होम आइसोलेशनमा बसेका काेराेना संक्रमितलाई प्रतिदिन ३५० रुपैयाँ दिईने

काठमाडाैं । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित भइ होम आइसोलेशनमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य शाखाको सिफारिसको आधारमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । टोखाले कोभिड–१९ सँग सम्बन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने बारेमा समेत छलफल चलाएको छ । धापासी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविका मन केसीलाई उपचार खर्चवापत रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्येक वडाबाट खटिएका बढीमा १५ जना स्वयम् सेवकलाई सम्बन्धित वडा कार्यलयको सिफारिसको आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्णय भएको नगरप्रमुख प्रकाश अधिकारीले राससलाई जानकारी दिए । टोखाले विष्णुमति करिडोर निर्माणको सम्बन्धमा सरोकारवालासँग आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने भएको छ । बैठकले आजदेखि जिल्ला प्रशासन कार्यालयले लगाएको निशेषाज्ञालाई कडाइका साथ लागू गर्ने निर्णयसमेत गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै टोखाले वडा नं १ को सामुदायिक भवन, वडा नं ६ को सामुदायिक अध्ययन केन्द्र, वडा नं ९ को पिस बैङ्केट, वडा नं ११ को सामुदायिक भवन, वडा नं ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवनलाई अध्ययन गरी कोरोना सङ्क्रमित राख्ने व्यवस्था मिलाउन अध्ययन गर्ने बताएको छ । यस्तै, टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यकताअनुसार भेन्टिलेटर व्यवस्था गर्न अध्ययन गरी कार्यान्वयनका लागि नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरेको छ ।

राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण (फाेटाे फिचर)

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । उपप्रधानमन्त्री पोखरेलले राष्ट्रकवि भौतिक रुपमा हामी माझ नभएपनि उनले राष्ट्रका लागि गरेका योगदानहरु हामीसँगै रहेको बताए । राष्ट्र, राष्ट्रियता, नेपाल, नेपाली र राष्ट्रिय स्वाभिमानको एउटा चेतना जगाउने अगुवा व्यक्तित्वको रुपमा राष्ट्रकविलाई आफुले बुझेको उनले बताए । उनले राष्ट्रका लागि गरेको योगदानलाई सरकारले संस्थागत ढंगले चिरस्थायी बनाउन महत्वपूर्ण निर्णय गर्ने बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकविको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताए । राष्ट्रकविको निधनले नेपाली साहित्यमा मात्रै नभएर नेपाललाई नै अपुरणीय क्षति पुगेको उनले बताए । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले राष्ट्रकविले देखाएको बाटोमा सबैले लाग्नुपर्ने बताए । पूर्वप्रधान सेनापति राजेन्द्र क्षतिले राष्ट्रकविका गीत र रचनाले सबैलाई राष्ट्रियता र राष्ट्रप्रति जागरुक गराएको बताएका छन् । राष्ट्र र राष्ट्रिय स्वाधिनताको भावनाले सबैलाई उच्च सम्मान दिने रचनाहरु राष्ट्रकविले जन्माएको उनले बताए । सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दिएको थियो । राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार राष्ट्रपति घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्टि गरिएको हो । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।

रहेनन् राष्ट्रकवि माधव घिमिरे

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएकाे छ । उनकाे १०१ वर्षकाे उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको बताइएकाे छ । उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। वि.स १९७६ साल असोज ७ गते जन्मेका उनकाे आज मृत्यु भएको हो । घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ।