनका सेवा प्रदान गर्न मिडवाइफलाई उत्कृष्ट मानिन्छ । पछिल्लो समय प्राकृतिकभन्दा शल्यक्रियामार्फत सुत्केरी गराउने सङ्ख्यामा वृद्धि भइराखेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवजात शिशु, शिशु, पाँच वर्षमुनिका बालमृत्युदर तथा मातृमृत्युदर घटाउन मिडवाइफ जनशक्ति उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ । हाल चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)बाट पहिलो समूहमा नौ मिडवाइफ जनशक्ति उत्पादन भएका छन् । काठमाडौँ विश्वविद्यालयले सो विषयमा अध्यापन शुरुआत गराएको छ । यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले ती दुई निकायलाई प्राविधिक सहयोग गरेको जनाइएको छ । अगामी वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ती विषयमा अध्यापन गराउने तयारी गर्दैछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्ला अस्पताल, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने मिडवाइफ जनशक्ति उत्पादन गर्न गत वर्षदेखि मिडवाइफमा तीनवर्षे स्नातक कार्यक्रम सञ्चालन ल्याएको थियो । हाल गत वर्षका छ र यस वर्षका १० जनाले सो विषय अध्ययन गरिराखेका छन् । “ज्ञान, सीप र व्यवहार तीनै पक्षबाट विद्यार्थीलाई उत्कृष्ट बनाउन प्रतिष्ठानले उच्च ध्यान दिएको छ । हाम्रा जनशक्ति विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने हुन्छन् । पाठ्यक्रम स्थानीय होइन, अन्तरराष्ट्रियस्तरको हो”, प्रतिष्ठानकी नर्सिङ डीन भट्टराईले भने । सो विषयमा स्नातक तह अध्ययन गरिराखेका विद्यार्थीको ज्ञान, सीप र व्यवहार मापन गर्न प्रतिष्ठानले ‘दक्षता मापन विधि’ को मस्यौदा तयार पारेको छ । बुधबार सम्पन्न तीनदिने विशेषज्ञ बैठकले नेपाल नर्सिङ काउन्सिलले कार्यान्वयनमा ल्याएको मिडवाइफ पाठ्यक्रम निर्देशिका र मिडवाइफको अन्तरराष्ट्रिय महासङ्घले निर्धारण गरेका ३ सय १८ बुँदाका आधारमा विधि तयार पारेको प्रतिष्ठानका नर्सिङ प्रमुख निर्मलाकुमारी पहाडीले जानकारी दिएकी छन् । अब सैद्धान्तिक ज्ञानबाट प्राप्त अङ्क र मापन विधिका आधारमा विद्यार्थीको मूल्याङ्कन हुने छ । नर्सिङभन्दा मिडवाइफ्रि केयर उत्कृष्ट बिरामीसँगको भेटमा शिर निहुर्याएर नमस्कार गर्नुपर्ने, हँसिलो अनुहारमा मुस्कुराउँदै प्रस्तुत हुनुपर्ने, आफ्नो परिचय दिनुपर्ने, शिष्ट र मर्यादित भाषामा बोल्नुपर्ने, बिरामीको गोपनियतालाई विशेष ध्यान दिनुपर्ने, सुत्केरी गराउँदाका चिकित्सकीय हरेक चरणलाई अनुशरण गर्नुपर्नेलगायतका ज्ञान, सीप र व्यवहारलाई समावेश गर्ने बुँदा मापनमा समावेश गरिएका छन् । जुम्ला अस्पतालमा गत वर्ष करीब ७ सय सुत्केरी भएका थिए । तीमध्ये न्यून मात्रमा शल्यक्रिया भएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । एक जना आमा तथा जवजात शिशुले अकालमा मृत्युवरण गर्नुपरेको थिएन । मिडवाइफ अध्ययनत एक विद्यार्थीले कम्तीमा एक सयभन्दा बढी गर्भवतीको जाँच, ५० को प्राकृतिक (नर्मल) सुत्केरी, सुत्केरी गराउँदा सकेसम्म चिकित्सकीय उपकरण प्रयोग गर्न नहुने, दशको जटिल शल्यक्रिया, कम्तीमा ५० गर्भवतीको पाठेघरको मुखको जाँच अनिवार्य गर्नुपर्ने प्रावधानलाई प्रतिष्ठानले लागू गरेको छ । नर्सिङ काउन्सिलको मिडवाइफ पाठ्यक्रमको निर्देशिकामा सोही प्रावधान रहेको अध्यक्ष गोमा निरौलाले जानकारी दिए । आमा र बच्चाको सुरक्षा गर्न मिडवाइफ जनशक्ति अति आवश्यक मानिन्छ । उनले भने, “गर्भवती आमा, सुत्केरी गराउन तथा नवजात शिशुका लागि नर्सिङ केयरभन्दा मिडवाइफ केयर महत्वपूर्ण हुन्छन् । मिडवाइफले सकेसम्म नर्मल डेलिभरीमा जोड दिन्छन् । परिवार योजनामा दक्षता बढी हुन्छ ।” पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ विभागका प्रमुख सरला केसी नवजात शिशु मृत्यु, बालमृत्यु तथा मातृमृत्युदर घटाउने विभिन्न विधिमध्ये दक्ष सुत्केरी सेवा रहेको र मिडवाइफले प्रदान गर्ने सेवा विशिष्टकृत हुने बताएकी छन् । उनले भनिन्, “जुम्लामा स्नातक तहको मिडवाइफ अध्ययनले प्रजनन स्वास्थ्यमा सुधार ल्याउने छ । प्रतिष्ठानले तयार गरेको मापदण्डलाई पाटनले अगामी दिनमा अनुशरण गर्ने छ ।” प्राकृतिक रूपमा हुने सुत्केरीले आमा र नवजात शिशुको स्वास्थ्यलाई फाइदा हुन्छ । दक्ष स्वास्थ्यकर्मीको अभावमा कर्णालीका आमाले अकालमा मृत्युवरण गर्न नपरोस् भनेर जनशक्ति उत्पादन गर्न प्रतिष्ठानले मिडवाइफको अध्यययन अध्यापन शुरुआत गरेको प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज बाग्ले बताउँछन्। उनले भने, “एमबीबीएस र एमडीजिपी तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानले शैक्षिक जनशक्ति, पूर्वाधार र उपकरणका तयारी पूरा गरेको छ । सरकारको अनुमतिको पर्खाइमा छौँ ।” कर्णाली प्रदेशका १० जिल्लामा गत वर्ष १७ लाख ४३ हजार जनसङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयले प्रक्षेपण गरेको थियो । रासस
