युवतीलाई सामूहिक बलात्कार गर्ने एक पक्राउ, चार फरार
भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । गिरीले यही ८ गते बेलुका युवतीलाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर बलात्कार गरी आफ्ना साथी कवाङ लामासहित चारजनालाई बोलाई रातभरि बन्धक बनाएर पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । पीडित युवतीले यही जेठ ९ गते बिहान महानगरीय प्रहरी वृत्त ठिमीमा जाहेरी दिएपछि प्रहरीले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भई मध्यपुरथिमि–६ पुरानो थिमि बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको उनले जानकारी दिए । प्रहरीले आइतबार जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको र फरार अन्य चारजनाको खोजी भइरहेको जनाएको छ । रासस
गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने निर्णय
भीमदत्तनगर । कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो । यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट करिब ७० हजार नागरिक भित्रिएका थिए । नेपाल–भारत सीमा सिल गर्नुका साथै लकडाउन थालिएयता यहाँको दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी र पुर्नवासलगायतका क्षेत्रमा लुकीछिपी आउने क्रम रोकिएको छैन । “दशगजामा आएर नेपाली अलपत्र पर्न थालेपछि व्यवस्थित तवरले उद्धार गरी ल्याउन गड्डाचौकी नाकाबाट आउन लिने निर्णय गरिएको हो”, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने, “गड्डाचौकीमा स्वास्थ्य जाँचदेखि आवागमन व्यवस्थित बनाउन तयारी गरिएको छ ।” बिहानैदेखि सेना र स्वास्थ्यकर्मीको चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले लाइन व्यवस्थापनलगायतमा खटिने तयारी प्रशासनले गरेको जनाएको छ । भारतमा यातायात सुचारु भएसँगै यहाँका नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ । त्यसैगरी जिल्लामा कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि औषधोपचारबाहेकका सबै सेवा बन्द गर्ने निर्णयसमेत गरेको छ । औषधोपचारबाहेक तकारी बजार, फलफूल, खाद्यान्न पसल र बैंकलगायत सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । रासस
भरुवा बन्दुक पड्किँदा ८ वर्षिय बालकको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका ८ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो । उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । रासस