नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै
काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपाललले अब पहिला फिल्डिङ गर्ने भएको हो । नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुआत गर्न चाहन्छ । यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो । नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।
सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ
तनहुँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । ‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस÷चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’ पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए। मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ । यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मस्र्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए । सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्यरूपमा लैजानुपर्दछ । सुन खोज्दा नदी किनारामा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ । घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुगेका कमल बोटेले बताए । बालुवा चाल्ने क्रममा महिनाको करिब रु २० हजार बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिए । घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताए । करिब ४५÷५० दिन सुन चालेर घर फर्किने गरेको उनको भनाइ छ । ‘अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु’, उनले भने, ‘माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै २५÷३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु । मेहनतको कुरा हो यसै भन्न सकिँदैन ।’ पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ । सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाए । यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् ।
काठमाडौं उपत्यकाको लोपोन्मुख पर्व यः सिं गुं आजबाट शुरु
काठमाडौं । काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट शुरु भएको छ । शनिवारबाट भीमसेन स्थान परिसरमा महिलाहरुद्वारा लिंगो ठड्याएर पर्व शुरु भएको हो । यो पर्व अबको एक महिनासम्म चल्नेछ । महिलाहरुलाई जागरुक बनाउन र अघि सार्नका लागि सांकेतिक रुपमा यो पर्व मनाइने गरिन्छ । आज बिहान ८ बजेर ५८ मिनेटको शुभ साईतमा लिंगो ठड्याएर यो पर्वको शुरुवात गरिएको हो । पर्वको बारेमा बोल्दै सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले परापूर्वकालद्खि चलिरहेको यो पर्व २५ वर्ष रोकिएपछि पुनः शुरु गरिएको बताए । उनले महिला सशक्तिकरणलाई जोड दिनका लागि यो पर्व शुरु गरिएको बताए । उनले भने, ‘यो परापूर्वकालद्खि चलिरहेको थियो । २६ वर्ष पहिला विविध कारणले रोकिन पुग्यो । २५ वर्षपछि महिला दिदिबहिनीलाई नै अघि सारेर यो शुरु गरेका हौँ । परम्परालाई संसारभर देखाउन सकियोस् भन्ने हो । यो दुर्लभ पर्व हो । यसमा महिला सशक्तिकरणलाई जोड दिएका छौँ । आज शुरु भएको छ, एक महिनासम्म चन्द्रज्योती दीप दिन्छौँ ।’ त्यस्तै पर्वमा सहभागी महिला रञ्जु कपालीले महिलालाई जागरुक बनाउनका लागि यो पर्व शुरु गरिएको बताए । उनले २५ वर्ष पहिला रोकिएको यो पर्वलाई महिला सशक्तिकरणका लागि पुनः शुरु गरिएको बताए । २५ वर्ष अघिदेखि तानेको भन्ने छ । महिलालाई अघि बढाउनुपर्छ भन्ने सन्देशले यो कार्यक्रम शुरु गरिएको महिलालाई जागरुक बनाउन यो कार्यक्रम गरेको स्थानीय रञ्जु कपालीले बताइन् । उनले महिलाहरु पछि परिरहेको समयमा महिलालाई कुनैपनि काममा अघि बढाउनुपर्ने सन्देशसहित यो पर्व मनाइने बताइन् ।