महालक्ष्मी विकास बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटलमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युटसँग सम्झौता गरेको छ । बुधबार भएको उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।साथै, बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २०%, उपचार प्रक्रियामा अधिकतम १५%, रोगको निदानमा अधिकतम १२% तथा औषधिमा ५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशका १ सय २ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
नुवाकोटको त्रिवेणीधाममा माघ १६ गतेदेखि श्रीमद्भागवत महायज्ञ
काठमाडौ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । माघ १६ गतेदेखि २४ गतेसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर सप्ताह महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाले महायज्ञको उद्देश्य र लक्ष्यबारे जानकारी गराएका हुन् । त्रिवेणीधाममा एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागिएको कथावाचक ईश्वरकृष्ण महाराजले बताए । उनले भने, नेपालमा धार्मिक क्षेत्रबाट पर्यटनको विकास गरी समृद्धि हासिल गर्न सम्भव छ । त्रिवेणी धार्मिक हिसाबले र आफैमा अति रमणीय पवित्र स्थान भएकोले सबैलाई एक पटक जान आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि तथा बौद्ध महासंघका उपाध्यक्ष धर्मगुरु खेम्पो कमल भण्डारीले महायज्ञमा माघ १६ र १७ गते मात्र प्रवचन दिने बताए । उनले नेपाल जात, धर्म र प्राकृतिक धरातलले विश्वमा प्रख्यात रहेको पनि जानकारी दिए । उनले विदेशबाट आउने पर्यटकहरु अधिकांश नेपालमा धार्मिक कारणले आउने गरेका बताए । उनले हिन्दु र बौद्ध धर्मको दृष्टि फरक भएपनि चर्या एउटै हुने उल्लेख गरेका छन् । त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले जानकारी दिइन् । उनले महायज्ञ मूल समारोह समितिका उक्त कार्यक्रममा प्रमुख अतिथिहरु हिन्दु धर्मका ईश्वर कृष्ण महाराज र बौद्ध धर्मका तर्फबाट खेम्पो कमल भण्डारी रहेका थिए । नुवाकोटको त्रिवेणी धाममा १ लाख पर्यटक भित्राउने योजना रहेको बताएका छन् । कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष श्रीराम कृष्ण थापाले महायज्ञका माध्यमले त्रिवेणीधामबारे विश्वभर जानकारी गराउने लक्ष्य राखिएको बताए । त्रिवेणी तीन खोला वा नदीको संगम भएकाले अति पवित्र पुण्य स्थानको रुपमा मानिने भएकाको नेपालमा मात्र नभएर पुरै विश्वमा नै यसबारे प्रचार हुनुपर्ने जानकारी दिए । थापाले उक्त स्थानमा धर्मशालाको निर्माण, विभिन्न देवीको देवताको मन्दिर निर्माण र ध्यान केन्द्रको निमार्ण तथा बौद्धमार्गीहरुको लागी गुम्बा निर्माण गर्ने कार्य हाल भइरहेको जानकारी दिएका छन् । महायज्ञबाट संकलित रकम त्रिवेणीधामको पूर्वाधार विकासमा खर्च हुने उल्लेख गरे । त्रिवेणी धाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले उक्त धाममा सबैलाई एकपटक आई धार्मिक कार्यमा सहयोग गर्न आग्रह गरिन् । उनले धामको महत्वबारे प्रकाश पारेकी थिइन् । महायज्ञ मूल समारोह समितिका उपाध्यक्ष रमेश कुमार पाठकले नेपाल र नेपालको पनि त्रिवेणी बनाउन त्रिवेणीधामले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्रिवेणीधामको महायज्ञले सबै पार्टीलाई पनि एकताको शुत्रमा बाँकी विकासको काममा अघि बढाउने आशा बढेको बताए । नेपाल कम्युनिष्ट पार्टी संघिय क्षेत्र न. १ का अध्यक्ष पदम उप्रेतीले सबै धर्मको प्रतिमा स्थापना गर्दै सम्पुर्ण जाती धर्मलाई संगै अगाडि लानुपर्ने उल्लेख गरेका छन् । उनले धार्मिक सहिष्णुता राख्दै समृद्ध नुवाकोट, समृद्ध शिवपुरी हुनेमा उक्त महायज्ञ कोषेढुंगा हुने आशा व्यक्त गरे । समृद्ध नेपाल हुनमा सबैको भुमिका हुने भन्दै महायज्ञले त्यस दिशातर्फ प्रेरित गर्ने बताए ।