पेनाल्टीमा अष्ट्रेलियालाई हराउँदै अन्तिम १६ मा इजिप्ट

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको छ ।

यससँगै इतिहासमै पहिलो पटक इजिप्टले विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा खेल १-१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमार्फत भएको हो । 

डलास स्टेडियममा भएको खेलमा इजिप्टले १३औं मिनेटमै इमाम आशुरको उत्कृष्ट हेडरमार्फत अग्रता लिएको थियो । त्यसपछि अष्ट्रेलियाले लगातार दबाब सिर्जना गर्दै ५५औं मिनेटमा मोहम्मद हानीको आत्मघाती गोलको लाभ उठाएर खेल बराबरीमा ल्यायो । त्यसपछि दुवै टोलीले केही राम्रो अवसर बनाए पनि थप गोल निस्कन सकेन ।

पेनाल्टी सुटआउटमा भने इजिप्टका महमुद साबेर, रामी राबिया, मोहम्मद सलाह र हसम अब्देलमागुइदले सबै प्रहार गोलमा परिणत गरे । अष्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनको प्रहार असफल भएपछि इजिप्टले ४–२ को जित हात पार्दै ऐतिहासिक सफलता हासिल गर्यो ।

​खेलभर अष्ट्रेलियाले संघर्षपूर्ण प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसर सदुपयोग गर्न सकेन । इजिप्टका कप्तान मोहम्मद सलाहले गोल गर्न नसके पनि टोलीको आक्रमण र पेनाल्टी सुटआउटमा महत्त्वपूर्ण भूमिका निभाए ।

यस जितसँगै इजिप्टले विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरण जित्दै अन्तिम १६ को यात्रा तय गरेको छ भने अष्ट्रेलियाको अभियान अन्तिम ३२ मै समाप्त भएको छ ।

Share News