मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट
काठमाडौं । मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् । तनहुँको दमौलीमा जन्मिएकी उनी १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी हुन् । यसअघि मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनीसँग अस्ट्रेलियाको साँसदले सन्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ । रावतले मानसिक स्वास्थ, वृद्ध हेरचाह, यूरोलोजी गाइनी तथा युरोलोजी, ट्राभल नर्सिङ जस्ता क्षेत्रमा काम गरेकी छन् । उनी मिस अटो डी एलिगेन्स, प्राइभेट जेट शूट र स्पोर्ट्स कारका लागि प्रतियोगीका रूपमा छनोट समेत भएकी थिइन् । उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्याम्प वाक प्रदर्शन गरेकी थिइन् । विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी रावत मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् । वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर समेत केही समय काम गरेकी उनले बूमटाउन शिखर सम्मेलनमा समेत सहभागी भएकी थिइन् । यस्तै सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् । रावतले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अष्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् । साथै थाइल्यान्डमा स्वेच्छिक रूपमा ग्रामीण क्षेत्रमा विद्यार्थीहरूलाई अध्ययन गराएको अनुभव समेत उनीसँग छ ।
४० लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । ४० लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताए । ‘व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ,’ उनले भने । खेलाडीलाई फुर्सदको समयमा व्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको १५ लाख सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको १४ लाख बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताए । गाउँपालिकाबाट विनियोजित ११ लाख बजेटबाट प्यारापिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताए । बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ । क्लबका पूर्वअध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका जानकारी दिए । खेलमैदानको भूमे पूजाका अवसरमा एकता युवा क्लबले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसरमा शनिबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गरेका थिए । कार्यक्रममा क्लबले जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो ।
पाल्हीनन्दनका भूमिहीन दलितको सडकमै बास
पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र सुकुम्वासी आयोगले भूमिहीन दलितलाई जग्गा नदिएपछि सडकमा बस्न बाध्य छन् । भूमिहीन दलितलाई कानुनबमोजिम सरकारले एक पटक जमिन उपलब्ध गराउने संविधानमा व्यवस्था रहे पनि गाउँपालिका र आयोगले यहाँका भूमिहीन दलिललाई आवासका लागि जग्गा उपलब्ध नगराउँदा सडकमा फुसको छाप्रो बनाएर बासिरहेको पाल्हीनन्दन‐४ का रामु चमारले बताए । आयोग र गाउँपालिकामा आवासका लागि पटकपटक फाराम भरेपनि जमिन नपाएको स्थानीय सुकदेव चमारले बताए । उनका अनुसार पुस्तौँदेखि सडकमा छाप्रो बनाएर बस्दै आएकामा गत वर्ष सडक स्तरोन्नति गर्दा घर भत्काइएको हो । आवासका लागि जमिन उपलब्ध गराइदिन पालिका, वडा कार्यालय र आयोगसँग आग्रह गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । पाल्हीन्दन-४ लोहरौलीका भूमिहीन बासफोर (डोम) समुदायले बाजेबुवाको पालादेखि लोहरौलीबाट बैरवा जाने सडकमा फुसको छाप्रो बनाएर बसोबास गर्दै आएका छन् । पछिल्लो वर्ष सडक स्तरोन्नतिका क्रममा विवाद भएपपछि बसोबासको समस्या भएको सन्दीप बासफोरले बताए । आवासका लागि फाराम भरेर जमिन उपलब्ध गराइदिन गाउँपालिका, वडा कार्यालय र सुकुम्बासी आयोगमा अनुरोध गरिएको भन्दै अहिलेसम्म सम्बन्धित निकायले कुनै पहल नगरेको उनको भनाइ छ । पाल्हीनन्दनका आवासविहीन दलित समुदायले पटकपटक सम्बन्धित कार्यालयमा आवासका लागि फाराम भरेका छन् । गाउँपालिकाले निर्णय गरेर सुकुम्बासी आयोगमा पठाएपछि आयोगले स्विकृति दिएसँगै प्रक्रिया अगाडि बढाइने पाल्हीनन्दन‐४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताए । जग्गा उपलब्ध गराउने विषयमा वडा कार्यालयले गाउँपालिकालाई अनुरोध गरिरहेको उनको भनाइ छ ।